इजराइलमा हमासको आक्रमण हुँदा नेपाललाई ठूलो क्षति पुग्योः नेता साउद

डिसी नेपाल
२१ असोज २०८१ २०:४२

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमास समूहले गरेको आक्रमणमा नेपाललाई ठूलो क्षति पुगेको बताएका छन्।

प्यालेस्टाइनको हमास समूहले इजरायलमा आक्रमण गरेको एक वर्ष पुगेको दिनको सम्झनामा सोमबार इजरायली दूतावासले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पूर्वमन्त्री साउदले बन्दी बनाइएका विपिन जोशीसहित सबैलाई रिहाई गर्नुपर्ने बताए।

उक्त आक्रमणमा परी ‘अध्ययन र आर्जन सँगसँगै’ कार्यक्रमअन्तर्गत गएका १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। आक्रमणकै दिन हमासले अपहरण गरी बन्धक बनाएका कञ्चनपुरका विद्यार्थी जोशी अझै पनि बेपत्ता रहेको उल्लेख गर्दै नेता साउदले आक्रमणको घाउ पुरिन बाँकी रहेको बताए।

विसं २०८० असोज २१ गते इजरायलमा हमास समूहले आक्रमण गर्दा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। जोशीलाई भने हमास समूहले अपहरण गरी बन्धक बनाएको भिडियो इजरायली सेनाले सार्वजनिक गरेको भए पनि अझैसम्म पनि उनलाई फर्काउन सकिएको छैन।

आक्रमणमा एक हजारभन्दा बढी मानिसको ज्यान गएको थियो। आक्रमणमा परी थुप्रै घाइते र अपांग भएका थिए। तत्कालीन परराष्ट्रमन्त्री साउद इजरायल पुगेर नेपाली नागरिकको उद्धार गरी स्वदेश ल्याएका थिए।

‘यो भयावह घटनाको सामना गर्दै त्यतिबेला चुनौतीपूर्ण र पीडादायी अवस्थामा काम गर्नु परेको थियो। इजरायल सरकारको सहयोगमा नेपाली नागरिकको सुरक्षित उद्धार र मृतकको शव नेपाल ल्याउन सकियो,’ पूर्वपरराष्ट्रमन्त्री साउदले भने, ‘घाइते विद्यार्थीको इजरायलमै उपचार भएको थियो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *