फिल्म ‘ज्वाइँ साब’ मा ‘भगवान तामाङ’ चरित्रमा देखिँदै बुद्धि

डिसी नेपाल
२१ असोज २०८१ ११:४९

काठमाडौं। कलाकार बुद्धि तामाङ अधिकांश फिल्ममा प्रमुख पात्रको साथीका रुपमा देखिन्छन्। साथीलाई सल्लाह दिने काममा होस् या उकास्ने काममा बुद्धिको सक्रियता फिल्ममा बाक्लै देखिन्छ। यही असोज २४ गते फूलपातीको दिन रिलिज हुने फिल्म ‘ज्वाइँ साब’मा बुद्धि ‘भगवान तामाङ’ नामका चरित्रमा देखिँदैछन्।

बुद्धिका अनुसार दर्शकले ‘ज्वाइँ साब’मा उनलाई फिल्मका प्रमुख कलाकार जितु नेपाललाई ‘बुस्ट’ गर्ने पात्रका रुपमा हेर्न पाउनेछन् । ‘फिल्मका प्रमुख पात्र जितु नेपाल दाईलाई बुस्ट गर्ने, सपोर्ट गर्ने क्यारेक्टर छ । उहाँलाई उकास्दै उकास्दै माथि लैजाने चरित्र मेरो छ’, बुद्धि भन्छन् ।

बुद्धिको बुझाईमा फिल्म भनेको मान्छेलाई जसरी भए पनि मनोरञ्जन दिनु नै हो । ‘ज्वाइँ साब हेरिरहँदा मान्छेले मजा लिन्छन् । म फिल्म हेरेर इन्जोय गर्न चाहन्छु भनेर कोही यो फिल्म हेर्छ भने इन्जोय गर्ने ठाउँ प्रशस्त छ । फिल्ममा सामाजिक, मनछुने र हँसाउने कथा छ’, बुद्धि खुल्छन् ।

फिल्मको ट्रेलरमा प्रमुख नायिका निती शाहलाई आफ्नो बनाउन चाहने युवाले विभिन्न प्रतियोगितामा भाग लिएको देखाइएको छ । त्यो प्रतियोगितामा बुद्धिले पनि सहभागिता जनाएका छन् ।

‘यो प्रतिष्पर्धा एक असल ज्वाइँ बन्न के के नियम चाहिन्छ भन्ने प्रतिष्पर्धा हो । निकै चाखलाग्दो छ । तर त्यस्तो प्रतियोगितामा भाग लिन निकै गाह्रो’, बुद्धि भन्छन्, ‘आफ्नो ज्वाइँमा चाहिने गुण र क्षमता थाहा पाउन यो प्रतिष्पर्धा गरिएको हो । समाजलाई यस्तो प्रतिष्पर्धा नपच्ला तर, मलाई कस्तो मान्छे चाहियो भन्दा क्वालिफाइड मान्छे नै हो ।’

बुद्धिले कथा र क्यारेक्टरको हिसाबले आफ्ना अघिल्ला फिल्म भन्दा ‘ज्वाइँ साब’ फरक रहेको बताए । ‘ममा दर्शकले केही नयाँपन पाउनुहुनेछ । त्यो नयाँपन थाहा पाउन फिल्म नै हेर्नुपर्ने हुन्छ’, बुद्धि भन्छन् ।

निर्देशक वसन्त निरौलासँग बुद्धिको फिल्म ‘होलिडे’ पछि दोस्रो सहकार्य हो । उनले जितुसँग ‘वडा नम्बर’, ‘छक्का पन्जा’, ‘छक्का पन्जा २’ र ‘छक्का पन्जा ३’मा सहकार्य गरेका छन् । फिल्म ‘कार्साङ’मा पनि बुद्धिले जितुसँग सहकार्य गरेका छन् ।

वसन्त निरौला निर्देशित फिल्म ‘ज्वाइँ साब’मा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायतका कलाकारको अभिनय छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *