निर्देशक वसन्त निरौला : फिल्म ‘ज्वाइँ साब’ लिएर दर्शकमाझ आउँदै
काठमाडौं। निर्देशक वसन्त निरौला भोलि फूलपातीको दिनबाट फिल्म ‘ज्वाइँ साब’ लिएर दर्शकमाझ आउँदैछन्। फिल्म ‘विजयपथ’बाट निर्देशनमा पाइला चालेका वसन्तले ‘ज्वाइँ साब’ सम्म आइपुग्दा एक्सन, प्रेमकथा र राजनीतिकसँग जोडिएको फिल्मसमेत निर्देशन गरे।
‘पहिला मलाई एक्सन फिल्म मनपथ्र्यो । मैले जुन समयमा फिल्म निर्देशनमा डेब्यू गरें, त्यो समयमा एक्सनकै नेपाली फिल्महरु चलिरहेका थिए । त्यो समयमा निखिल उप्रेतीहरुको एक्सन फिल्म चल्थ्यो। अहिले पनि चल्छ। त्यो बेला फरक समय थियो’, वसन्त भन्छन्, ‘अहिले चाहिँ कमेडीमा फरक केही गरौं कि भन्ने सोचिरहेको थिएँ । हामीले झण्डै डेढ वर्षको योजना पछि यो फिल्म तयार पारेका हौं।’
वसन्तले फिल्मका लेखक सबिन अधिकारीले आफूलाई ‘ज्वाइँ साब’को कन्सेप्ट सुनाएपछि काम गर्न सहमत भएको खुलाए । ‘लेखिरहने मान्छेसँग धेरै कन्सेप्ट हुन्छ । अरु कन्सेप्ट पनि आएको थियो । ज्वाइँ साबको कन्सेप्ट आएपछि मलाई यो फिल्म गर्न पाए जस्तो लाग्यो । ज्वाइँ साबमा कथा सामान्य छ, हामीले समाजमा देखिरहेको कथा नै हो’, उनी भन्छन् ।
उनले फिल्मको स्क्रिप्टमा काम गरिरहँदा जितु नेपाल भन्दा पनि हाम्रो विषयलाई न्याय गर्न सक्ने एकजना कमेडी कलाकार खोजेको बताए । उनले स्क्रिप्ट फाइनल भइसकेपछि मात्र जितु नेपाललाई भेटेर कथा सुनाएको र उनी सहमत भएपछि मात्र अन्य कलाकार चयनको काम अगाडि बढेको खुलाए ।
वसन्तले फिल्मको कथाले दर्शक ‘कनेक्ट’ गर्नेमा आफूमा ढुक्क रहेको दाबी गरे ।
‘विवाह गर्दा बेहुलीलाई घरमा भित्र्याउन चलन छ । हामीले फिल्ममा बेहुलीको स्थानमा बेहुलालाई भित्र्याएका छौं । केटा मान्छे विवाह गरेर अर्काको घरमा भित्र्दा के हुन्छ भनेर परिकल्पना गरेका हौं । ‘ज्वाइँ साब’ महिला प्रधान फिल्म हो । त्यसकारण पनि फिल्म दर्शकमाझ प्रिय हुन्छ भन्नेमा ढुक्का छौं’, उनले भने ।
उनले ‘ज्वाइँ साब’ पूर्णतया कमेडी मात्र नभई ‘इमोसनल’ फिल्म पनि भएको बताए । ‘फिल्ममा एक समयसम्म कमेडी नै लगेका छौं । कमेडीसँगै इमोसन पनि छ । ‘ज्वाइँ साब’मा जितु नेपालले निर्वाह गरेको गोबद्र्धन पण्डित पात्रमा बसेर जुनसुकै लिंगका दर्शकले हेर्यो भने त्यो फिल्म हरेक मान्छेलाई कनेक्ट गर्छ । दर्शकले मिठो विषयमा सामान्य कथा, गाउँघरको र समाजको कथा हेर्न पाउनुहुनेछ’, उनले भने ।
फिल्ममा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, दीपक आचार्यलगायतका कलाकारको अभिनय छ ।
Facebook Comment