दशैं पहिले जस्तो अहिले छैन

सुरेश भट्ट आश्रिन
२८ असोज २०८१ १४:४९

दशैं हाम्रो राष्ट्रिय सांस्कृतिक पर्व हो। यसको आफ्नै मौलिकता भएकाले विश्वभर रहेका नेपालीहरुले कुनै न कुनै तरिकाबाट यो पर्व मनाइरहेका छन्।

विजया दशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टीका र जमरा लगाउने चलन छ।

त्रेता युगमा यही दिनमा भगवान श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा यस चाडलाई विशेष गरी मनाइन्छ। श्रीरामले दशैं दिनमा रावणमाथि विजय हाँसिल गरेको भएर दशैलाई वडादशै एवम् विजयदशमीको नामले पुकारिन्छ। दशैंलाई असत्य माथि सत्यको बिजयको रुपमा हेरिन्छ।

दशैंले संस्कृतिसँगै सामाजिकरणलाई सहयोग गर्दछ। सम्वन्धको सुधार, समाजको मान्यगन्यप्रति सद्भाव र समपर्णको भाव दर्शाउँछ। समाजको एकताको रुपमा पनि यो चाडको ठूलो महत्व रहेको छ। छिन्नभिन्न भएको समाजलाई जोड्ने परदेशमा रहेकाहरु मातृभूमी आउने एउटा माध्यमपनि हो।

दशैंको अर्को महत्व भनेको परदेशमा रहेका नेपालीहरु जुनसुकै जात वर्णको भएपनि उनीहरुले हामी नेपाली र हाम्रो पर्व भनेर योे पर्व दशैं मनाउने गर्दछन्। अहिले त केहि ठूला कम्पनीहरुले हाम्रो पर्वको महत्त्वबारे बुझेपछि विदा दिने चलनको सुरुवात भएको छ। यो कुराले पनि हाम्रो सामाजिक पक्षलाई न्याय गर्दछ।

यसपाली मेरो दशैं थिएन। तर विगतको दशैं सम्झेर अहिले पनि गाउँ सम्झिँदा बहुतै नराम्रो लाग्छ। केही वर्षअघिको गाउँ फिर्ता ल्याउन पाए पनि हुन्थ्यो भन्ने लागिरहन्छ। त्यो वेलाको दशैं आइदिए हुन्थ्यो भन्ने लाग्छ। हुन त दशैं त्यही रहेछ फेरिएको त गाउँ रहेछ , हामी रहेछौं।

आज न त्यो हिजोको रातोमाटाे र कमेरोले पोतेको गाउँघर छ , न मान्छेलाई समय छ, न ती साथी, न ती मान्छे। घट्टबाट धान मकै कुटेर ल्याएको याद छ। चिउरा कुट्न गाउँभरिका मान्छे दुई घण्टाको बाटो भिजाएको धान बोकेर गएको धेरै भएको छैन।

बाबियोको मुठो घर–घर पुगेर संकलन गरेपछि लिङ्गे पीङको लट्ठो तयार हुन्थ्यो। बा-हजुरबाहरू लट्ठो बाटिदिन्थे। दाइ काकाहरू बाँस काटेर पिङका लागि तयार पारिदिन्थे। चौतारीको बर-पीपलको हाँगोमा पीङ हाल्ने चलन पनि छ। रूखको हाँगो उचाइमा छ र मोटो छ भने त्यहाँ पनि पीङ बनाउन सकियो तर लिङ्गे पीङको जस्तो मज्जा यसमा कहाँ आउँथ्यो र!

ओ हो! अर्को कुरा त सुनाउन झण्डै बिर्सेको। गाउँ-गाउँमा कहाँको पिङ ठूलो भन्ने होहल्ला पनि नहुने होइन। पिङको लट्ठो चोरी गर्ने, लट्ठो काटिने जस्ता अराजक काम पनि भैरहन्थे। पीङ टोलको एउटा प्रतिष्ठाको विषय बनेर दशैंमा मच्चिइरहन्थ्यो।

दशैंको दिन धर्ती छोड्नुपर्छ भन्ने मान्यताले उचाइदेखि रिङ्गटा लाग्नेहरू पनि दशैंको दिन लट्ठोमा टीका जमरा चढाएर पीङमा एक सर्को मच्चिएर आकाश छुन खोज्थे। त्यो समय कस्तो रमाइलो हुन्थ्यो।

घर गाउँमा कसैको बिहे ब्रतबन्ध हुँदा बत्ती कात्ने,टपरी गाँसेर लैजाने, दाउरा काटेर ल्याउने र बारीको पाटामा बसेर लस्कर लागेर भोज खाएको पनि एक दशक पुगेको छैन। तर आज गाउँमा न मान्छे छन्, न यसरी काम हुन्छ।

शिशिर ऋतुमा समेत रमाइलो लाग्ने पहाडका डाँडाहरू अचेल झाडी नै झाडीले उराठ बनेका छन्। केवल मृत्युको पर्खाइमा रहेका बूढाबूढी गाउँ कुरेर बसेका छन्, यस्तो लाग्छ उनीहरुको मृत्युमा मलामी जाने मान्छे समेत गाउँले गुमाइसकेको छ। यो देख्दा अचेल पटकपटक मन दुखिरहन्छ।

हिजोको उमेरमा त्यो समयमा बचपनमा मसित खेल्ने साना–ठूला कोही साथी पनि गाउँमा भेटिदैनन् अधिकांश त म जस्तै विदेश पलायन भएकाछन् भने स्वदेशमा बस्नेहरू पनि सहरमा छन्।

गाउँमा बसिरहँदा लुकीडुम, दौड, फुटबल, चुंगी , चङ्गा चेट र एकखुट्टे खेलेका हरेक ठाउँहरू दशैं आगमनसंगै पुनर्ताजगी हुन्छन् । ठाउँ त त्यस्तै नै छ, अलिकति बढी विकास पुगेको मात्रै हो। तर, ती मान्छे, ती साथी, त्यो भावनात्मक सम्बन्ध भएका व्यक्ति कोही छैनन्।

त्यतिका वर्षसम्म आफू खेले, हुर्के र पढेको गाउँमा कोही नभएपछि लाग्यो- भौतिक विकासमा पनि भावना जोडिनुपर्ने रहेछ, भावना नजोडिएको गाउँको विकास खासै अर्थपूर्ण नहुने रै’छ। साच्चिकै भन्नेहो भने गाउँको विकासले न गाउँ बनायो न शहर ।

सहर-बजारदेखि गाउँबस्तीसम्म पहिले र अहिले धेरै अन्तर आइसकेको छ। देशको राजनीतिक अवस्था र जनताका पीडाहरू आमन्ने-सामन्ने उभिएका छन् भन्दा हुन्छ। हिजो सहर-बजारले आफ्नो गतिमा विकास क्रममा ध्यान दिइरहेका थिए भने आज दुर्गम क्षेत्रमा पनि उस्तै विकासको दौड चलिरहेको छ।

तर, देश खाली छ, रोजगारीको सिर्जना छैन। देशबाट दशैं , तिहार नभनी युवाहरू विदेश पलायनको गन्तव्य तय गरिरहेका छन् । राज्य मौन छ । अरु बेला विदेशीन रोक्न नसकेपनि चाढबाडको बेला युवाहरूलाई रोक्न सक्ने अबस्थामा पनि देश छैन ।

विदेश गएकाहरूमा विछोडिएका परिवारका पीडा-रोदन सहितका निराशा छ। जान नपाएकाहरूको नेपालमा केही छैन भन्ने निराशा उत्तिकै छ। पैसाले सहारा दिए पनि साहस भने आफ्नै परिवारमा भेटिन्छ भन्नेहरुपनी छन्। तर धेरै घर रित्तिएका छन् गाउँमा वृद्ध बाहेक उत्पादनसँग जोडिने ऊर्जाशील जनसंख्या छैन।

आफ्नै देशमा बसेर मिहिनेत गर्छु भन्नेलाई अवसर छैन। भएका अवसरमा पहुँच छैन। दशौं वर्ष भत्किएका सडक बन्दैनन्। किसानले मूल्य नपाएर आफ्ना उत्पादन सडकमा पोख्छन्, बिचौलियाले अस्वाभाविक मूल्य तोक्छन्।

उपभोक्ता भने मूल्य र गुणस्तरमा सधैं ठगिन्छन्। राज्य मूकदर्शक बनिदिन्छ। उद्योगी-व्यापारीको उस्तै निराशा। व्यापार छैन। आम्दानी गरौंला रोजगारी दिउँला भनेर महत्वाकांक्षी योजना बनाएर सुरु गरेको व्यवसाय गर्दा लागेको ऋण बुझाउन भएभरको जग्गा-जमिन लिलाम गर्नु परेको तितो कथा कहानीहरुले गर्दा पनि देशले दशैं मनाउन सकिरहेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *