लघुकथा : ब्रम्हलुट
![लघुकथा : ब्रम्हलुट](https://www.dcnepal.com/wp-content/uploads/2024/10/8-6.jpg)
“सिस्टर, नाम लेखाएको कति हो?” इटहरी सामुदायिक अस्पतालको काउण्टरमा बस्ने बैनीलाई सोधें। उनले सहजै जवाफ दिइन“सात सौ पचास।” “यत्रो महँगो किन?” मैले प्रति प्रश्न गरें। ती बैनीले जवाफ फर्काइन् “दाइ यहाँको रुल्स नै यही हो। बार्गेनिङ गरेर केही फाइदा छैन।”
बास्तबमा बार्गेनिङ गरेर फाइदा नै के छ र? एक छिन मुखको तीतो पोख्नु त हो। सुनुवाइ कही हुने हैन। दिन दहाडै मान्छेहरु लुटिइरहेछन्। नाम सामुदायिक अस्पताल। दाम भने जनताको ढाड सेक्ने गरी राखेका छन्। डक्टरको अनुहार हेर्न र बोली सुन्न नै सात सौ पचास लाग्छ।
गरिब र असहायहरुले कसरी स्वाश्थ्योपचार गराउने होला? हे दैव, देश कस्तो भइसक्यो। यो त एउटा उदाहरण मात्रै हो। यस्ता स्वाश्थ्य सस्था कति छन कति ? अनुगमन छैन। जो बिरामीलाई लुटिरहेछन्।
बुबालाई युरिक एसिड छ। बेला बेलामा आँख्ला आँख्ली, जोर्नी दुख्ने र खुट्टा सुन्निने समस्याले सताउँछ। यस पटक पनि खुट्टा सुन्निएर टेक्नै नहुने भए पछि इटहरी सामुदायिक अस्पताल लिएर गएको हूँ। पुर्जा बनाएर डाक्टरलाई भेट्ने काम गरियो।
डाक्टरले सामान्य जाँचहरु, रगत जाँच र खुट्टाको एक्स्रे गर्न सिफारिस गरे। फेरि काउण्टरमा बिल काट्नु पर्ने भयो। डाक्टरले लेखेको पुर्जा देखाएँ। सिस्टरले हिसाब गरेर दुई हजार एक सय लाग्छ भनिन्। म छाङ्गा बाट खसे जस्तो भएँ। रगत जाँच र एक्स्रेको दुई हजार एक सय? यति महँगो?
जाँच गराएर औषधि लिनु नै थियो। विद्रोह उम्ले पनि धैर्य गरेर बिल काटेँ। बुबाको रगत जाँच र एक्स्रे भयो। डाक्टरलाई रिपोर्ट देखाइयो। एक्स्रे हेरेर डक्टरले भने, “तपाईंको खुट्टाको हड्डी युरिक एसिडले धेरै खाइ सकेको छ। अहिले खुट्टा सुन्निनुको कारण युरिक एसिडबाट गाउट भएको हुन सक्छ। युरिक एसिड त ठिकै छ। औषधि लेखी दिन्छु । खाएर हेर्नोस्। ठिक भएन भने फेरि आउनु होला।”
प्रेस्सक्राइब लिएर औषधि पसलमा गइयो। तीन दिनको औषधि रहेछ । सात सौ पचास दाम तिरेर औषधि किनियो।
छिनका छिन तीन हजार छ सय चैट भयो। मलाई लाग्यो यो त उपचारको नाममा ब्रम्हलुटै हो। कहाँ शिकायत गर्ने? मेरो शिकायत कस्ले सुन्ने? के निःशुल्क स्वाश्थ्य सेवा प्राप्त गर्नु नागरिकको अधिकार हैन? सरकार तिमी जिवित छौ कि मृत?
सुन्दरहरैंचा-६,दुलारी, मोरङ
Facebook Comment