राजनीतिक इतिहास र संघर्षको यथार्थ दस्ताबेज-‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरू’
प्रस्तुत ‘बन्दी जीवनका अत्यास लाग्दा कथाहरू’ वरिष्ठ लेखक एवं साहित्यकार गङ्गाप्रसाद उप्रेतीद्वारा लिखित र भर्खरै प्रकाशित जेल डायरी हो।
जेल डायरीमा सम्बन्धित व्यक्तिको जेलजीवनको टिपोट मात्र नभएर इतिहासका लेखकहरूले पनि प्राप्त गर्न नसकेका कतिपय लुप्त तथ्यहरू पनि हुन्छन् र यो इतिहास र साहित्य दुवैसँग सम्बन्धित हुन्छ।
यसमा सम्बन्धित व्यक्तिका भोगाइ मात्र हुदैनन्, उससँग सम्बन्धित भएर आउने तत्समयका अन्य घटना, परिघटना र दृश्यहरू पनि हुन्छन् र यसले इतिहास लेखनमा पनि सहयोग पुग्छ।
जेल डायरी तत्कालीन राज्यसत्ता र विद्रोही दुवैको इतिहास पनि हो। यो यथार्थ लेखन भएकाले यसमा लेखकलाई बहकिने वा सत्यतथ्यभन्दा बाहिर जाने र घटनालाई अतिरञ्जित गर्ने छुट भने हुँदैन।
नेपालमा राजनीतिक, सामाजिक परिवर्तनका लागि भएका सङ्घर्षका क्रममा जेलजीवन भोग्ने व्यक्तिहरू थुप्रै छन् तर यस विषयमा कमैले मात्र कलम चलाएका छन्।
बी.पी कोइरालाका ‘जेल डायरी’, ‘जेल जर्नल’ यस सम्बन्धमा धेरै पढिएका कृति हुन्। यसका साथै झापा विद्रोहका सम्बन्धमा लेखिएका राधाकृष्ण मैनाली, प्रदीप नेपाल र वीरबहादुर लामाका संस्मरणात्मक कृति पनि यस सम्बन्धमा उल्लेखनीय छन्।
नेपालीमा जेलजीवनका कथाव्यथाहरूलाई लिएर जति लेखिनुपर्ने हो त्यति लेखिएका छैनन्। यही क्रममा अहिले गङ्गाप्रसाद उप्रेतीको आजभन्दा पचास वर्ष पहिले पञ्चायती निरङ्कुश सत्ताले लगाएका झुटा मुद्दामा आफूले भोग्नुपरेका जेलजीवनका कथाव्यथा समेटिएको जेल डायरी आएको छ।
गङ्गाप्रसाद उप्रेती शैक्षिक, प्राज्ञिक, प्रशासनिक एवं साहित्यिक क्षेत्रमा सुपरिचित नाम हो। उनी कुटनीतिक व्यक्तित्व पनि हुन् र उनको राजनीतिक जीवनको पाटो पनि छ।
त्रिविमा लामो समय प्राध्यापन तथा नेपाल प्रज्ञा–प्रतिष्ठानमा एक अवधि उपकुलपति र दुई अवधि कुलपतिसमेत भई शैक्षिक, प्राज्ञिक, प्रशासनिक जिम्मेवारीमा रहेर कुशलतापूर्वक कार्यसम्पादन गरेका वरिष्ठ साहित्यकार उप्रेती नेपाली भाषा–साहित्यका बहुआयामिक व्यक्तित्व हुन्।
उनी भाषा-व्याकरणका साथै कविता, कथा, ललित निबन्ध, नियात्रा, संस्मण र समालोचनाका फाँटमा समानान्तर रूपमा कलम चलाउँछन्। उनका विभिन्न पत्रपत्रिकामा छरिएका थुप्रै फुटकर रचनाका साथै विविध विधाका गरी हालसम्म डेढ दर्जन कृति प्रकाशित छन्। साहित्यका साथै भाषा-करण र शब्दकोश सम्पादनसँग सम्बन्धित विशेषज्ञताको उनको अर्को पाटो पनि छ।
उनी मूलतः मानवीय जीवनका विविध पक्षको सूक्ष्म निरीक्षण गरिएका सांस्कृतिक, वैचारिक ललित निबन्ध र नियात्राकारका रूपमा सुपरिचित छन्। उनका समालोचना पनि वस्तुपरक र आधिकारिक हुन्छन्।
प्राज्ञिक, बौद्धिक एवं वैचारिक व्यक्तित्वका रूपमा स्थापित उप्रेतीका विषयमा विश्वविद्यालयहरूमा थुप्रै शोधकार्य भएका छन् र विभिन्न तहका पाठ्यक्रममा उनका ललित निबन्ध र नियात्रा समाविष्ट छन्।
प्रस्तुत ‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरू’ जेल डायरी गङ्गाप्रसाद उप्रेतीद्वारा लिखित अठारौँ प्रकाशित कृति हो। यसमा पूर्वी नेपालको तेह्रथुमको आफ्नो जन्मस्थान आठराईमा जीवनको प्रथम चरणमा शिक्षण पेसा गर्दै राजनीतिक र साहित्यिक संगठनमा क्रियाशील रहेका वेला राजकाज अपराध ऐनअन्तर्गतका मुद्दामा पक्राउ परी जेलमा भोग्नुपरेका अत्यासलाग्दा घटना र कथाव्यथालाई संस्मरणका माध्यमबाट उत्खनन गरिएको छ।
यो जेल डायरी लेखक उप्रेतीको जेलजीवनसँग सम्बन्धित अभिलेख मात्र होइन, तत्कालीन नेपालको राजनीतिक अवस्था, सामाजिक-राजनीतिक द्वन्द्व, सत्ता र विद्रोहीहरूका क्रियाकलाप तथा राजनीतिक नेता र कार्यकर्ताहरूले गरेका सङ्घर्ष र परिवर्तनका निम्ति भएका प्रयत्न आदि अनेक विषयको विवरण पनि हो।
यसमा तत्कालीन निरङ्कुश सत्ताले विद्रोहीहरूका गतिविधबाट त्रसित भएर सञ्चालन गरेको चरम दमन र क्रूरता एकातिर छ भने अर्कातिर त्यस वेलाका राजनीतिक पार्टीहरू नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टीले स्वतन्त्रताका निम्ति गरिरहेको क्रान्तिको तयारी र परिवर्तनको अभियान पनि छ अनि यसमा स्वयं लेखकको विचार र राजनीतिक दर्शन पनि आएको छ। त्यसैले यो कृति नेपाली राजनीतिक इतिहास र सङ्घर्षको एउटा यथार्थ दस्ताबेज बनेको छ।
यस कृतिलाई तेह्र अध्यायमा विभाजन गरेर प्रस्तुत गरिएको छ। यसमा जेलयात्राको पृष्ठभूमि, झापा, विराटनगरदेखि म्याङ्लुङम्मको यात्रा तथा गिरफ्तारीपूर्वका केही अन्योलपूर्ण क्षणहरू, तेह्रथुमको प्रहरी हिरासत र सुरक्षा कानुनको पुर्जी, धनकुटा जेल र त्यहाँ बिताइएको बन्दी जीवन, धनकुटा कारागारबाट मोरङ कारागारमा चलान, राजविराज जेलमा प्रवेश र त्यहाँको बसाइ, राजविराज कारागारका केही अविस्मरणीय क्षण र घटनाहरू, मोरङ कारागारमा पुनः प्रवेश र त्यहाँ बिताइएका जीवनका केही रोचक प्रसङ्गहरू, सेन्ट्रल जेलमा भोगेका केही रोचक प्रसङ्गहरू, नक्खु कारगारमा प्रवेश र त्यहाँको बसाइ, राजबन्दीको बर्बर हत्या कहालीलाग्दो घटना, मुक्तिको प्रयास र कारगारबाट मुक्ति पाएको प्रसङ्ग तथा जेल मेरा लागि विद्यालय, महाविद्यालय र विश्वविद्यालय शीर्षकमा विषयवस्तु समेटिएका छन्।
गङ्गाप्रसाद उप्रेतीले जुन वेला जेलजीवन भोग्नुपरेको थियो, त्यो विक्रम संवतको तिसको सुरुवातको दशक थियो। यस वेला नेपालमा पञ्चायती निरङ्कुशताका जराहरू नेका र नेकपाका अभियान र आन्दोलनले हल्लिन थालेका थिए तर सत्ता भने चरम निरङ्कुश र दमनकारी बनिरहेको थियो।
उदारवादी प्रजातन्त्रको वकालत गर्ने पुँजीवादी पार्टी नेका र श्रमजीवी वर्गको हितको वकालत गर्ने नेकपा गुटफुट र विभाजनका बाबजुद पनि आआफ्ना कार्यक्रम लिएर अगाडि बढिरहेका थिए।
यस वेला नेकपा २०१७ सालको राजा महेन्द्रको दलीय संसदीय राजनीतिलाई समाप्त पारेर पञ्चायती निरङ्कुशता लाद्ने पश्चगामी कदमले तितरवितर भई विभिन्न गुटउपगुटमा विभाजन भएको भए पनि पुनः संगठित हुँदै अगाडि बढिरहेको थियो।
केन्द्रमा पहिलो पुस्ताका नेताहरूले २०१७ सालको प्रतिगामी कदमपछि आआफ्नै गुट बनाएर अगाडि बढ्नाले युवाहरूले नयाँ बाटो खोजिरहेको अवस्था थियो।
कम्युनिस्टका विभिन्न समूहमध्ये पुष्पलाल समूहका गतिविधि वनारस केन्द्र बनाएर पश्चिम पहाडतिर सीमित थिए भने नेपालमै रहेर केशरजङ रायमाझी, मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ, मोहनविक्रम सिंह र नारायणमान बिजुक्छेहरू आआफ्ना समूहगत गतिविधि गरिरहेका थिए। नेपाली समाजमा भने नयाँ किसिमका सामाजिक अन्तर्विरोधहरू देखापरिरहेका थिए।
यही अवस्थामा भाकपा मालेले नक्सालबाडीमा किसान आन्दोलनका रूपमा वर्गशत्रु सफायाका नाममा सञ्चालन गरेको व्यक्ति हत्याको राजनीतिको प्रभाव नेपालको पूर्वी भेग खासगरी झापाका केही कम्युनिस्ट युवामा पनि पर्यो र एउटा विद्रोही समूह बन्यो।
यसले नेकपा (पूर्वकोसी प्रान्तीय कमिटी) केन्द्रबाट अलग भई मोहनचन्द्र अधिकारीको नेतृत्वमा झापाविद्रोह सुरु गर्यो। विद्रोही समूहमा तत्कालीन युवाहरू सी.पी मैनाली, राधाकृष्ण मैनाली, शिवप्रसाद सिवाकोटी, केपी ओली, लीला कट्टेल, सीता खड्का, गौरा प्रसाईं आदि युवाहरू मुख्य थिए भने अरू पनि थुप्रै युवाहरू यसमा सामेल थिए। पछि यस समूहले व्यक्तिहत्याको उग्र र जडसूत्रवादी सोचलाई सच्याएकाले यो समूह कोअर्डिनेसन केन्द्र र नेकपा (माले) हुँदै नेकपा (एमाले) का रूपमा विकसित भयो।
झापा विद्रोहको परिणाम पञ्चायती सत्ताका निकट रहेका झापा शनिश्चरेका जमिनदार धर्मप्रसाद ढकाल र उनका निर्दोष छोरा ज्ञानी ढकालको नृशंस हत्या भयो। यसपछि सरकारले पनि हिंसात्मक कार्बाहीमा उत्रेर ‘पक्राउ गर र हत्या गर’ को दमनचक्र चलायो र कैयौँ युवाहरूलाई धरपकड गर्याे र कैयौँलाई मार्याे।
कैयौँ युवाहरू दमनबाट बच्न नेपाल छोडेर पूर्वोत्तर भारत र भुटानमा श्रमिक हुन पुगे र उतै भासिए। यता केन्द्रमा मनमोहन अधिकारी र शम्भुराम श्रेष्ठ जेलमै थिए भने पूर्वी नेपालतिरका अगुवा नन्दकुमार प्रसाईं पनि ताप्लेजुङबाट पक्राउ परिसकेका थिए।
यस क्रममा शनिश्चरे काण्डअगाडि नै पक्राउ परी थुनामा राखिएका रामनाथ दाहाल र नेत्र घिमिरेलाई समेत यही अभियोग लगाई झापाबाट इलाम जेल सार्ने बहानामा २०२९ फागुन २१ गते वीरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेलसहित ५ जना विद्रोहीलाई सुखानीको जङ्गलमा लगेर सरकारले हत्या गर्याे। यसको तरङ्ग मुलुकभरि नै फैलियो भने पूर्वी नेपाल खासगरी आठराईमा यसको असर बढी पर्यो किनभने झापा आन्दोलनमा संलग्न अधिकांश व्यक्तिहरू पहाड आठराईबाट नै झरेका व्यक्ति थिए।
यही क्रममा आठराईबाट कैयौँ युवाहरू पक्राउ परे भने मुठभेडको बहानामा भौतिक रूपमै समाप्त पारिने सरकारको योजनाभित्र परेका आठराईका अगुवा कम्युनिस्टहरू सूर्य कन्दङ्वा, नरेश शाक्य र भीमराज कन्दङ्वा चाहिँ मारिने गोप्य सूचना थाहा पाएपछि भूमिगत भई बचे।
यसरी गङ्गाप्रसाद उप्रेती सक्रिय रहेको पूर्वी पहाडको आठराई त्यस बेला पनि वाम राजनीतिको केन्द्र नै थियो। त्यहाँ २०१५ सालको निर्वाचनअगाडि नै पुष्पलाल र मनमोहन अधिकारीका पहलमा नेकपा पुगिसकेको थियो तर २०१७ सालको निरङ्कुश कदमपछि तेह्रथुमका सङ्गठक नेत्रप्रसाद गुरागाईंको हत्या भएपछि नेकपाको सङ्गठन कमजोर हुन पुगेको थियो।
पछि मोहनचन्द्र अधिकारी, भरतमोहन अधिकारी र कमलप्रसाद कोइरालाहरूले आठराईमा सङ्गठन विस्तारमा भूमिका खेले भने नन्दकुमार प्रसाईंले त्यस क्षेत्रको अगुवा भई काम गरेका थिए।
तेह्रथुम सदरमुकामतिर नेत्र गुरागाईँको सहादतपछि पहिलो पुस्ताका विष्णुकुमार तुम्बाहाम्फे, मित्रलाल सुवेदी र महेश्वरमान श्रेष्ठ सक्रिय थिए भने आठराईतिर चन्द्रमान (सी.एम.) कन्दङ्वा र बल्लभमणि दाहाल अनि नन्दकुमार प्रसाईं, रामप्रसाद सिटौला र ओमकृष्ण सिटौलाहरू सक्रिय थिए।
आठराईमा शिक्षण पेसाका साथै साहित्यिक क्रियाकलापमा सक्रिय भएर लागेका सूर्य कन्दङ्वा, पुण्यप्रसाद सिटौला, कृष्णप्रसाद ओली, विष्णुप्रसाद सिवाकोटी, भीमराज कन्दङ्वा र गङ्गाप्रसाद उप्रेतीहरू राजनीतिक, सामाजिक कार्यमा पनि सक्रिय थिए।
साथै युवा विद्यार्थीहरू शिव सिटौला, देवी उप्रेती, तेजबहादुर कन्दङ्वा, नरप्रसाद बिमली, नुरप्रसाद मैनाली, बुद्धि थपलिया, पुष्पलाल बिस्ट आदि पनि राजनीतिमा सक्रिय भइरहेका थिए।
यही अवस्थामा २०२५ सालतिर त्यस वेलाका अगुवा कम्युनिस्ट नन्दकुमार प्रसाईंबाट अरू साथीहरूसहित हाङ्पाङमा भएको एक कार्यक्रममा उप्रेतीले कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए। उनी २०२२ सालमै स्थापना भएको ‘साहित्य सङ्गम आठराई’ नामको साहित्यिक संस्थामा पनि स्थापना कालदेखि नै सक्रिय रहेका थिए।
निम्न वित्तीय परिवारमा जन्मेका उप्रेतीको घरायसी आर्थिक अवस्था कमजोर रहेको हुनाले चुहानडाँडास्थित तत्कालीन वीरेन्द्र इन्टर कलेजमा आई. ए.उत्तीर्ण गरेपछि प्राइभेट विद्यार्थीकै रूपमा माथिल्ला तहको शिक्षा हासिल गर्न उनी बाध्य थिए।
उच्च शिक्षा प्राप्त गर्ने उत्कट अभिलाषा भएका उप्रेतीले पछि जेलबाट नै एम.ए. सम्मको शिक्षा र कानुनमा स्नातक पनि गरे। उनी झापा आन्दोलन चर्किरहेको र सत्ताको चरम दमन भइरहेकै वेला प्राइभेट विद्यार्थीका रूपमा नेपाली विषयमा एम. ए. प्रथम वर्षको परीक्षा दिन काठमाडौँ आएका थिए।
यही वेला झापा विद्रोहको असर आठराईमा चरम दमन सुरु भयो र कैयौँ युवा शिक्षक विद्यार्थीलाई झुटा मुद्दा लगाई धरपकड गरियो। उनी पनि यही झुटा मुद्दाका अभियोगमा भगौडा लिस्टमा रहेछन्।
यही क्रममा काठमाडौँबाट परीक्षा दिएर घर फर्कने क्रममा तेह्रथुम म्याङ्लुङ पुगेपछि शिक्षक कृष्णप्रसाद ओली र ब्रिटिस सेनाका पूर्व क्याप्टेल कविरध्वज कन्दङ्वासँगै २०३० वैशाख ४ गते उनी पक्राउ परे।
पक्राउ परेपछि उनीहरूलाई पहिले सुरक्षा कानुअन्तर्गत र पछि राजकाज अपराध र सजाय ऐनअन्तर्गत पुर्जी थमाइयो। यस वेलैदेखि उप्रेतीसहितका बन्दीलाई राजबन्दीले पाउने ‘क’ श्रेणीको सुविधा नदिइएर ‘ख’ श्रेणीको मात्र सुविधा तोकिएको थियो।
‘ख’ श्रेणीको सुविधामा दिनको डेढ माना उसिना चामल अनि तर्कारी, नुन आदि किनमेलका लागि ७५ पैसा दिइन्थ्यो भने ‘क’ श्रेणीको सुविधामा डेढ माना मसिनो चामल र डेढ रुपियाँ दिइन्थ्यो। सुरुमा तेह्रथुम प्रहरी हिरासत र त्यसपछि तेह्रथुम कारागार अनि धनकुटा, मोरङ, राजविराज र फेरि मोरङ कारागार हुँदै केन्द्रीय कारागार र अन्त्यमा नक्खु कारागारमा सरुवा भई अनेक दुख सहेर त्यहाँबाट २०३१ कार्तिक २८ गते उनी जेलमुक्त भए।
यसरी १ वर्ष ६ महिना २४ दिन अथवा १८ महिनाभन्दा केही दिन बढीको उनको जेलजीवन रहेको देखिन्छ। उनको जेलजीवन डेढ वर्षको रहे पनि उनी जेल पर्नुभन्दा अघि २०२८ सालको कार्तिकदेखि नै नजरबन्दमा रहेका र मुक्त भइसकेपछि पनि अभियोगबाट पूर्णतः छुटकारा पाउन उनलाई अरू केही समय लागेकाले लगभग तीन वर्ष कष्टकर जीवन भोग्नुपरेकाले उनको बन्दीजीवन चाहिँ करिब तीन वर्षको देखिन्छ।
गङ्गाप्रसाद उप्रेती जेल परेका वेलाको यो अवधि एकातिर कम्युनिस्टहरूले झापा विद्रोह गरेका कारण सुखानी हत्याकाण्ड भई चरम दमनको अवस्था उत्पन्न भएको थियो भने अर्कातिर नेपाली काङ्ग्रेसले पनि सशस्त्र विद्रोहको अभियान चलाएकाले सरकार निर्लज्ज कार्बाहीमा उत्रेको थियो।
यही क्रममा २०३० साल जेठ २८ गते नेकाले सशस्त्र विद्रोहका लागि खर्च जुटाउन भन्दै विराटनगर-फार्बिसगन्ज प्लेन अपहरण काण्ड घटाई विराटनगरबाट राष्ट्रबैंक लगिदै गरेको ३० लाख भारु कब्जामा लिएको थियो।
यही वेला २०३० फागुन २८ गते केशरमणि पोखरेल, बेदुराम भुसाल, पीताम्बर भुसाल र देवराज भारहरूको नेतृत्वमा किसानमाथि लगाइएको चर्को व्याजका विरुद्धमा तमसुक च्यात्ने अभियानअन्तर्गत अर्घाखाँचीमा हर्रेबर्रे काण्ड पनि भएको थियो।
यही अवधिमै २०३१ साल असोज १३ गते ओखलढुङ्गाका लीलानाथ दाहालसहितका चार जना विद्रोहीको नक्खुमा निशंस हत्या भएको थियो भने यही वेला २०३१ साल कार्तिक २ गते नेपाली काङ्ग्रेसका प्रभावशाली नेता सरोजप्रसाद कोइरालाको विहारको मधुवनीमा हत्या भएको थियो अनि यही वेला २०३१ पुस १ गते गिरिजा बाबुको निर्देशनमा सशस्त्र विद्रोहको योजनामा लागेका कप्तान यज्ञबहादुर थापा र राम–लक्ष्मणसहितका जुम्ल्याहा युवाको सोलुको टिम्बुरबोटेमा हत्या भयो।
यसरी तत्कालीन पञ्चायती सरकार आफ्ना विरोधीहरूलाई दबाउन वारेन्ट, धरपकड, जेलनेल र हत्यामा उत्रेको हुँदा परिस्थिति अत्यन्त भयावह बनेको थियो। यो क्रम पछि पनि रोकिएन।
यही क्रममा २०३५ साल चैत्र २७ गते इलामको इभानमा प्रभावशाली कम्युनिस्ट नेता रत्नकुमार बान्तवाको र २०३७ फागुन १२ गते सिन्धुलीको भीमानमा ऋषि देवकोटा आजादको हत्या भयो।
उता २०३६ सालको कार्तिक २६-२९ मा धनकुटाको खोकुछिन्ताङमा १६ जनाको हत्या भयो। यो पञ्चायती निरङ्कुश शासनको चरम दमन र क्रूरताको शृङ्खला थियो। यतिखेर पञ्चायती प्रशासन आत्तिएकाले जेलहरू काङ्ग्रेस-कम्युनिस्टले भरिभराउ भएका थिए भने पक्राउ परेकाहरूमा जेलभित्र दिइने यातनाका साथै जेल सार्ने बहानामा कतिखेर मारिने हो भन्ने त्रास हुने र बाहिर रहेकाहरूमा पनि कतिखेर पक्राउ परिने हो र मारिने हो भन्ने भय रहिरहन्थ्यो। यस्तो अवस्थामा उनले जेलजीवन भोग्नुपरेको थियो।
जेल डायरीमा उल्लेख भएअनुसार उनी पक्राउ परी तेह्रथुम जेलमा ल्याइदा त्यहाँ धनकुटाबाट पक्राउ गरी ल्याइएका प्राध्यापक महेश्वरमान श्रेष्ठ र नेपाली काङ्ग्रेसका जुझारु जुम्ल्याहा युवाहरू राम-लक्ष्मण दाजुभाइमध्येका एक मोरङ कारागारबाट त्यहाँ सरुवा गरी ल्याइएका लक्ष्मण उपाध्याय पनि थिए। राम-लक्ष्मण दुवै भाइ पछि सशस्त्र विद्रोहमा परी वीभत्स किसिमले मारिए।
केही समयपछि २०३० जेठ ३ गते उप्रेतीलाई धनकुटा जेल सारियो। धनकुटा जेल पनि भरिभराउ थियो। त्यहाँ आठराईबाट ल्याइएका थुप्रै युवाहरूका साथै चैनपुरबाट समातिएका शिक्षक वाशु शाक्य र सुनसरीका किसान नेता प्रभुनारायण चौधरी पनि थिए।
यहाँ नेपाली काङ्ग्रेसकी सक्रिय व्यक्तित्व दुर्गा पोखरेलले बाहिरबाट बन्दीहरूलाई गर्नेगरेको सहयोग स्मरणीय रहेको छ। धनकुटा जेल अस्तव्यस्त रहेको हुँदा उप्रेतीसहितका कैदीहरूले जेलसुधारको माग राखेर आन्दोलन सुरु गरेकाले पनि उनलाई २० गते नै फेरि मोरङ कारकार सरुवा गरियो।
उनलाई मोरङ कारागारमा ल्याउनुअघि नै त्यहाँ बी.पीका भाइ नेपाली काङ्ग्रेसका नेता केशवप्रसाद कोइराला (केशु) सहित दर्जनौँ काङ्ग्रेसी युवाहरू बन्दी बनाइएका थिए भने वामपन्थी नेता मनमोहन अधिकारीका साथै पूर्वी पहाड र झापाबाट पक्राउ परेका दर्जनौँ विद्रोही युवाहरू पनि सोही जेलमा राखिएका थिए। पछि महेश्वरमान श्रेष्ठलगायतका बन्दीलाई पनि त्यहीँ ल्याइयो।
उनी मोरङ जेलमा रहँदाका अनेक घटना र प्रसङ्गहरू छन्। यहाँ पनि जेलसुधारका नाममा आन्दोलन भयो। यसले गर्दा फेरि उनीसहित केही बन्दीलाई असार २५ गते नै राजविराज कारागार सरुवा गरियो। यति बेलाको जेल सार्दाको वातावरण र प्रशासनको गतिविधि भने अत्यन्त त्रासमय थियो।
बन्दीहरूले अब भने मृत्युदण्ड दिन नै लगिदैछ भन्ने अनुभूति गरेका थिए तर कसो कसो कारागार नै लगियो। यहाँ भने फराकिलो कारागार र राजबन्दीहरूलाई गरिने व्यवहार अलि भिन्न थियो।
राजविराज जेलमा त्यस वेला दुई सयभन्दा बढी कैदीमा तराई मूलका त्यसमा पनि राजबन्दीभन्दा पनि अन्य अभियोगका बन्दी बढी थिए। हुन त त्यहाँ सप्तरीका प्रजातन्त्रवादी नेताहरू गजेन्द्रनारायण सिंह, रामेश्वरप्रसाद सिंह र रामराजाप्रसाद सिंह तथा वामपन्थी नेताहरू कृष्णराज बर्मा, कमर शाह र गङ्गाबहादुर बस्नेतहरूलाई प्रशासनले पटक पटक बन्दी बनाउँदै छोड्दै गरेको रहेछ।
राजविराज जेलमा उनलाई लगिदा त्यहाँ खोटाङका गोपाल राई र सोलुका अनारसिंह कार्की तथा तेह्रथुम र धनकुटाबाट ल्याइएका लाहानका उही जुम्ल्याहा राम-लक्ष्मण दाजुभाइ अनि तराईकै अनिस अन्सारी र चन्द्रशेखर झा पनि थिए। यसअघि शेखर गिरी पनि त्यहीँबाट छुटेका रहेछन्।
राजविराज जेलमा रहँदा उप्रेतीले एम ए दोस्रो वर्ष र बी.एल पढाइको तयारी गर्न पाएका थिए। त्यहाँ रहेका बन्दीहरू राधेश्याम दली, शालिकराम दाहाल र अशोक कोइराला पनि बी.एल परीक्षाको तयारीमा थिए।
राजविराज जेलमा झन्डै पाँच महिना रहँदाका अनेक दुखकष्ट र घटनालाई उनले यहाँ स्मरण गरेका छन्। यहाँ रहँदा पनि उनीहरूले जेलभित्रका बेथितिका विरुद्ध आन्दोलन गरेका थिए। यसपछि उनले बी.एल परीक्षा दिन माग गरेकाले फेरि उनलाई २०३० साल मंसिर ६ गते मोरङ जेलमै सारियो र त्यहीँबाट उनले बी.एलको परीक्षा दिए।
मोरङ जेल उनका लागि निकै नै अनुकूल रह्यो। त्यहाँ रहँदा उनले मनमोहन अधिकारी र केशव कोइरालाको साथ पाए भने आफन्तसँग भेटघाट गर्न पनि यहाँ उनलाई अनुकूल भयो।
यहीँ उनले जेल परेपछि पहिलोपल्ट आमा र मामासँग भेट गर्ने मौका पाए अनि जेलमा सधैं आइरहने र यो, ऊ नभनी समान रूपमा बन्दीहरूको हेरविचार गर्ने कृष्णप्रसाद कोइरालाकी पत्नी, बीपी, केशव र गिरिजाकी आमा दिव्या कोइरालाको माया र प्रेरणा पनि पाए अनि यहीँबाट बी.एल परीक्षा दिने अवसर पनि उनलाई प्राप्त भयो।
उनले पक्राउ पर्नुअगाडि नै काठमाडौँबाट गुरुहरू बालकृष्ण पोखरेल र भानुभक्त पोखरेलसँगै दिएको एम.ए.पहिलो वर्षको परीक्षामा भने उनी उत्तीर्ण भइसकेका थिए। यसपछि उनी एम. ए दोस्रो वर्षको परीक्षाको तयारीमा रहेकाले र जेलबाट परीक्षा दिने उनी एक जना मात्र परीक्षार्थी भएकाले नेताहरू मनमोहन र केशु दाइको दबाबका कारण उनलाई २०३० फागुन २१ गते काठमाडौँको केन्द्रीय कारागारमा सरुवा गरियो।
केन्द्रीय कारागारमा विभिन्न ठाउँबाट उनीजस्तै एम.ए का परीक्षार्थीलाई ल्याइएको थियो। यसमा नेपाली काङ्ग्रेसका युवा नेता पुरुषोत्तम बस्नेत, ओमकार श्रेष्ठ र श्यामलाल श्रेष्ठ थिए।
वामपन्थी झुकाउ भएका चितवनबाट ल्याइएका पशुपति वाग्ले, श्याम जोशीलगायतका केही युवा चाहिँ स्नातक तहका परीक्षार्थी थिए। यिनीसँगै उप्रेतीले यहीँबाट एम.एम दोस्रो वर्षको परीक्षा दिए।
केन्द्रीय कारागारमा प्रवेश गर्ने वेलामा सुनधारामा तेह्रथुमकै पूर्व सहयात्री ऋतुवर्ण तुम्बाहाम्फे र अर्का जोनदेन उक्याप तत्कालीन दुई अञ्चलाधीशसँगको भेटका कारण उनलाई त्यस कारागारमा बस्न सहज भएको थियो।
यहाँ उनको केन्द्रीय कारागारमा झापा विद्रोहीको आशंकामा झापा जेलबाट सरुवा गरी ल्याइएका तर झापा विद्रोहमा सामेल नभएका रुद्र खरेल र गोलघरमा राखिएका झापाली विद्रोहीहरू मोहनचन्द्र अधिकारी र केपी ओलीसँग पनि भेट भयो।
यही वेला उनले एम.ए.को परीक्षा दिए र पछि उत्तीर्ण पनि भए। जेलमा परीक्षा लिन त्यस वेला राजनीति शास्त्र र कानुनका प्राध्यापक भरतबहादुर कार्की केन्द्राध्यक्ष भएर गएका थिए। यसपछि झापाली कैदी मानिएका उप्रेतीलाई प्रशासनले २०३१ साल वैशाख १७ गते नक्खु जेल सरुवा गर्याे।
नक्खु जेल पनि काङ्ग्रेस कम्युनिस्ट बन्दीले भरिभराउ थियो। त्यहाँ नेपाली काङ्ग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराई, रामहरि जोशी, शेरबहादुर देउवा, रामचन्द्र पौडेल, चिरञ्जीवी वाग्ले, मार्सलजुलुम शाक्य, भीमबहादुर तामाङ, ध्यानगोविन्द रञ्जित, माथवरसिंह बस्नेत, रामशरण महत, पुरुषोत्तम बस्नेत आदि र जनकपुरका दुर्गानन्द झा र भोजपुरका ध्यानवर्ण राई पनि थिए।
त्यस्तै झापाली कैदीहरू पनि त्यहाँ उल्लेख्य मात्रामा थिए। झापाबाट ल्याइएका लीला उदासी र केन्द्रीय कारागारबाट तत्कालै लगिएका रुद्र खरेल र गोविन्द उप्रेती पनि त्यहीँ थिए अनि लाल कम्युनिस्टका रूपमा चिनिने पाका कम्युनिस्ट नेता गङ्गालाल हलुवाई र रोहित समूहसँग सम्बन्धित भक्तपुरका बाबुकाजी वासुकला पनि त्यहाँ थिए।
केही दिनपछि चितवनका वारदातमा गाँसेर त्रिवि पाठ्यक्रम विकास केन्द्रका उपनिर्देशक तथा साहित्यकार आनन्ददेव भट्टसहितका बन्दीलाई पनि वीरगन्ज र केन्द्रीय कारागार सरुवा गर्दै त्यहाँ ल्याइयो।
झापा विद्रोहकै प्रमुख नेता राधाकृष्ण मैनालीलाई केन्द्रीय कारागारमै राखियो भने नारद वाग्लेसहितका एक दर्जन झापाली विद्रोहीलाई त्यहाँ ल्याइएको थियो। अर्का गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंह पनि त्यहीँ थिए।
नक्खु जेल बसाइका क्रममा घटेका थुप्रै सकारात्मक र नकारात्मक घटनालाई यस क्रममा उप्रेतीले उल्लेख गरेका छन्। तीमध्ये उनी त्यहाँ रहँदा घटेको अत्यन्त दर्दनाक घटना राजबन्दीको कहालीलाग्दो बर्बर हत्या थियो।
२०३१ साल असोज १३ गते रातको समयमा जेल सार्ने बहानामा ल्याइएका नेपाली काङ्ग्रेससँग सम्बद्ध सशस्त्र विद्रोहमा संलग्न ओखलढुङ्गाका होनहार चार जना विद्रोहीहरू लीलानाथ दाहाल, ठगिराज दाहाल, खगेन्द्र दाहाल र गोकर्ण कार्कीको नक्खु पाखामा लगी बीभत्स किसिमले हत्या गरियो। यो हत्याकाण्ड पनि पञ्चायती सरकारले गरेको सुखानी हत्याकाण्डजस्तै क्रूर र श्वेत आतङ्क थियो। यसलाई उनले नजिकैबाट देखे।
मोरङ जेलमा रहँदाजस्तै नक्खु जेलमा रहँदा पनि उप्रेतीले जीवन र जगतका बारेमा धेरै कुरा बुझ्ने र ज्ञान प्राप्त गर्ने मौका पाएका थिए। मोरङ कारागारमा मनमोहन अधिकारी र केशव कोइरालासँग तथा नक्खु कारागारमा कृष्णप्रसाद भट्टराई र रामराजाप्रसाद सिंह र अरू राजबन्दीसँगको छलफल र भेटले तत्कालीन युवा उप्रेतीलाई राष्ट्रिय राजनीतक अवस्थाका बारेमा जान्न, बुझ्न तथा नक्खुमै आनन्ददेव भट्ट, रुद्र खरेल र लीला उदासीसँगको भेटमा साहित्यिक छलफल र विचारविमर्श गर्न सहयोग पुगेको थियो।
नक्खु जेलमा दैनिकजसो विचारविमर्श र छलफल हुने गर्थे र समयको सदुपयोग राम्रैसँग हुने गरेको थियो। एक प्रकारले नक्खु कारागार राजनीतिक प्रशिक्षणको केन्द्र नै थियो।
उनको नक्खु कारागारको बसाइ ७ महिना र केही दिनको रह्यो। यसपछि डेढ वर्षको बन्दीजीवन बिताएर २०३१ साल कार्तिक २८ गते उप्रेती अदालतको आदेशबमोजिम नक्खु जेलबाट मुक्त भए। उनले यसअघि नै कानुन व्यवसायी सिन्धुनाथ प्याकुरेल र विश्वकान्त मैनालीको सहयोगमा पूर्वाञ्चल क्षेत्रीय अदालत, धनकुटामा थुनाबाट रिहाइको माग गर्दै मुद्दा दायर गरेका थिए।
नक्खु जेलमा रहँदा मोहनचन्द्र अधिकारी र केपी ओलीलाई समेत स्वयं उप्रेती र अधिवक्ता द्वयले आफ्नो रिहाइका लागि मुद्दा दायर गर्न सल्लाह दिएका थिए तर उनीहरूले अदालतमा कानुनी उपचार खोज्नु प्रतिक्रियावादी सत्तासँग न्यायको भिख माग्नु हो भनेर अदालतबाट उपचार पनि नखोज्ने र बुर्जुवा शिक्षा पनि नलिने अडान राखे।
यस वेला मोहनचन्द्र अधिकारी कला र कानुनमा स्नातक भइसकेका थिए भने केपी ओली एस. एल. सी. मात्र थिए। यसपछि लामो समयको बन्दीजीवन र राजनीतिक व्यस्तताका कारण ओलीले औपचारिक शिक्षा लिन पाएनन् र स्वाध्यायनबाटै आफ्नो प्राज्ञिक स्तर बनाए। उप्रेतीले भने जेलबाटै उच्च शिक्षा आर्जन गरे र कानुनी उपचार पनि खोजेर जेलमुक्त भए।
उपर्युक्त विवरण गङ्गाप्रसाद उप्रेतीद्वारा लिखित ‘बन्दी जीवनका अत्यासलाग्दा कथाहरू’ जेल डायरीभित्रको उनको जेलयात्राको सरसर्ती टिपोट हो। यसमा उक्त विवरणका साथ अनेक सन्दर्भ र मार्मिक प्रसङ्गहरू जोडिएर आएका छन् जो किताब पढेर मात्र सम्पूर्ण रूपमा बुझ्न र अनुभूत गर्न सकिन्छ।
यो कृति लेखक उप्रेतीको बन्दीजीवनको संस्मरणात्मक कथा मात्र होइन, यसमा अरूका पनि कथाव्यथा जोडिएकाले यो एउटा महाख्यान जस्तै नै छ। यसमा आजभन्दा पाँच दशकअगाडिका घटनालाई तिथिमिति सहित यथातथ्य किसिमले तर औपन्यासिक शैलीमा प्रस्तुत गरिएको छ। यो पढ्दा दिक्क नलाग्ने छ र यसले पाठकलाई आकर्षित नगरी छाड्दैन।
झापा विद्रोहमा प्रत्यक्ष संलग्न नभए पनि त्यसकै असरबाट पक्राउ परेका उप्रेतीद्वारा लिखित यस जेल डायरीमा तत्कालीन राज्यसत्ताले चलाएको राज्यआतङ्क र क्रूरताको विवरण त छदै छ साथै उग्रवादी सोचको गलत निर्णयका साथ सुरु गरिएको झापा विद्रोहको मूल्याङ्कन पनि यथार्थरूपमा गरिएको छ जसमा कुनै पूर्वाग्रह भेटिन्न।
काङ्ग्रेसको त कुरै भएन, कम्युनिस्टहरूले कहाँ कहाँ कमजोरी गरे भन्ने कुरा पनि यसमा छ। कृतिमा बन्दीहरूले जेलभित्र पाएका यातना, पीडा र त्रासको मार्मिक प्रस्तुति त हुने नै भयो यसका साथै त्यहाँ भएका अनेक रोचक प्रसङ्ग र घटनाहरू पनि यहाँ आएका छन्।
तेह्रथुम जेलमा रहँदा प्रहरीले गरेको यौनउन्मादको घटना होस् या राजविराजमा भएको जगधर खलिफासँगको कुस्ती होस् वा दसैँमा खान पकाएको मासु बोक्ने साथी सिंढीबाट चिप्लेर लड्दा पोखिएर दसैँ निस्तो भएको घटना होस् अनि जेलको एक जना कैदी वौआले गरेको प्रहसनात्मक नाटक होस् वा मोरङ कारागारमा साथीहरूले झुक्याएर सुगुरको बोसोको भुटुन हालेर पकाएको साग खाएको थाहा पाउँदा वान्ता भएको प्रसङ्ग होस् या केन्द्रीय कारागारमा लखेटिएको ढोडेको सन्दर्भ होस् वा नाङ्गो षड्यन्त्र गरी आठराईमा शिक्षकहरूलाई फसाउन रचिएको आगजनीको घटना र चितवनमा आनन्ददेव भट्ट र झापाका रुद्र खरेललाई समेत त्यही घटनामा फसाउन प्रशासनले रचेका झुटा र फर्जी बैठक पर्दाफास भएका घटना हुन् वा केन्द्रीय कारागारमा ल्याएर गुपचुप राखिएका झापाविद्रोहका मुख्य योजनाकार मोहनचन्द्र अधिकारी र केपी ओलीले जेलमा दिइने खनामा विष हालेर आफूहरूलाई समाप्त गर्ने आशङ्कामा दुई दिनदेखि पानीसम्म नखाई हिरासतको पिटाइ र गोलघरभित्रको बन्धनले निसास्सिएका र निराहार बसेको वेला उनले लगेर बर्नभिटा पानी ख्वाएको प्रसङ्ग होस् वा पश्चिमा शक्तिका उक्साहटमा लागेर तिब्बत स्वतन्त्रताका नाममा चिनविरुद्ध युद्ध गर्न तम्सिएका र नेपाली सेनाले मुस्ताङबाट पक्राउ गरी चिन सरकारलाई सुपुर्दगी गर्न केन्द्रीय कारागारमा राखिएका भगौडा खम्पाहरूले जेलमा हुलदङ्गा गरी भाग्न गरेको असफ प्रयत्न होस् अनि जेलभित्रका जासुसहरूका गलत सूचनाका भरमा प्रहरीले आफ्नो कोठामा वामविद्रोहका महत्त्वपूर्ण सामग्री पाइने आशङ्कामा गरेको खानतलासीको घटना होस्, यस्ता अनेक रोचक प्रसङ्ग यसमा छन्।
यसका साथै जेलभित्र नाइके र भाइनाइके अनि चौकीदारले गर्ने गतिविधि, अमानवीय व्यवहार, विभेद एवं भ्रष्टाचार र कहीँ सहयोग समेत तथा सरकारले दिएको ‘क’ र ‘ख’ श्रेणीको सुविधाले गर्दा कैदीहरूले छुट्टा छुट्टै मेस सञ्चालन गर्नुपरेको समस्या र विभेदलगायतका अनेक पक्ष यसमा वर्णित छन्।
नेपालका कारागारहरूको अवस्था र भोगाइ अनि जेल सार्ने बेलामा उत्पन्न हुने कैदीको मनोविज्ञानको प्रस्तुति यसमा अत्यन्त मार्मिक किसिमको छ। जेलभित्र आफूले र अरू कैदी बन्दीले पाएको यातना र पीडा मात्र होइन, त्यहाँ गरिएका आन्दोलन र राजनीतिक कार्यक्रम तथा मनोरञ्जनको विवरण पनि यसमा छ अनि ठाउँ ठाउँमा लेखक स्वयंको राजनीतिक चेतना, दृष्टिकोण र दर्शनको प्रस्तुति पनि छ।
प्रस्तुत जेल डायरीमा लेखक उप्रेतीको तत्कालीन मनस्थिति र चेतनाको आत्ममूल्याङ्कन रहनुका साथै यस वेलासम्म उनी अविवाहित रहेकाले पत्नीतर्फको कुरै रहेन, आफू जेल पर्दा आमा र परिवारका अरू सदस्यको पारिवारिक मनोदशा र अवस्था कस्तो भयो भन्ने कुराको भने मार्मिक प्रस्तुति छ अनि जेलमा भेट्न आउनेहरूले गरेको सहयोग र तिनप्रतिको कृतज्ञता पनि यसमा छ।
जेलमै माथवरसिंह बस्नेतले ‘पुनर्जागरण’ साप्ताहिकको पहिलो हस्तलिखित अङ्क कृष्णप्रसाद भट्टराईबाट विमोचन गराएको प्रसङ्ग र उनले आफू जेल परेको बेला तत्कालीन ‘मातृभूमि’ साप्ताहिक र यसका सम्पादक गोविन्द वियोगी जसले राजबन्दीका पक्षमा निडरताका साथ लेख्थे, उनले पुर्याएको सहयोगका साथै राजनीतिक नेता र आफन्त अनि अधिवक्ताहरू प्याकुरेल र मैनालीले गरेको सहयोगप्रति पनि कृतज्ञता प्रकट गरिएको छ।
यसमा जेलमा भेटिएका राजबन्दी र थुनुवाको परिचय, आचरण र व्यवहार एवं पृष्ठभूमि मात्र होइन, सकेसम्म उनीहरूले पछि पनि के गरे र गर्दै छन् भन्नेसमेतको विवरण आएकाले यो कृति निकै उपयोगी बनेको छ।
अन्त्यमा लेखक उप्रेतीले जेल बसाइका क्रममा आफूले जतिसुकै कष्टकर जीवन भोग्नुपरेको भए पनि जेलभित्र भोगेका, देखेका र अनुभूत गरेका घटना तथा त्यहाँ रहेका कतिपय नेताहरूबाट पाएको ज्ञान विश्वविद्यालयमा पढेर पनि प्राप्त नहुने अमूल्य शिक्षाको रूपमा प्राप्त भएको उल्लेख गरेका छन्।
उनले यो डायरी पचास वर्षपछि २०८० सालको दसैंतिहार मान्ने क्रममा अमेरिकाको क्यालिफोर्नियामा केही दिन रहेका वेला लेखेका हुन् भने यसलाई शमी साहित्य प्रतिष्ठानले प्रकाशन गरेको हो।
पचास वर्षअघिको कुरालाई ७६ वर्षको उमेरमा लेख्दा पनि यसरी सूक्ष्मताका साथ स्मरण गर्न सक्नु भनेको सामान्य कुरा होइन। यस जेल डायरीले धेरै तथ्यहरूलाई उजागर गरेको छ त्यसैले पनि नेपालीमा लेखिएका जेल डायरीहरूको इतिहासमा यो जेल डायरी एउटा महत्त्वपूर्ण सामग्रीका रूपमा आएको छ।
धेरै पुरानो घटना भए पनि कत्ति पनि तलमाथि नपारी सुरक्षित राखिएको वस्तु झिकेर चलाएजस्तो गरी आफ्नो स्मृतिभण्डारबाट घटनाहरूलाई खरर निकालेर सूक्ष्म अनि प्रवाहपूर्ण भाषाशैलीमा यो कृति लेखिएको छ। वस्तुपरक प्रस्तुति, सन्तुलित विश्लेषण अनि औपन्यासिक लेखनशैलीले गर्दा यो जेल डायरी निकै ज्ञानवर्द्धक, उपयोगी र पठनीय रहेको छ।
२०८१ कार्तिक १, कोजाग्रत पूर्णिमा
१० लेवरेटोर, ग्रिफिङ, ब्रिसबेल, अस्ट्रेलिया
Facebook Comment