एनसीसी मलेसियाद्वारा एन्फालाई चेक हस्तान्तरण

डिसी नेपाल
२७ असोज २०८१ २०:०६

काठमाडौं। गैर आवासीय नेपाली संघ एनआरएनए मलेसियाले अखिल नेपाल फुटबल संघ एन्फालाई चेक हस्तान्तरण गरेको छ। असोज १२ गतेको सिस्नेरी पहिरोमा परि मृत्यु भएका एन्फा एकेडेमीका ६ जना खेलाडीका परिवारलाई यसअघि एनआरएनए एनसीसी मलेसियाले जनही १ लाख रुपैयाँ दिने निर्णय गरेको थियो।

सोही निर्णय अनुसार एनसीसी मलेसियाका महासचिव टिकाराम अधिकारीले एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङलाई हस्तान्तरण गरेका हुन्। कार्यक्रमा एन्फा उपाध्यक्ष दावा लामाले पछिल्लो विपत्तिबाट नेपाली फुटबलले ठूलो क्षति भोगेको बताउँदै विपद्को बेलामा सहयोग गरेको एनसीसी मलेसियालाई सधैं सम्झिने बताए।

एनसीसी मलेसियाका महासचिव टिकाराम अधिकारीले सिस्नेरी पहिरोका कारण ६ जना खेलाडीको निधन भएपछि कोषाध्यक्ष बालध्वज लिम्बूको पहलमा सहयोग रकम जुटाएर जनही १ लाख रुपैयाँ दिने निर्णय अनुसार एन्फालाई ६ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको बताए।

एन्फा अध्यक्ष नेम्वाङले निधन भएका खेलाडीहरुको स्मृतिमा अक्षय कोष खडा भएको र उक्त रकम त्यसमा जम्मा गर्ने प्रतिवद्धता जनाउँदै सहयोगका लागि धन्यवाद ज्ञापन गरे।

कार्यक्रममा एनसीसी मलेसियाका निवर्तमान अध्यक्ष विनोद कुमार थापासहित एन्फाका अन्य पदाधिकारीको पनि उपस्थिीति रहेको थियो । मकवानपुरको सिस्नेरी पहिरोमा परेर एन्फा एकेडेमीका ६ जना खेलाडीको निधन भएको थियो।

इन्द्रसरोवर गाउँपालिका- ३ टेकरमा सिस्नेरी खोलामा आएको बाढी र पहिरोमा परी वत्सला माविमा सञ्चालन भइरहेको एकेडेमीमा अध्ययनरत ६ युवा खेलाडीको निधन भएको थियो । उक्त घटनामा मकवानपुरका अनुप घलान, दिवस वानियाँ र साइमन योञ्जन रहेका छन् । यसैगरी काठमाडौंका रियान्स आचार्य, सर्लाहीका आदित्य बलपाकी र बाराका बिकल रेग्मीको निधन भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *