शीतल निवासमा सर्वसाधारणलाई टीका र जमरा

डिसी नेपाल
२६ असोज २०८१ १७:३५

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दुहरुको महान् चाड विजयादशमीका अवसरमा सर्वसाधारणलाई टीका र जमरा प्रदान गरेका छन्।

दिउँसो ३ बजे प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय, मन्त्री, सांसद, संवैधानिक अंगका प्रमुख एवं सदस्यलाई नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा प्रदान गरिसकेपछि इच्छुक सर्वसाधारणलाई पनि टीका लगाउन सुरु गरेकाे राष्ट्रपति पौडेलको स्वकीय सचिवालयले जनाएको छ।

राष्ट्रपतिको हातबाट टीका र जमरा ग्रहण गर्ने इच्छा राखेर लाममा बस्ने सबैलाई आज राष्ट्रपति पौडेलले टीका लगाइदिनेछन्। राष्ट्रपतिबाट टीका र जमरा ग्रहण गर्न सयौं मानिस लाममा बसेको जनाइएको छ।

विजयादशमीका दिन राष्ट्रको अभिभावकका रुपमा राष्ट्राध्यक्षबाट हजारौं नेपालीले टीका र प्रसाद ग्रहण गर्ने गरेका छन्। राजतन्त्रकालमा राजाले निरन्तरता दिएको यो परम्परालाई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिका राष्ट्रपतिहरुले पनि निरन्तरता दिँदै आएका छन्।


राष्ट्रपति रामचन्द्र पौडेल शनिबार राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई विजया दशमीको टीका प्रदान गर्दै। तस्बिर : किरणराज विष्ट/रासस



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *