प्रतिकूलताबीच उत्साह : दसैँको महत्वपूर्ण सन्देश

डिसी नेपाल
२५ असोज २०८१ १४:२१

काठमाडौँ। बाढीपहिरोको विपद्ले सिर्जना गरेको प्रतिकूल प्रभावको उपपस्थितिमा आम नेपाली यसपटक दसैँका नाममा उत्साहित हुनुपर्ने अवस्थामा छन् । समस्याका चांग छिचोलेर समाधान पहिल्याउनु सहज हुँदैन । तर नेपालीले प्रतिकूलतामा पनि अनुकूलताको खोजी गरेका छन् र आज दसैँ मनाइरहेका छन् । सबैलाई शुभकामना ।

नवरथाको समाप्ति पश्चात आज दसैँको दिन । दसैँ अर्थात् विजया दशमी । हिन्दूहरुको महान पर्व । विजया दशमीअन्तर्गत देवीको नौवटै स्वरुपको पूजा सम्पन्न भइसकेको छ । दुर्गा देवीको पूजाको आज समापन हुँदैछ । आम नेपाली समाजमा मान्यजनबाट आशिर्वाद ग्रहण गर्ने दिन हो आज । प्रतिकात्मक रुपमा कुनै समाजमा अक्षताको टीका र जमरा ग्रहण गरिन्छ भने कुनै समाजमा जमरा मात्र पनि सिउरिने गरिन्छ । पारम्परिक मान्यताअनुसार आज देवीको यात्रा गर्ने दिन हो अर्थात् प्रस्थानको साइत । प्रस्थान–शुभकार्यका लागि । आजैको अवसरबाट शुभयात्रा भन्ने प्रचलन प्रारम्भ भएको विश्वास गरिन्छ । विश्वास यो पनि गरिन्छ, आजबाट असल कर्मका दृष्टिले मानवले पनि सबै विध्न बाधाको अन्त्य गरेर एक नयाँ जीवन यात्राको प्रारम्भ गर्नेछ, जो शुभ हुनेछ ।

दसैँको महान पर्वलाई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको विजय र अन्धकारमाथि उज्यालोको विजयपर्वका रुपमा स्वीकारिन्छ । तर यो पर्वको महत्व यतिमा मात्र सीमित छैन । व्यावहारिक जीवनमा हेर्ने हो भने यस पर्वको महत्व परिवार जोड्नेसँग पनि छ । दसैँंको अवसरमा प्रत्येक नेपाली आफ्नो परिवारमा एकत्रित हुन्छन् र एकअर्कामा समाहित हुन्छन् । टाढाटाढा रहेका परिवारका सदस्य एक ठाउँमा जम्मा हुन्छन् र सबै राग—द्वेष विर्सेर एकअर्काका लागि सहयोगी हात बढाउँदै भविष्यको नयाँ निर्माणमा सक्रिय हुन्छन् । परिवारका सदस्यको कल्याण र उन्नति सबैको अभीष्ट हन्छ । वास्तवमा यो पर्वले पारिवारिक सम्वादको वातावरण पनि निर्माण गर्दछ जहाँ सबै छलफलमा सहभागी हुन्छन् । तर यस पटक यस मार्गमा प्रकृति केही हदसम्म तगारो बनेको छ । दसैँंभन्दा केही दिन पहिले आएको बाढीपहिरोका कारण उत्पन्न विपदले देशभर समस्या निम्त्यायो । करिव अढाई सय व्यक्तिको मृत्यु हुन पुग्यो । अर्बौको सम्पति नष्ट भयो । हजारौं परिवार प्रभावित हुन पुगे । घरबाहिर भएका नेपाली आवागमनमा असुविधाका कारण घरपरिवारसँग भेट्न नसक्ने अवस्थामा पुगे । जतिजति दिन विते सरकारले अवस्थालाई सामान्य बनाउने जमर्को गर्दै अधिकांश नेपालीलाई दर्शै मान्ने अवस्थाको निर्माण गर्ने प्रयत्न नगरेको होइन । तर छोटो समयमा सञ्चालन गरिएको निर्माण, राहत र उद्धारका प्रयास पर्याप्त हुन सकेका छैनन् ।

यसलाई अस्वाभाविक मान्नु भने हुँदैन । पछिल्लो समयमा उपत्यकाबाट दैनिक करिव एक लाख व्यक्ति बाहिरिएको कुरा ट्राफिक प्रहरलिे जनाएको छ । निश्चय पनि यो संख्यालाई उत्साहप्रद नै मान्नुपर्छ र सरकारको प्रयास केही हदसम्म सार्थक भएको मान्नुपर्ने हुन्छ । एउटा महत्वपूर्ण कुरा के हो भने विपदका समयमा त्राण पाउने प्रयत्न एक व्यक्ति वा निकायबाटमात्र सम्भव हुन सक्दैन । यसका लागि सामूहिक प्रयत्न आवश्यक छ ।

दसैँ पर्वले हामीलाई वर्षौदेखि पारम्परिकरुपमा यही सामूहिकता र सामाजिक एकताको पाठ पढाउँदै आएको छ । निश्चय पनि यो देश हामी सबै एकत्रित हुने साझा थलो हो र आमनेपाली जनता बृहत्् परिवारका सदस्य । तर यस पटकको दशैंलाई अपवाद मान्ने हो भने पछिल्ला वर्षका दशैंले हामीलाई एकत्रित् हुन र एकअर्काको सुखदुखमा एकाकार हुन किन सिकाउन सकिरहेको छैन रु दशैंले आफ्नो पारम्परिक महत्व किन निर्वाह गरिरहेको छैन र अर्थ गुमाउँदैछ रु हाम्रो समाजले यस्ता प्रश्नको जवाफ खोज्ने प्रयत्न गर्नु अपेक्षित छ ।

शान्तिका अग्रदूत बुद्ध र महाज्ञानी विदेहको यस भूमीका जनता अशान्तिका विरोधी हुन् । सारमा नेपालका आमजनता शान्तिकामी हुन् । तर दुर्भाग्य, यस भूमीको पछिल्लो कालखण्डको राजनीति अशान्त र स्वार्थी बन्न पुगेको मानिन्छ । नेपालको पछिल्लो समयको अवस्था मूल्यांकन गर्ने हो भने अवस्था निकै कहालीलाग्दो छ । राजनीतिक दलबीच दूरी बढेको छ । जनस्तरको सम्बन्धको धाँजा फाटेको छ । जनता एकअर्कासँग टाढिएका छन् । झन यतिखेर बाढी पहिरोको विपद्ले देश र जनतालाई थिलथिलो बनाएको छ । यतिखेर आपसी एकताको आवश्यकता अघिपछिको भन्दा बढेको छ भनियो भने अन्यथा हुने छैन ।

अहिले संविधान संशोधनको चर्चा पनि छ । अहिलेको सरकारको प्राथमिकता सविधान संशोधनको विषय हो । संविधान संशोधनले देशका समस्याहरुको सम्बोधन गर्ने विश्वास गरिएको छ । मुलुकका सामु देखिएका अहिलेको तमाम जटील समस्याको समाधान नेपालीले गर्न सक्छन् र यसको प्रारम्भ विन्दू संविधान संशोधन हुन सक्छ । तर यसका लागि दलबीच समन्वय हुन सके फराकिलो परिणामको अपेक्षा गर्न सकिन्छ । देशको समस्या समाधान गर्न सबै एकमत हुनुको विकल्प छैन । निश्चय पनि सबै शक्ति सबैतिर फर्केर समस्याको सम्बोधन हुन सक्दैन । यो यथार्थ थाहा हुँदाहुँदै पनि नेपाली राजनीति किन सग्लिन सकेको छैन रु यी सबै प्रश्नका उत्तर देशवासीले चाहेका छन् । यी प्रश्नको उत्तरप्राप्तिमा दुर्गा भवानी सहायकसिद्ध हुन सकुन ।

अहिले विपदका कारण पनि नेपाली राजनीति बडो सकसमा छ । यस्तोमा, दलबीचको दुरी कम हुन सकोस । जनस्तरको खाडल पुरिन सकोस । आपसमा सम्वादको वातावरण निर्माण हुन सकोस । दशैंका अवसरमा आमनेपाली एकअर्कामा समाहित हुन सकुन । यति हुन सके जस्तोसुकै समस्या पनि समाधान हुन सक्छ र देश जोडिन सक्छ । यसपटकको दशैंका अवसरमा दुर्गा भवानीले राष्ट्रिय एकता प्रवद्र्धन गरी देशका सबैखाले समस्याको समाधान गर्न शक्ति प्रदान गर्न सकोस । अबको यात्रा सुखद हुन सक्नुपर्छ ।

यो कार्य मौखिक शुभकामना आदान—प्रदानबाटमात्र सम्भव छैन । यसका लागि सबैले मन वचनले प्रयास गर्नु अपेक्षित छ । नेपाली राजनीतिमा पछिल्लो दिनमा अरुलाई दोष पन्छाएर आफू ओभानो हुने प्रवृत्ति मौलाएको छ । यो गलत हो । ठीकलाई ठीक र गलतलाई गलत भन्न सक्ने आँट जबसम्म सबैमा हुँदैन तबसम्म राष्ट्रका समस्या सहजै समाधान हुन निश्चय पनि समस्या हुन्छ । र दुखका साथ भन्नुपर्छ, अहिले नेपालमा यसअनुकूलको अवस्था छैन ।

माथि पनि चर्चा गरिसकियो यसपटकको अवस्था अनुकूल छैन । प्रतिकूलताबीच पनि दशंैको उत्साहमा कमी छैन । शोकलाई शक्तिमा बदलेर आम नेपाली दशैंमा सहभागी र्भका छन र भइरहेका छन् । वास्तवमा यो अवस्था स्वयंममा दशैंको एक महत्वपूर्ण सन्देश हो । यस पटकको दशैका अवसरमा सम्पूर्ण नेपालीलाई सद्बुद्धि प्राप्त होस र सबैले अहिलेको विषम अवस्थालाई सहज बनाउन भूमिका निर्वाह गर्न सकुन । सबैलाई यही नै शुभकामना ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *