बागलुङमा युवा र बालबालिका चङ्गा चेटमा रमाउँदै

डिसी नेपाल
२४ असोज २०८१ १३:००

बागलुङ। बडादसैँका बेला यहाँका युवा र बालबालिका चङ्गा चेटमा रमाएका छन् । बागलुङस्थित धवलागिरि क्याम्पस चौरमा आयोजित चङ्गा चेट प्रतियोगिताले दसैँको माहोल बढाएको हो ।

रोट्र्याक्ट क्लब अफ बागलुङद्वारा आयोजित प्रतियोगितामा राकेश शर्मा विजयी भएका छन् । उनले रु पाँच हजार पाँच सय ५५ पुरस्कार प्राप्त गरेका  छन् । क्लबका अध्यक्ष सौरव केसीका अनुसार दोस्रो स्थान बबिन शाक्यले हासिल गरे ।

प्रतियोगितामा १७ जनाले भाग लिएका थिए । प्रतियोगितामा सहभागी सबैलाई क्लबले उपहार प्रदान गरेको छ । प्रतियोगीबाहेकले पनि चङ्गा उडाएर मनोरञ्जन लिएका थिए । क्लबले गत वर्षदेखि चङ्गा चेट प्रतियोगिता सुरु गरेको हो ।

“दसैँमा चङ्गा उडाउने परम्परालाई जोगाइराख्न र प्रतियोगितामार्फत युवा तथा बालबालिकालाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले चङ्गा चेट कार्यक्रम राखिएको हो”, अध्यक्ष केसीले भने । चाडबाडका अवसरमा खुसियाली साट्ने माध्यमका रुपमा पनि चङ्गा चेट गर्ने गरिएको छ । पछिल्लो समय चङ्गा उडाउने चलन कम हुँदै गएको छ । चङ्गालाई खुसी र हर्षोल्लासको प्रतिकका रुपमा लिइन्छ । दसैँ, तिहारका बेला चङ्गाको व्यापार पनि राम्रै हुने गरेको व्यवसायी बताउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *