बैतडीका निङ्गलाशैनी र उदयदेव जात्राको रौनक
बैतडी। यहाँको निङ्गलाशैनी भगवती र उदयदेव मन्दिरमा जात्राको रौनक छाएको छ । दशरथचन्द नगरपालिका–२ मा रहेका यी मन्दिरमा बडादसैँको अवसरमा हरेक वर्ष जात्रा हुने गरेको छ ।
यो वर्ष महाष्टमी र महानवमी एकैदिन परेकाले हिजो र आज जात्रा लागेको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका कोषाध्यक्ष एवं मन्दिरका भण्डारे चक्रबहादुर बोहराले बताए। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले महाष्टमी र महानवमी एकै दिन परेको जनाएको छ ।
निङ्गलाशैनी भगवती मन्दिरमा हरेक वर्ष महाष्टमीका दिन राँगा तथा बोकाको बलिसहित जात्रा हुने गर्दछ । महाष्टमीको अघिल्लो दिन सप्तमीका दिन राँगा मन्दिरमा बाँध्ने चलन छ । जात्राका लागि मन्दिरमा टाढा–टाढाबाट दर्शनार्थीसमेत पुगेका छन् । निङ्गलाशैनी भगवतीको दर्शनका लागि सीमावर्ती भारतीय क्षेत्रबाट दर्शनार्थीहरु आउने गरेका छन् । जात्रालाई व्यवस्थित बनाउनका लागि मेला व्यवस्थापन समितिले स्वयंसेवक खटाउनुका साथै मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरेको छ ।
निङ्गलाशैनी भगवती मन्दिरमा वर्षको चारपटक जात्रा लाग्ने गर्दछ । शारदीय नवरात्रमा घटस्थापनादेखि पूजाआजा सुरु भइ सप्तमी र महाष्टमीमा जात्रा लाग्ने गर्दछ । पाटन नगरपालिका–६ स्थित प्रसिद्ध उदयदेव मन्दिरमा पनि महाष्टमी र महानवमीका दिन जात्रा लाग्ने भएकाले मानिसको चहलपहल बढेको छ । उदयदेव मन्दिरमा हिजोदेखि जात्रा सुरु भएको मन्दिरका सहायक पूजारी लवदेव जोशीले बताए।
उदयदेव मन्दिरमा राँगाको बलिसहित जात्रा हुने गरेको छ । उदयदेव मन्दिरमा लाग्ने जात्रालाई स्थानीय भाषामा मैतडको जात्रा पनि भन्ने गरिन्छ ।
Facebook Comment