कांग्रेस-एमालेमाथि खनिए विप्लव

डिसी नेपाल
३ कार्तिक २०८१ १४:२८

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’ ले देशलाई पछाडि फर्काउने दुस्साहस नगर्न नेपाली कांग्रेस र नेकपा (एमाले) लाई चेतावनी दिएका छन्।

शनिबार  चितवनमा आयोजित बेपत्ता योद्धा दण्डपाणि न्यौपानेको स्मृतिमा आयोजित सभालाई सम्बोधन गर्दै उनले संविधान संशोधनमार्फत देशलाई २०४७ सालतिर फर्काउने कोशिस नगर्न भनेका हुन्।

‘विभिन्न खालका चर्चा छन्, यहाँ पछाडि फर्किने । २०४७ साल जन्माउने, यथास्थितिको अवस्था ठीक हो । यो कुरा सही होईन । पछाडि फर्किने दुस्शाहस कसैले नगरे हुन्छ,’ उनले भने।

साथै, अहिले नेपालको राज्यसत्ता किसान, मजदुर, युवाहरु कसैको हातमा नरहेको उनले बताए। नेता विप्लवले किसान, मजदुर, युवाहरुका विरोधीहरुले राज्यसत्ता कब्जा गर्ने प्रयास गरेको उनले बताए।

‘आज नेपालको राज्यसत्तालाई कसले कब्जा गरेको छ ? किसानहरुको हातमा छैन, मजदुरहरुको हातमा छैन, युवाहरुको हातमा छैन। महिला दिदी बहिनी, मधेशी, पहाडीको हातमा छैन। तिनीहरुका विरोधीहरुले राज्यसत्ता कब्जा गर्ने दुस्साहस गर्दैछन्,’ उनले भने।

साथै, उनले माओवादीलाई होच्याउने र आक्षेप लगाउने काम नगर्नसमेत चेतावनी दिए। उनले माओवादी एकतावद्ध भएको खण्डमा पुनः २०४७ साल जन्मिने उनको चेतावनी छ।

‘यो कुरा हामीले राम्रोसँग बुझ्नुपर्छ । आजको दिनमा हामीले बुझ्ने कुरा के हो भने माओवादीलाई एकले अर्कोलाई होच्याउने र आक्षेप लगाउने होइन। यो एकतावद्ध हुन्छ, यो एकतावद्ध भयो भने अर्को २०६४ साल जन्मिन्छ। २०५२ साल त अहिले नभनौं तर ०६४ साल जन्मिन्छ नेपालमा,’ उनले भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *