कथा : कान्छो

जितेन्द्र जिसी
२९ असोज २०८१ ११:०६

वितरण ट्यांकीमा पानी जम्मा हुँदै गरे झैं सब यात्रु जहाजमा भरिइ सकेका थिए। जहाज भित्रको मधुर ध्वनी ट्याँङ टुङ गर्दै थियो। अनलाइन चेकिङ गरेकोले मेरो सिट आयल मै थियो।

यत्तिकैमा २ जना अण्डर एज जस्ता देखिने युवतीहरु लिएर विमान परिचारिका आइन्। हातमा बोकेको चाउचाउको नुन (मसला) चाट्दै गरेका ती युवतीको अनुहारमा कुनै दु:ख पीडा वा चिन्ता देखिँदैन थियो।

यतिकैमा एकजनाले कोट्याइन्, ‘ओ अंकल’!
सधैं सबैलाई फर्काउने जवाफ दिए ‘भन बा”।
बा…!

जवानीका लक्षण देखाउने गरी दुबै जना मुखामुख गर्दै हाँसे। म पुलुक्क हेरे मात्रै।

फेरि इशारा गर्दै भने, “हाम्लाई झेल तीर बस्न दिनुन्च र”?

सोंचे, दोहासम्म त हो, बसुन न त।

फेरि थपे ‘तपैं त घुम्न’ ओ होला हुन्तु, फेरि हेर्नु ला’। त्यो जिज्ञासा युक्त ब्याकुलतालाई शान्ति दिँदै म सिट छोड्न राजी भएँ।
उनीहरु निक्कै पुल्कित हुँदै झ्याल तीर बसे। म उनीहरुको खुशी हेर्दै….।

विमान परिचारिकाको ओहोर-दोहोर चल्दै थियो।

यत्तिकैमा बिमानका फस्ट अफिसरले आफ्नो परिचय दिँदै प्यासेञ्जर एनाउन्स गर्न थाले।
ती युवतीहरुले बुझेनन्।

उनीहरु हातको चाउचाउ म मतीर सार्दै भन्दै थिए, ‘अंकल को मान्छे बोलेको, के भन्छ र त्यस्ले?’  मजाकिलो पारामा मैले भने ‘ म पनि बुझिन। पढ्ने बेलाँ बाख्रा चराउन गैइयो”,उनीहरु गलल्ल हाँसे।

एक जना अलि बढी नै झ्यामिने खाले रैछिन, संकोचै नमानी कोट्याएर भनिन्” जुठो पर्‍यो छैन क, अंकल ईत्ती भा नि खानुस”। उनका हेरक शब्द मेरो बाल्यकाल र गाँउको यादको भिडियो देखाउन सफल थिए।

मैले हाँस्दै भने “यो त केटाटीले खाने हो, अंकललाई सुहाउँदैन कर, हुन्तु”। दुबै जना फेरि हाँसे। मानौं कुनै अपरिच ठाँउमा आफ्नो भाषा बोल्ने बिदेशी भेटिएको होस्, मानौं वरिपरी कोही छैन!

बोली ब्यबहार देखेर लाग्दै थियो, तिनीहरु खाडीको कुनै देशमा घरयासी काममा जाँदै छन्। अनि बोल्न मन गरे झैं गरी सोधेँ “नानीहरु कुन देश जान हिँड्नु भईच्च?’

‘भइच्च’ ? उनीहरु एकापसमा चिमोट्दै खित्का छोडेर हाँसे। अलि कम बोल्ने वाली जो मेरो सिट सँगै थिइन्, उनले सोधिन्र ‘तपैंको काँ को हो र?’ यति मै लजाउनु पर्ने त थिएन तर उनले एउटा हातले नाक छोप्दै लजाइन्। उनीहरुको लवजले बाग्लुङ, पर्वत वा म्याग्दीको केही पार्ट कतै दर्शाउँथ्यो। ‘बाउलुङ हो क” जिस्काउने शैलिमा जवाफ दिए।

फेरि सोधे “कहाँ हिड्नु भा? न भन्ने? हामी पछि लागेर जान्नम क र”। म उनकै स्ल्याङ्मा बोल्न खोज्दै थेँ। झ्यालमा टाँसिएकी, बढी फरासिली चाहिँले जवाफ दिइन् “कोर्सिया हो क अंकल”। ए क्रोसिया। मनमा कुरा कम खेले। धन्न। क्रोयसियामा नेपाली महिला कामदारले प्रताडित भएका, शारीरिक वा मानसिक पीडा भोगेको सुनेको थिइन।

मन्दिरको घण्टी झैं दिमागमा आफ्नै बहिनीका शब्द बज्दै थिए। केहि दिन पहिला उनी भन्दै थिइन “दाई भाञ्जा-भाञ्जी पढाउन गाह्राे हुन लगेकोछ। म कतै जान पाए हुन्थ्यो।”

शिक्षा धेरै छैन। सिप पनि छैन। अबोध जस्तो तीनलाई कतै जाने अनुमति दिन मन तयार थिएन। ती क्रोसिया हिँडेका २ युवतीका शब्द-शब्द अनि अनुहारमा, म आफ्नै बहिनी देख्दै थिए।

प्लेन स्टार्ट भएको धेरै समय भयो। उड्ने सुरसार थिएन। म यता उता पल्याक पुलुक गर्दै थिएँ। एक्कासी बाँया काँधमा कसैले बोलाउँदै छोयो। अहो! कमिजको बाहुलामा सिंगान पुछ्ने बेला कै साथी पो रहेछ, अविरल!
अप्रत्यासित भेट।

केटा मान्छे परियो। हातले गर्मी भागाए झैं गर्दै, चिच्याउदै अरुलाई डिस्टर्ब गर्दै हग गर्न त उठेनौं। हुन त त्यो मात्रै आत्मियता होइन।
कुरै कुरामा भन्यो साथीले-उ त क्यानडा उड्न लागेको रहेछ। अझ खुशी भयो। उडानका पट्यार लाग्दा २४-२५ घण्टा बोल्ने साथी भयो, त्यो पनि बाल सखा!

उसले ती युवतीहरु सङको संवाद सुनिरहेको रहेछ। जिस्किँदै ठट्यौली पारामा भन्यो ‘त्यता थाकेको भए आइज सिट साटौं”। दुबै जना हाँस्यौं।
अब बल्ल क्य्पाटेनको अनाउन्स आयो। उड्न तयार रहन बेल्ट बाँध्न्, ईलेक्ट्रिक सामन अफ गर्न…..!

ती युवतीहरु जिस्किन्थे कि बुझ्दैन थे, फेरि सोधे “अंकल अहिले फेरि के भनो? क’थ्थेर उड्छ रे?” उनीहरुलाई सम्झाउँदै बेल्ट बाँध्न सिकाएँ।
जहाँज धावन मार्गमा सुस्त-सुस्त अघी बढ्दै थियो। सायद उडान निर्देशन पर्खिँदै थियो होला। अनी साथी तीर नजर पुर्‍याएँ।
हँ!

उ त रुँदै पो थियो। चस्मा निकाल्दै आशु पुछ्दै थियो। मैले इशारा गरेर सोधेँ ‘तँलाई के भयो ? उ अझ बढी दु:खी भयो। शब्दै निकाल्न सकेन।
विमान्स्थल बाहिर छुट्टिदै गरेका प्रेमी-प्रेमिका झैं, विधावा आमाले आफ्नो एक्लोछोरो पठाउँदै गरे झैं! तिहारको २ दिन अघी दिदीले भाइ बिदाई गरे झैं!
म मेरो देश र नागरिकको विवश चित्र देख्दै थिए….!

जहाँजले गती लिँदै थियो। अनी छेउमा भएका युवतीहरु खुशी थिए। जसलाई उनको गन्तब्यमा के कसो होला भन्ने कुनै द्विबिधा थिएन्, अन्योल थिएन। ८-८ लाख खर्चेर जान लागेका उनीहरुमा, न त्यो ८ लाखको चिन्ता थियो, न घर र देश छोड्न परेको दुख:!

यता बाँयातर्फ एक परिपक्व, स्थापित मानिस रुँदै थियो, अबिरल छेत्री। लाग्थ्यो, यो नै मेरो देशको यथार्थ चित्र हो।

जहाँज दोहा अबतरण गरेपछि वितरण ट्यांकीमा जम्मा भएको पानी पाइपबाट घर-घर गए झैं सबै यात्रु आफ्नो-आफ्नो गन्तब्य तर्फको गेटतिर लागे। भीडमा ती करीव ५ घण्टाका साथी युवतीहरुपनि बिलाए। म कामान गरिरहेँ, उनीहरुको यात्रा सुखद होस्। ऋण तिरेर, पैसा कमाएर सुरक्षित स्वदेस फर्किउन्।

साथी अविरल र म भनेगेट हेर्दै लाउञ्जतर्फ हिड्यौं। १७-१८ वर्षका विविध आयामको दर्पण साटासाट गर्दैगर्दा बोर्डिङ खुलेको नोटिस पायौं।
यत्तिकैमा उ न्यू योर्कमा एक्जिट गर्न सहमत भयो। र, श्रीमतीलाई त्यहाँसम्म लिन आउन सहमत बनायो।

हाम्रो जहाज उड्न तयार भयो। तीता-मिठा बाँकी गफ गर्दै, सुत्दै न्यूयोर्क पुगियो। साथी अलिबढी खुशी थियो किनकी उ २ महिनापछि श्रीमतीसँग भेट्दै थियो।

त्यति कै मा मैले सोधेँ ‘ओए अबिरे तँ उड्ने बेला किन रोएको’? उ जवाफ दिन खोज्दै थियो तर नजिकै उसकी श्रीमती फूलको मुठो (बुके)बोकेर मुस्काउँदै उभिएकी थिइन्। मेरो प्रश्न अधुरो रह्यो …

उनीहरुको आत्मीय आलिङ्गन पश्चात मेरो साथीले चिनाउँदै थियो। यत्तिकैमा उनले भनिन् “सर, म अनामिका, उनी मेरो कान्छो …”

म सोंची रहे …!

हाम्रो समाजले कान्छी मात्रै देखें, सुनें/सुनाएको थियो। पहिलो पटक सुन्दै थिएँ, “हजुरको साथी अबिरलजी मेरो कान्छो, मेरो अध्याँरो बिगत भुलेर मलाई साथ र माया दिने महान मान्छे। त्यसैले उनी मेरो कान्छो”। उबर आइसक्यो, हामी हिड्यौं गन्तब्य तीर….




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *