पुंगी खोलामा पर्ने मापदण्ड विपरितका संरचना घरधनीले आफैंले भत्काउन थाले

डिसी नेपाल
१ कार्तिक २०८१ १७:३७

चितवन। गत असोज २ गते भरतपुर महानगरले मापदण्ड विपरितका भोगचलन गरी निर्माण भएका संरचनामा डोजर चलायो। महानगरले डोजर चलाउँदा धनजनको क्षति नपुग्ने गरी भत्काउने नीतिअनुसार सम्बन्धित घरधनीलाई एक हप्ताको समय सीमा दियो।

दशैं सकिए लगतै पुंगी खोला क्षेत्रमा पर्ने संरचना धमाधम घरधनीहरुले भत्काउन थालेका छन्। नारायणगढको लायन्स क्लबको पाँचतले भवन अहिले घरधनीहरुले भत्काइरहेका छन्। कामदारहरुले ट्रष्ट निकालेर ढलान फुटाउने काम गरी रहेका छन्।

महानगरले पुंगी खोला सौन्दर्यकरण अभियान अन्तर्गत लायन्स भवनबाट डोजर चलाउन सुरु गरेको थियो। यो भवन सामाजिक संस्था लायन्स क्लब अफ नारायणगढले ३० वर्षअघि निर्माण गरेको थियो। नारायणगढ ओरालो सकिने स्थानमा रहेको भवन पुङ्गी खोलाको ८० प्रतिशत भाग र सडकको २० प्रतिशत भागको जग्गा ओगटेर निर्माण गरिएको थियो।

भरतपुर महानगरपालिकाका इन्जिनियर सूर्य लामाले लयान्स भवन लगायत अन्य भवनहरु क्रमश घरधनी आफैले भत्काउन सुरु गरेको जानकारी दिनुभयो । अतिक्रमित संरचना हटाउन पटक पटकको सूचनामा भइसकेकाले आफैं संरचना भत्काउन अनुरोध गरिएको उनले बताए।

घरधनीले अटेरी गरी संरचना नभत्काए महानगरको ऐन कानुनअनुसार जरिवाना लिइने उनको भनाइ छ। भरतपुर महानगर प्रमुख रेनु दाहालले पुंगी खोला मिचेर बनाइएका सबै अवैध संरचना हटाउने अभियान जारी रहेको उल्लेख गरे।

पुंगी खोला विकास तथा सौन्दर्यकरण करिडोर निर्माणका लागि सघन सहरी तथा भवन निर्माण आयोजनाबाट ६ करोड ६५ लाख रुपैयाँ बजेट छुट्याएको छ।

‘अहिले घरधनीहरुले मापदण्ड विपरितका संरचना आफैं भत्काइ रहनु भएको छ’, उनले भने, ‘यो खुसीको विषय हो। महानगरपालिका बल प्रयोग गरेर भत्काउने पक्षमा छैन। अटेर गरे बल प्रयोग गर्न बाध्य हुनेछौं।’

महानगरपालिकाले मापदण्ड विपरितका संरचना भत्काउने र सँग सँगै सौन्दर्यकरणको कार्य पनि अघि बढाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *