बाढीपहिरो पीडित आफन्तकहाँ आश्रय लिएर दशैं मनाउँदै

डिसी नेपाल
२५ असोज २०८१ २०:२५

खोटाङ। बाढी तथा पहिरोबाट विस्थापित भएका जिल्लाका ३३ परिवार आफन्त, छिमेकी, विद्यालय भवनमा तथा सार्वजनिक स्थलमा बसेर दशैं मनाइरहेका छन्। यही असोज ११ र १२ गते आएको बाढी तथा पहिरोबाट सबैभन्दा बढी बाराहापोखरी गाउँपालिका-५ पौवासेरास्थित बंलाघाटमा १४ परिवार विस्थापित भएका छन्।

सुनकोशी किनारमा पर्ने बंलाघाटमा पानी बहाव घट्दै गएपछि केही परिवार बाढीले क्षतिग्रस्त घर मर्मत गर्दै सर्न थालेको स्थानीयवासी एवं नेपाली कांग्रेस बराहपोखरी गाउँपालिका कार्यसमिति सभापति खिलाराज राईले जानकारी दिए। उनले भने, “सुनकोशीमा आएको बाढीले घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएका उनीहरुका लागि अहिले दशैं न तिहार भएको छ।”

हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडास्थित जयरामघाट र ऐंसेलुखर्क गाउँपालिका-१ राखाबांलमा सात-सात परिवार विस्थापित भएका छन्। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१५ विजयखर्कमा दुई, रावाबेँसी गाउँपालिका-६ हौँचुरमा एउटा परिवार पहिरोबाट विस्थापित भएका छन्।

पहिरोले विस्थापित भएकाहरूमध्ये चन्द्रबहादुर राई छिमेकी सुनिल राईको घरमा, टेकुराम राई छिमेकी भीमबहादुर माझीको घरमा र सुमित्रा राईले काठमाडौंमा दशैं मनाइरहेका हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ बहादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए।

“बाढीपहिरोले घर तथा घरमा भएका सम्पूर्ण सामग्री गुमाएपछि पीडितका लागि वडासँगको समन्वयमा खाने र बस्ने व्यवस्था मिलाइएको छ। दशैं, तिहार तथा छठ पर्व सकिएपछि आवास निर्माणको पहल गर्ने योजनामा छौं”, उनले भने।

बाढीपहिरो पीडितलाई तत्कालका लागि स्थानीय सरकारले सामान्य खाने तथा बस्ने व्यवस्था मिलाए पनि दीर्घकालीन योजना बनाउनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताए।

बाढीपहिरो पीडित परिवारका लागि मात्र नभई यस वर्षको दशैं, तिहार तथा छठ पर्व समग्र जिल्लावासीका लागि खल्लो भएको छ। जागिर तथा अध्ययनका लागि राजधानी काठमाडौंलगायत सहर बजारमा बसोबास गर्दै आएका आफन्त सडक अवरुद्धका कारण धेरैजसो यस वर्षको दशैं तथा तिहारमा घर फर्कन पाएनन्।

बाढीले दिक्तेल-गाईघाट सडकमा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पुल बगाएपछि पूर्वी तराईसँगको सिधा यातायात सम्पर्क विच्छेद भएको छ। खोटाङको खोटेहाङ गाउँपालिका-९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका-५ आँपटार जोड्ने आर्क डिजाइनको मोटरेबल पुल बगाएपछि सिधा यातायात सम्पर्क विच्छेद भएको हो।

बाढी तथा पहिराले अवरुद्ध बनेका जिल्लाका अधिकांश ग्रामीण सडक अझै सञ्चालनमा आएको छैनन । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी तथा दिक्तेल-चखेवाभञ्ज्याङ सडक भने पहिरो पन्छाएर सञ्चालनमा ल्याइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *