कविता : शिक्षक ज्ञानको श्रीगणेश

कवीन्द्र सिटौला
३ कार्तिक २०८१ ६:३६

शिक्षक!

तिमीले मेरो शिक्षाको श्रीगणेश गर्दै

जीवन पथमा ज्ञानको ज्योति फैलाउने

तिमी नै पथ प्रदर्शक थियौ।

अक्षर अक्षर आरम्भका प्रत्येक सूत्रहरू-

कपुरी क, कान्दानी का

बाइमात्रा, तलकुरे,

क बाट कलम , ख बाट खरायो

एक , दुई , तीन, एकलाई शुन्ना दस

ए ,वी, सी,डी,

ए फर एप्पल, बी फर बस

दुई एकान दुई, दुई दुना चार

तारबाजी लै लै, मामा आए घोडा, माइज्यू आइन् डोली

ट्विङ्कल, ट्विङ्कल लिटिल स्टार

हाउः आई वण्डर, ह्वाट यु आर!

 

ए स्क्वाएर, बी स्क्वाएर

लगायत

अरू धेरै अपरिहार्य ज्ञान

सुसूचित गराउँदै औँला समाउँदै

चेतनाको उज्यालो प्रवाह फैलाउने गराउने

मलाई अचम्मको संसारमा प्रवेश फैलाउने गराउने!

तिमी नै पथ थियौ तिमी।

शिक्षक!

तिमी मेरो पुस्तकको अक्षर, शब्द र पानाहरू हौ

तिमी मेरो जीवनको

रहस्यमय ढोका खोलिदिने चाबी हौ

मेरो जीवनलाई बाटो देखाइदिने सहयोगी हौ

मेरो हरप्रश्न र उत्सुकताका उत्तर

अनि मेरा हर समस्याका निराकारण हौ।

तिमी वेदव्यास, वाल्मीकि


अरू धेरै धेरै ऋषिमुनि र तपसी गुरुहरू हौ मेरो लागि

तिमी मेरो मात्र होइन

समस्त मानवको ज्ञान र विज्ञानको

असीमित आकाश हौ

नव नव सिर्जना हौ

तिमी मलाई विश्व देखाइदिने

ब्रह्माण्डको रस, रहस्य बुझाइदिने

मेरा दुईटा आँखालाई ज्योति दिने

ती आँखालाई पनि दृष्टि दिने

अझ सचेत अन्तर्दृष्टि दिने

सूक्ष्म चक्षु हौ

मेरो जीवनको अन्धकार हटाइदिने अटुट प्रकाश हौ।

 

हे शिक्षक

तिमी मेरो बाल्यकालको साथी

हाँसो र खुसी, उत्साह र उमङ्ग हौ

मेरो जीवनको अनुशासन हौ

मेरो जीवनको आधारशिला हौ

‘एकता नै बल हो’भन्ने

जीवनको पहिलो मन्त्रको सङ्केत दिने

हातका पाँच औँला हौ

मलाई लेफ्ट्, राइठ् , लेफ्ट् गराउँदै

रेडी, अण्डर मार्क्

गेट् सेट्, गो… गराउँदै

दौडाउने मेरो प्रगतिको गति गति हौ

मेरो जीवन लक्षको निसाना हौ तिमी।

हे शिक्षक!

मलाई जीवनको हारजितमा

स्थिर रहन सिकाउने मेरो धैर्यता हौे धैर्यता

यति मात्र होइन,

एउटा राष्ट्रलाई उठाउने वीर, वीराङ्गना, सहिद,

समाजसेवी, डाक्टर, इन्जिनियर, वकिल, न्यायाधीश,उद्यमी,

वैज्ञानिक, साहित्यकार, कलाकार, पत्रकार, खेलाडी,

सबै सबै राष्ट्रसेवक, असल नागरिक

अनि

सुयोग्य सपूतहरू, ऋषिमुनिहरू

पैदा गर्ने स्वयं आमा हौ

हो, शिक्षक साँच्चि नै मातृ तत्व हौ तिमी ।

 

हे शिक्षक! हे टिचर!

हे मलाई असल मानव बनाउने श्रद्वेय गुरु

हो मलाई असल मानव बनाउने तिमी श्रद्वेय गुरु हौ

तिमीलाई दण्डवत गर्ने कुनै भाव नै बाँकी छैन …!

मसँग तिमीलाई अभिनन्दन गर्ने कुनै शब्द नै छैन

तिमीलाई बधाई दिने कुनै पुष्पहार नै छैन

तिमीलाई चढाउने कुनै भेटी नै मसँग छैन,

हो, मसँग तिमीलाई चढाउने कुनै भेटी नै छैन!!

 

जो शिक्षक मसँग यो लोकमा छैनौ

तिमीलाई श्रद्धाञ्जली अर्पण गर्ने

मेरो अञ्जुलीमा केही पनि छैन! शिक्षक केही पनि छैन मसँग!

किनकि तिमी त्यो भन्दा धेरै धेरै माथि छौ!

हो, त्यो भन्दा धेरै धेरै उच्च स्थानमा छौ तिमी!

अमर छौ-सदा अमर छौ तिमी !

मसँग तिमीलाई दिन केवल प्रेमको मुस्कान छ-

मात्र प्रेमको मुस्कान

मिठो सम्झनाको मुस्कान!!




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *