राजनीति, सोच र बिचार

शंकरप्रसाद रिजाल
२१ असोज २०८१ १०:३९

राजनीति जे छ त्यो संसारमा छैन। छल, छाम, भय र त्रास देखाई पैसाको खोलो बगाएर नेता बन्दछन् र निर्वाचनमा पनि उनीहरु नै चुनिन्छन्। चुनिएपछि सत्तामा बसेर सही राजनीति नगरी मनपरी गर्न थाल्दछन्।

तर राजनीतिको उपनिषदमा बेग्लै व्याख्या छ। यसको अर्थ ‘राज्यको नीति’ जसले राज्यलाई राम राज्य बनाउन सफल नियम कानुन बनाइन्छ। तर भ्रष्ट र अनैतिक नेताहरुले जब देश हाँक्ने जिम्मेवारी आफ्नो हातमा लिन्छन्, त्यस बेला उनीहरु उल्लुको जस्तै दिनमा केही नदेख्ने, रातमा मात्र देखने हुन्छन्। अनि रातैमा नै सबै निर्णय लिने गर्छन्।

बेला बेलामा प्रत्येक राष्ट्रले राजनेता नपाउने होइन। तर राजनेता जब जब सर्बोपरी भएर जान्छन्, तब उनीहरु बाहिरी तवरले चाहिने भन्दा बढी महत्वकांक्षी बन्दछन्। यसबाट उनीहरुमा रिस, राग र घमण्ड पैदा हुन्छ। घमण्डबाट हत्त्या हिंसा र प्रतिशोधको ढोका खुल्न जान्छ अनि यसैबाटै देशको राजनीतिले कोल्टो फेर्न थाल्छ।

त्यहीँबाट राज्य संचालन पनि त्यसरी नै सुरु हुन्छ। उल्लु बेसै भएपनि उसले दिनमा पटक्कै देख्दैन भने गधा दिनमा देख्ने भएपनि उ गधाको गधै बिचार लिएर हिँडेको हुन्छ। यसै कारणले आज यो संसारको राजनीति हिंस्रक र जाइ लाग्ने किसिमको भएर आएको छ।

कुन चाहिँ त्यस्तो देश छ जहाँ एकले अर्कोलाई नदबाइ, डर नदेखाइ, धम्की नदिई र मान्छे नमारी नेता बनेका छन्? यो आजको राजनीतिको डरलाग्दो रुप हो। मान्छेले मान्छेलाई तर्साइ, मान्छेले मान्छेको चाकडी गरी, लोभ देखाइ केही नभएमा ज्यानैसमेत मार्ने धम्की दिइ राजनीति गर्नेहरुलाई भित्रैदेखि तिरस्कार हुनुपर्दछ।

देशको सही नेतृत्व लिन सक्ने, देशलाई स्वर्ग बनाउने र देशबासीलाई सधैं आफ्नो शीरमाथि राख्न्ने व्यक्तिलाई नेता मान्नुपर्दछ न कि देशलाई भित्र भित्रैबाट चुसी खोक्रो बनाई आफू र आफ्ना आसेपासेलाई ठूला पदहरुमा राख्ने र राता रात धनाड्य बनाउने नेतालाई कसले नेता भन्न सक्छ? अब नेताहरु उल्लु जस्तो दिउसो आँखा नदेख्ने र गधा जस्तो आर्काको भारी बोकी मुर्ख नबनुन् भनी विजया दशमीका कामना गरौं।

हुन त मान्छेको नरसंहार नगरेको राजनीतिको इतिहास कहाँ र कैले बनेको छ र? सत्ययुगमा देवासुर संग्रामपनि भएकै हो। त्रेता युगमा रामले पनि रावण जस्तो बुद्धिमान लंकाको राजालाई मारेकै हो, बिचरा बालीलाई पनि मारेकै हो र द्वापर युगमा पनि भगवान श्रीकृष्णले महाभारतको युद्ध नगरेको कहाँ हो र? त्यस्तै यो कलि युगमा पनि पुरानो इतिहास पल्टाउँदा धेरै मानिसहरुको हत्या नभएको कहाँ हो र?

तर हत्याको पछि लाग्ने होइन। हत्यालाई पन्छाइ शान्तिको बाटो खोज्दै जाने हो। हत्यालाई कुनै पनि बहानामा सही मान्न सकिँदैन। यसले सम्पूर्ण समाजलाई ध्वस्तको बाटोतिर लैजाने निश्चित छ।

मानिसको मन जितेर देश निर्माण गरी सम्पूर्ण मानिसको कल्याण गरी देश चलाउनुनै सर्वथा उत्कृष्ट राजनीति मानिन्छ। तर यसमा अहंकार, दम्भ, लोभ, मोह, डाह होइन, करुणा, प्रेम, दया, साम, दाम, दण्ड, भेद जस्ता कुरालाई मध्यनजर राखी आफैंलाई सधैं आत्मपरक दर्शाउनु नै प्रत्येक राजनेताको अमूल्य गुण ठहरिन्छ।

राजनीति चर्काउने चीज होइन, यो त एक नफुटेको ऐना सरह हुनु पर्दछ। फुटेको ऐनामा आफ्नो अनुहारपनि चर्किएकै देखिन्छ्र। अतः आफ्नो हैसियतमा बाच्न सिकौं। आफूलाई साधारण र सरल बनाउन सिकौं र सम्पूर्ण समाजलाई पनि सिकाउन सफल हुन सक्नुनै राजनीतिको उत्कृष्टताको नमुनो हो।

अपराध, लोभ,मोह र दम्भले कसैको राजनीति सफल हुन सक्तैन। हिटलरको राजनीति, स्टालिनको राजनीति, माओको राजनीति, पोलपोटको राजनीति, बोकाशाको राजनीति, र हजारौं मान्छे मारेर नेता बन्ने राष्ट्रघाती नेताहरुको राजनीति के राजनीति? निर्धा निमुखा मानिसहरुको ज्यान लिइ राजनीति गर्नेहरुको नामहरु आज कुन सुनौलो अक्षरमा नाम कसले लेखेको छ?

यस्तो राजनीति होस् जुन आदर्श मुलक होस्, प्रेरणादायी होस् र जन्म जन्मान्तर सबैले सम्झी रहुन्। बस् यही हो राजनीतिको उत्तम नीति। यसै कुरालाई मनन गरी आज संसारको राजनीति र हाम्रो देश नेपालको राजनीति यसरी नै फलोस् फुलोस् र फैलिओस् भन्ने कामना राख्दछु।

राजनीतिलाई नकारात्मक सोचतिर लिँदै जाने हो भने फेरि तेस्रो बिश्व युद्ध हुने निश्चित छ। मानिस शान्तिको लागि युद्ध गर्दछन्। यसबाट मानिसलाई कहिल्लै शान्ति प्राप्त हुँदैन मृत्यु मात्र अगाडि बढ्दछ। यसमा धर्म अगाडि हुनु पर्दछ।

धार्मिक शासन राजनीति हुनु पर्दछ जसमा महत्वाकांक्षा बिल्कुल नहोस्। बिकास हदसम्मको हुनु पर्दछ। मानिस हराउने बिकास, मानिस अल्मलिने बिकास ,मानिसलाई घमण्ड ल्याउने बिकास र मानिसको दिमाग भुट्ने बिकास र सारा प्रकृतिको बिनाश गरी गरेको बिकास के बिकास?

त्यस्तै ठूला ठूला सिद्धान्तको बिकास तर झन् झन् मानिस गरिब हुँदै जाने बिकास के बिकास? अस्थाई बिकासले केही हुने वाला छैन। सबैभन्दा मानिसको आत्म बिकास हुनु नै बास्तबिक बिकास हो।

संसारको राजनीतिज्ञ भएर राजनीति गर न कि एक आफ्नो परिवार र आसेपासे समाजको मात्र। परिवार, समाज र राष्ट्रलाई बिगार्ने राजनीतिज्ञको राजनीति यहाँ के काम? सबैले छिछि र दुरदुर गर्ने नेता हुने कि बुद्ध जस्तो संसार जित हाँसिल गर्ने महामानव हुने?

राजनीतिको बिचार धार्मिक चिन्तनको हुनुपर्दछ। राजनीति चिरा चिरा परेको होइन, त्यसमा स्पष्ट राम्रो पेन्टिङ भएको हुनुपर्दछ, जसमा बिद्रोह र क्लेश पटक्कै नहोस्। पार्टी मै भएपनि पार्टी भन्दा माथि उठी राष्ट्रको हित बारेको चिन्तन सधैं रहोस्। यही हो भित्र मनको राजनीति। गलत काम कहिले नगर्नु।

केही गरी भइदिएमा त्यसको आत्म आलोचना गर्ने बानी बसाल्नु पर्दछ। जनताको मनोबैज्ञानिक अबस्थाको घनीभूत बिचार गरिनु पर्दछ एउटा राजनीति गर्ने व्यक्तिले। नत्र राष्ट्रमा आधा आत्मा रोएका हुन्छन् र आधा मानिस मनोबैज्ञानिक डाक्टरहरुको बास हुनेछ। अनि त्यो बेलामा खै राजनीतिको मूल सिद्धान्त र आदर्श?

बिशेष गरी बिकशित मुलुकमा सुख सुबिधा भएतापनि मानिसको आन्तरिक आनन्दमा भने ठूलो ह्राश आएको छ। जे मनमा आयो त्यही गर्ने बानी छ। लगाम नभई बेलगाम भएकोछ। यसले मानिसको आन्तरिक बिकास हुन सक्तैन।

प्रेम मनमा आयो, प्रेम गर्ने, रिस मनमा आयो आफ्नै पत्नीलाई पनि छोड्ने। मनलाग्दो गरी हिँड्ने। यो प्रेम हैन द्वेष हो। यो नैतिक शिक्षाको कमी हो। मनमा द्वन्द्व हैन प्रेमको भावना लिनु पर्दछ जसले सबै नकारात्मक तत्वलाई प्रेममा समाहित गर्न सफल रहोस्।

तसर्थ राजनीति गर्ने र सत्ता चलाउने नेताहरुले आफ्नो भित्र मनमा केवल अढाई अक्षरको प्रेमको ज्वाला निकाल्नु अत्यन्त श्रेयष्कर हुन्छ जसबाट सारा टुटे फुटेका मनका बस्तुहरु प्रेममा समाहित हुन गई जीवन उत्सर्गमा प्रवेश गर्दै अरुलाई पनि स्वस्थ जीवन बिताउन मद्दत मिल्नेछ।

खरिपाटीमा लेखिएको अस्थिर र ढुलमुले राजनीति र खरीको रुखमा झुन्ड्याइएको जस्तो राजनीति यो देश नेपालले मागेको हैन। यो देशले स्थिर द्वन्द्वरहित, क्लेशरहित डाहरहित र बदलाको भावनारहितको राजनीति खोजेको हो।

नेपालका जनताले १०० बर्षको राणा शासनको राजनीति फाले। २००७ साल पछिको प्रजातन्त्र फाले। २०१७ साल पछिको राजनीतिलाई फाले। २०४६ सालको प्रथम खुल्ला प्रजातान्त्रिक राजनीतिलाई पनि जबर्जस्ती फाले।

२०६२-०६३ हुँदै अन्त्यमा २०७२ को नयाँ संबिधान अनुरुप नया राजनीतिको उदय भयो। तर राजनीतिको शैली भने उही पुरानै, नेताहरु उही पुरानै, शैली उही पुरानै, सोचाई उही पुरानै हुन पुग्यो। हात्ती आयो हात्त्ती आयो फुस्सा भने जस्तो भयो।

खासै परिबर्तन कुनै राजनीतिक ब्यबस्थाले राजनीतिमा ल्याउन सकेन र यो देश नेपाल जहाँको त्यहीँ नै जस्तो रहन पुग्यो। भोका नांगा बढेकै छन्,गरिबी बढेकै छ, ऋणको भार प्रत्येक नेपालीमा बढेको बढेकै छ। उद्योग छैन, कारखाना छैन, बन्द ब्यापार बन्द छ।

नेता भनाउँदाहरु उही एकै स्वरमा तेरो र मेरोको रुन्चे स्वोरको ओठे सवाल जवाफमा मस्त छन्। अनेक कुरा जनतालाई थाहा नै नदिइ गरिरहेका छन्। खोइ राजनीति? सुकेको पात जस्तो राजनीति। कहिले भारत जाने, कहिले चीन जाने त कहिले पश्चिमा मुलुक र युरोपियन मुलुक जाने।

यो कस्तो राजनीति हो? अब बुझ्न नसकिने भएको छ। यसरी देशको राजनीति कतिन्जेलसम्म चल्ने हो? जनताले कति र के के सहनु पर्ने हो अझै थाहा छैन। कति उही नेता र कार्य कर्ताले र दलालहरुले मात्र राज गर्ने हो?

खै जनताको र जनमुखी राजनीति जहाँ प्रेम, करुणा, दया माया र जनतासँग समर्पित राजनीति र नेताहरु? यहाँ राजनीति बास्तवमा छैन। त्यसको बदलामा राक्षस नीति भएर निरन्तर देशबासीहरुलाई पिरोलिरहेको छ र पिरोलिरहने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *