पोखरा पुर्‍याइयो रविलाई, आइतबार मात्र अदालत पेस गरिने

प्रहरी कार्यालय कास्कीमा उनका समर्थकको नाराबाजी

डिसी नेपाल
३ कार्तिक २०८१ ७:१८

काठमाडौं। सहकारी ठगी र संगठित अपराध सम्बन्धी आरोपमा शुक्रबार काठमाडौंबाट पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई शनिबार विहान ३ बजे पोखरा पुर्‍याइएको छ।

शुक्रबार साँझ काठमाडौंबाट पक्राउ परेका पूर्वगृहमन्त्री एवं सांसदसमेत रहेका लामिछानेलाई प्रहरीले शनिबार सडक मार्ग हुँदै बिहान ३ बजे पोखरा ल्याइ पुर्‍याएको हो।

सूर्यदर्शन सहकारीसहित सहकारीको साढे ६५ करोड रुपैयाँ भन्दाबढी रकम अपचलन गरी गोर्खा मिडियामा लगेको आरोपमा गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक लामिछानेलाई पक्राउ गरी पोखरा ल्याएपछि स्वास्थ्य परिक्षणपश्चात जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ।

लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा पुर्‍याउने बेला उनका समर्थकहरूले केहीबेर नाराबाजीसहित अवरोध गरेका थिए। कास्की जिल्ला अदालतले प्रहरीलाई शुक्रबार अनुमति दिएसँगै लामिछानेलाई पक्राउ गरेर लगिएको हो।

पोखरा लगिएका लामिछानेलाई शनिबार सार्वजनिक विदा परेकाले अदालत पेस गरिने छैन। उनलाई आइतबार मात्र अदालत पेस गर्ने तयारी प्रहरीको छ।

लामिछानेविरुद्ध सहकारी रकम अपचलन र संगठित अपराध सम्बन्धी मुद्दामा अनुसन्धानका लागि म्याद थप गर्न अदालतसँग अनुमति माग गरिने छ। म्याद थपको अनुमति पाए पछि प्रहरीले लामिछानेविरुद्ध सहकारी रकम ठगी र संगठित अपराधविरुद्ध अनुसन्धान अघि बढाउने छ।

रास्वापालाई प्रचण्डको सान्त्वना

पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने शुक्रबार नै पक्राउ पर्नसक्ने भन्दै सूचना दिएका थिए। शुक्रबार विहान विपक्षी दलहरुको बैठक बोलाएका प्रचण्डले त्यही आजै पक्राउ पर्नसक्ने सूचना दिएका थिए।

शुक्रबार बिहान बानेश्वरस्थित ल्होत्से हलमा प्रचण्डले डाकेको विपक्षी दलहरूको बैठकमा सहकारी प्रकरणमा लामिछानेलाई पक्राउ गर्न सक्ने सूचना पाएको बताएका थिए।

बिहीबारको सत्तारूढ दलको टीआरसीसम्बन्धी छलफल गर्ने बैठकमा प्रचण्डले रवि पक्राउ पर्नसक्ने सूचना पाएको बताएका थिए। त्यसपछि रास्वपाले आफ्ना कार्यकर्तालाई हाइअलर्टमा राखेको थियो।

पक्राउ परेपछि लामिछानेलाई प्रहरीले अब ३४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने जनाएको छ। पोखराको सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेपछि उनका सहकर्मी छविलाल जोशीलाई पनि अदालतले अनुसन्धानका लागि २० दिन म्याद थप गरसँगै ३४ दिन थुनामा राख्ने संकेत मिलेको हो।

असोज १७ गतेदेखि लागु हुने गरी जोशीलाई उक्त समय म्याद थप गरेको हो। योसँगै रवि र छवि दुवै थुनामा रहने भएका छन्। गोर्खा मिडियामा पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको अभियोगमा दर्ता भएको पूरक जाहेरीका आधारमा अनुसन्धानका लागि प्रहरीले रविलाई पक्राउ गरेको हो।

पक्राउ परेका रविलाई आइतबारमात्र कास्की जिल्ला अदालतमा पेस गरिनेछ। शनिबार बिदा भएकाले प्रहरीले आइतबारमात्र उनलाई कास्की जिल्ला अदालतमा पेस गर्नेछ। अदालतमा रविमाथि अनुसन्धानका लागि प्रहरीले समय माग गर्नेछ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीसहितको टोलीले उनीमाथि अनुसन्धान सुरु गर्नेछ। प्रहरीले रविमाथि तीन अभियोगमा अनुसन्धान गर्ने देखिन्छ। यसअघि पक्राउ परेका छविलाल जोशीलाई दाबी गरेका सबै अभियोग रविमाथि पनि अनुसन्धान हुनेछ। र

विलाई सहकारीको रकम संगठित रूपमा ठगी गरेको भन्दै सहकारी ऐन, २०७४ र संगठित अपराध निवारण ऐन, २०६४ ले वर्जित गरेको कसुर र सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि प्रहरीले म्याद माग गर्ने भएको छ।

सूर्यदर्शन सरकारीमा संगठित रूपमा ठगी गरेकाले ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुनेछ। आइतबार रविलाई अदालतमा पेस गरिएपछि सरकारी वकिलहरूले बहस गर्नेछन्। दुवै पक्षको बहसपछि अदालतले अनुसन्धानका लागि प्रहरीलाई उचित समय उपलब्ध गराउने छ।

हालसम्मको अभ्यास हेर्दा सुरुमा पाँचदेखि सात दिन म्याद थप हुने देखिन्छ। उक्त म्याद सकिएपछि फेरि म्याद थपका लागि अदालतमा पेस गरिन्छ। प्रहरीले बयान र अभियोगपत्र जिल्ला सरकारी वकिल कार्यालयलाई नबुझाएसम्म म्याद थपको प्रक्रिया चलिरहन्छ।

सहकारी ठगी र संगठित अपराध गरी ६० दिनसम्म उनलाई यसरी थुनामा राखेर प्रहरीले अनुसन्धान गर्न सक्नेछ। ६० दिन पूरा हुनु अगावै प्रहरीले अनुसन्धान प्रतिवेदनसहित जिल्ला सरकारी वकिलको कार्यालय कास्कीमा बुझाउने छ।

सम्पत्ति शुद्धीकरणमा थप अनुसन्धान गर्न चाहेमा ९० दिनसम्म म्याद थपको माग प्रहरीले गर्न पाउने छ।

त्यसपछि अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय पुग्नेछ। जिल्ला सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदनमा अध्ययन गरेर अभियोग दाबीसहित जिल्ला अदालत कास्कीमा पेस गर्नेछ। जिल्ला अदालतमा अभियोगपत्र पेस भएपछि लामिछानेको थुनछेक बयान अनि बहस सुरु हुनेछ।

अदालतले सुरुमा बयान गराउने छ भने दुवै पक्षको दोहोरो बहस हुनेछ। दुवै पक्षको बहसपछि जिल्ला अदालतले थुनामा पठाउने कि धरौटी माग गर्ने भन्ने निर्णय सुनाउने छ। जिल्ला अदालतले धरौटी माग गरे रवि रिहा हुने छन् भने थुनामा पठाएमा उनी जेलमा जाने छन्।

जिल्लाको आदेशपछि रविलाई त्योभन्दा माथिल्लो तह उच्च र सर्वोच्च जाने बाटो भने खुला हुनेछ। जिल्लाको आदेशविरुद्ध उच्च अदालत पोखरा र उच्च अदालतको आदेश पनि चित्त नबुझे सर्वोच्चसम्म आउने विकल्प रविसँग रहन्छ।

यतिबेला सहकारी ठगी तथा संगठित अपराधमा अनुसन्धानमा सहयोग गर्न सीआईबीको टोली पोखरा पुगेको छ। सूर्यदर्शन सहकारीको बचत गोर्खा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा प्रहरीका पूर्वडीआईजी जोशीलाई काठमाडौंमा पक्राउ गरी कास्की पुर्‍याइएपछि सीआईबीले इन्स्पेक्टर शिशिर थापा र सई रवि घिमिरेलाई पनि पोखरा खटाएको थियो।

अहिले सो टोली पोखरामा रहेको छ। प्रहरीसँगको बयानमा जोशीले आफू सुरुवाती चरणमा गोर्खा मिडियामा सञ्चालक समिति उपाध्यक्ष बनेको र छोटो समयमै लामिछाने र राईबाट अलग भएर बाहिरिएको बताएका थिए।

‘सहकारीको रकम गोर्खा मिडियामा ल्याउने र त्यसको तजबिजी रवि र जीबीबाटै भएको हो, म सुरुवाती चरणमा सञ्चालक समिति उपाध्यक्ष थिएँ, गलत संगतमा परेको बुझेर बेलैमा बाहिरिएँ,जीबीले त सहकारीबाट रकम निकाल्दै आएका हुन्, गोर्खा मिडियामा रकम ल्याएर खर्च गर्ने आइडिया रविकै हो। भव्य नाफा हुन्छ भन्दै पावरप्वाइन्टमा देखाएर जीबीलाई उचाल्ने रवि नै हुन्। रविले जीबीलाई भगवान् नै भनेर उचालेका थिए,’ जोशीले बयानमा भनेका थिए।

छविले भनेजस्तै ग्यालेक्सी टेलिभिजनको उद्घाटनका दिन लामिछानेले आफ्नो कार्यक्रम सिधाकुरामा भनेका थिए, ‘टीभी चलाउने लगानी कहाँबाट आयो भनेर क्याउँक्याउँ क्याउँक्याउँ नगर्नुहोला। यो उद्यम व्यवसाय गरेर, सरकारलाई कर तिरेर कमाएको पैसा हो, त्यो नै लगानी गरेको हो।’

तर अहिले प्रमाणित भएको छ, जीबी र रविले त्यो पैसा काठमाडौं, पोखरा, चितवन, वीरगन्ज र बुटवलका सहकारीबाट ल्याएका थिए। सहकारीबाट कम्पनीमा आएको ६५ करोड ५४ लाख प्रवाह भएको मात्र होइन, सबैजसो रकम लामिछाने आफैंले चेक काटेर खर्च गरेको पनि पुष्टि भएको छ।

तर, नाम, ठेगाना, तस्बिर र हस्ताक्षरसहित खाता खोलेका रवि लामिछाने यो खाताप्रति उत्तरदायी नहुने भन्दै उनी नेतृत्वको पार्टी रास्वपाले आफ्नै कार्यकर्तालाई अन्धकारमा राख्न प्रयास गरिरहेको छ।

गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र तत्कालीन उपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशीले ग्लोबल आईएमई बैंकमा संयुक्त खाता खोली सूर्यदर्शनसहित विभिन्न सहकारीबाट ६५ करोड ५४ लाख लगेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले किटान गरेको छ।

प्रतिवेदनले गोर्खा मिडियाका चार सञ्चालक राई, जोशी, लामिछाने र कुमार रम्तेललाई सहकारी ठगी प्रकरणमा कारबाही गर्न सिफारिस गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *