गाउँको डाक्टर तिलक गुरुङ
ओखलढुंगा जिल्लाको कम्युनिष्ट आन्दोलनमा एउटा इमान्दार,निष्ठावान,सरल,जुझारु क्रान्तिकारी योद्धा अनि ओखलढुंगेली क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको एक निरन्तर अभियान्ताको नाम हो तिलक गुरुङ।
बुबा काशिनाथ गुरुङ र आमा शान्तामाया गुरुङ को कोखबाट बिक्रम संबत १९९२ साल भाद्र १५ गते साबिक रुम्जटार गा बि स वार्ड नं ८ हाल सिद्धिचरण न पा वार्ड नं. ४ मा जन्मनुभएका तिलक गुरुङको बाल्यकाल एउटा सामान्य किसान परिवारमाअत्यन्त दुख,कष्ट,अभाव र कठिन संघर्षको बीचबाट रुम्जटारमै बित्यो।
राणा शासनकाे उत्कर्षको अबस्थासम्म पनि जनताका छोरा-छोरीहरुले सामान्य लेख-पढ गर्नसमेत नपाइने प्रतिबन्धितअबस्थासँग मुकाबिला गर्दै, तत्कालीन अबस्थामा गाउमै पढेर म्याट्रिक पास गर्नुभयो।
तर तत्कालीन समयमा गाउमा प्रयाप्त श्रोत,साधन र अबसरहरु देख्न नसकेपछि जिन्दगिको नयाँ परिभाषा खोज्दै भौतारिँदै जाने क्रममा भारतको आसाम पुग्नुभयो र असाम राइफल भारतीय सेनामा भर्ती भइ फौजी जीवनकाे सुरुवात गर्दै, बन्दुकसँग खेल्न सिक्नुभयो।
संघर्षपूर्ण फौजी जीवनकै क्रममा सन १९६६ मा मणिपुर इन्फाल निवासी मिना गुरुङसंग बैबाहिक जीवनको लगनगाँठो कस्नुभयो। सन १९६७ मा पहिलो सन्तानको रुपमा छोरा जयसन गुरुङको जन्मभयो। तिलक गुरुङको श्रीमती मिना गुरुङ, छोरा जयसन गुरुङ, छोरीहरु सावित्री गुरुङ र हाइटी गुरुङ हुनुहुन्छ।
असंख्य दुख:कष्ट र हण्डर ठक्करहरुसँग जुध्दै, गाँउले परिबेषमा हुर्किएको एउटा साहसी अनि निडर युवा, पारिवारिक बाध्यताको कारण घरछोडेर बिदेसिन्छ अनि रोजिरोटिको निम्ति छिमेकी देशको चोक र गल्लिहरुमा भौतारिँदै-भौतारिँदै,भारतीय सेनाको आसाम राइफलमा भर्ती हुन पुग्छ। अनि काँधमा राइफल बोकेर पेटको निम्ति पराइ भूमिको रक्षार्थ बर्षौंसम्म निरन्तर लडिरहन्छ।
त्यति सरल र सहज थिएन तत्कालीन फौजी जीवनपनि! त्योपनि बिदेशी भूमिमा! त्यति बेलाको संघर्षपूर्ण फौजी जीवनका अत्यन्तै मार्मिक प्रसंगहरु बेला बखतमा बडो कलात्मक अनि रोचक ढंगले हामीहरुलाइ सुनाउने गर्नुहुन्थ्यो। तत्कालीन समयमा भारतमा नक्सालबादी आन्दोलनको तिब्र प्रभाब पनि थियो। नेपालमा पनि भूमिगतरुपमा कम्युनिष्ट पार्टीका गतिबिधिहरु अघि बढिरहेका थिए।
सेना भित्रको विभेद,उत्पिडन र थिचोमिचोको बिरुद्ध उहाँभित्र पनि क्रमश बिद्रोही भावनाको बिकास हुर्कँदै गयो। जसोतसो आसाम राफलसका कठिन चौध बर्षहरु बिताएर निबृत्तिभरणको नजिकै पुगेसकेको फौजी जीवन स्थगित गर्दै,उहाँ पुन:घुमिफिरी रुम्जटार भनेझैं आफ्नै गाउँ रुम्जटार फर्किने निर्णय गर्नुभयो। र, आँफूभित्र हुर्किँदै गएको बिद्रोही भावना र बिकास हुँदै गइरहेको क्रान्तिकारी बिचारको रक्षा र बिकाश गर्दै, सामाजिक अनि राजनैतिक अभियानमा सकृय रहनुभयो।
सैन्य जीवनकै क्रममा जनस्वास्थ सम्बन्धी कम्पाउण्डरको आधारभुत स्वास्थ तालिम लिइ आफ्नो सैन्य युनिटमा कुशलतापूर्बक स्वास्थ्य सेवा प्रबाह गरिसक्नुभएका तिलक गुरुङले गाउँ फर्किएपछि रुम्जटार-७ स्थित भिरखोरेमा सावित्री मेडिकलहल स्थापनागरेर त्यसमार्फत बिपन्न र गरिब गाँउलेहरुको डाक्टरको रुपमा गाउलेहरुलाइ स्वास्थसेवा प्रबहगर्न सुरु गर्नुभयो। त्यसो त त्यतिबेलासम्म नेपालमा पनि भूमिगत रुपमा कम्युनिष्ट पार्टीको प्रभाब र बिस्तार व्यापक रुपमा परिसकेको अबस्था थियो।
तत्कालीन नेकपा मालेको संस्थापक सदस्य एबं झापाली समुहका प्रभाबशाली नेता गोबिन्द न्यौपाने सँग वाहाको भेट भयो। प्राइमरी हेल्थसेण्टर प्रमुख समेत रहेका न्यौपानेसँगको नियमित भेटघाट र छलफलले एकत उहाँभित्र हुर्कँदै गएको बिद्रोही भाबनाले राजनैतिक आकार ग्रहण गर्दै गयो भने अर्को तर्फ तत्कालीन २०२५/०२६ सालको झापाली समूहको गाउफर्क अभियान अन्तर्गत ओखलढुंगा जिल्ला अध्यक्षको जिम्मेवारी समेत लिएर, गाउलेहरुको सेवागर्ने उदेश्यसहित गाउमै स्वास्थ सेवा प्रवाह गर्दै भूमिगत राजनैतिक गतिबिधी र जनसेवाको काममा कृयाशिल हुनुभयो।
त्यसो त तिलक गुरुङ स्वास्थ सम्बन्धी त्यति ठुलो औपचारिक उपाधी हाँसिल गरेको कुनै बिशिष्ठ डक्टर साब भने हैन तर प्रयासले मानिसलाइ निपूर्ण र सफल बनाउछ भनेझै वहाँको कडा मेहनत, निरन्तर प्रयास र दृढ आत्माबिश्वाससहितको लामो अनुभबले थुप्रै बिरामिहरुको सफल उपचार गरेर रोग निको बनाएर घर पठाउनुहुन्थ्यो।
यद्यपि सावित्री मेडिकलहलबाट नजिकैको दूरीमा रहेको जिल्ला अस्पताल रुम्जटार जानछोडेर थुप्रै बिरामीहरु गाउँको आफ्नै प्यारो डाक्टर,डक्टर गुरुङलाई भेट्न सावित्री मेडिकल जाने गरेको र बिराम ठिकभएर खुसी हुँदै घर फर्किएको अनुभव रुम्जटार र आसपासका सेवाग्राहीहरुले रोचक ढंगले सुनाउने गरेका छन्।
कतिपय असाहय र निम्न आयस्तर भएका गरिब दुखी जनताहरुलाइ त्यही राखेर उपचार गरी समस्या हलगरेर घर पठाउनुहुन्थ्यो। यसरी हेर्दा उहाँले सर्बसाधरण र गरिब गाउलेहरुको सेवा त गर्नुनै हुन्थ्यो,सँगसँगै समाजमा भैरहेको शोषण, दमन, अन्याय, उत्पिडन र थिचोमिचोको बिरुद्धमा सर्बहारा बर्गीय क्रान्तिकारी बिचार र भाबनालाइपनि सँग-सँगै प्रवाह गरिरहनुभयो। सावित्री मेडिकल हल छद्मरुपमा त्यसको गतिलो र भरपर्दो माध्यम बनिरहेको थियो।
२०२६ सालमा नेकपा चौमको जिम्मेवारी लिएर,२०३५ सालदेखि नेकपा चौमको नेतृत्व गर्दै तत्कालीन पञ्चायती ब्याबस्थाको बिरुद्धमा जनजागरण अभियान श्रृजना गर्नुभयो।
रुम्जटारले नै हुर्काएको अर्का एक सरल बामपन्थी नेता एवं प्रगतिबादी साहित्यकार डिआर पोखरेलको नेतृत्वमा अजिरमान राई, तिलक गुरुङलगायत नेताहरुको टिमले जिल्लामा क्रान्तिकारी कम्युनिष्ठ आन्दोलनलाइ संगठित गर्दै अफ्ना गतिबिधिहरुअघि बढायो। त्यसैगरि २०४६ सालमा संयुक्त बाममोर्चाको जिल्ला सदस्य हुँदै २०४८ सालमा संयुक्त जनमोर्चाको जिल्ला अध्यक्षको जिम्मेवारी पूरा गर्नु भयो।
२०६० सालमा सजमोको केन्द्रीय सदस्य जस्तो गरिमामय हैसियतको जिम्मेवारी सम्हाल्दै,२०६५ सालमा तत्कालीन नेकपा माओबादी र नेकपा एकताकेन्द्र मशाल बीचमा पार्टी एकीकरणको प्रकृयामा एकीकृत नेकपा माओबादीको किरात राज्य कमिटीको सचिवालय सदस्य हुँदै २०७२ सालमा पुनर्गठित नेकपा माओबादी केन्द्रको जेष्ठ कम्युनिष्ट मञ्चको केन्द्रीय सदस्य एवं केन्द्रीय सल्लाहाकार समिति सदस्यको गरिमामय जिम्मेवारीमा रहेर मृत्यु प्रयान्त पार्टी शुद्धीकरण, सुदृढिकरण र पार्टीलाइ निरन्तर सर्बहाराबादी क्रान्तिकारि बनाइरहनुपर्ने बिषयमा चिन्तित रहँदै, महान शहीदहरुको बलिदानबाट प्राप्त उपलब्धिहरुको रक्षा र बिकास गर्ने क्रममा आफ्ना महत्वपूर्ण सल्लाह र सुझावहरु सहित पार्टी नेतृत्वलाइ हर हम्मेसा झक्झक्याउँदै,महत्वपूर्ण सल्लाहा र सुझावहरु दिँदै दिशानिर्देश गरिरहनुभयो।
जिल्लाको एक इमान्दार, क्रान्तिकारी नेताको रुपमा मैले मेरो बालापनमै अर्थात २०४५/०४६ सालको जनाअन्दोलनको पेरिफेरी बाट तिलक गुरुङको नाम र वाहाको बारेमा सुनेको भएतापनि उहाँसँग मेरो पहिलो औपचारिकभेट चाहिँ म तत्कालीन नेकपा माओबादी पार्टीको पूर्णकालीन कार्यकर्ता बनेर जिल्लाको पुर्बीबेल्टको फिल्ड सम्हाल्न पुग्दा अर्थात कमरेड महेन्द्र श्रेष्ठलाइ संगठानात्मक कामको शिलसिलामा जिल्लाको पुर्बीभेगको जनसम्पर्कमा लिएरजाने क्रममा २०५५ साल श्रावण ४ गते बिहान करिब १० बजे सावित्री मेडिकल हलमा हाम्रो भौतिक रुपमा भेट भयो। केशबहरि ढुङेल, कमरेड प्रयास,महेन्द्र श्रेष्ठ, क मानबहादुर र मसहित हामी तिनजनाको टोलिले उहाँसँग एकआपसमा अभिबादन साटासाट गर्दै एक आपसमा परिचय गर्यौं।
तत्कालीन राज्य सत्ता द्वारा किलो सेरा-२ नामक नरसंहारकारी प्रहरी दमन-अप्रेसन चलाएर गाउँ बस्तीमा व्यापक दमन, धरपकड, देशैभरी नरसंहार र राज्यआतंक मच्चाइरहेको अत्यन्तै जटिल र संक्रनणकालीन अबस्थामा रुम्जटार बिमानस्थलको सुरक्षार्थ खडा गरिएको सेना र प्रहरीको संयुक्त सुरक्षा बेसक्याम्पको केही मिटर मात्र टाढाको दूरीमा एउटा सामाजिक सेवाप्रदायक ब्याबसाय संचालन गरेर समाजसेवासहित जीबिकोपार्जन गर्दै, गाँउका गरिब र बिपन्न जनताबीच क्रान्तिकारी राजनैतिक चेतना संप्रेषण गरिरहेको एउटा क्रान्तिकारी योद्धासँग अभिबादन साटासाट गर्यौं। अनि कशिला हातहरु मिलाउँदै,एकापसमा अंकमाल गर्यौं।
हामीहरूबीच जिल्लाको पूर्बीबेल्ट र प्राय जिल्लाभरिकै तत्कालीन राजनैतिक अबस्था र प्रशासनकाे मुभमेण्टको बारेमा लामो छलफल र समीक्षा हुनुकोसाथै महेन्द्र श्रेष्ठ, कमरेड जीवनलाइ केही समय पूर्बीबेल्टको संगठनात्मक कामको जिम्मेवारीसहित पठाइएको र त्यतै रहनुपर्ने भएकोले उहाको सहजताको निम्ति महत्वपूर्ण सुझाव,सल्लाहाहरु र मार्ग दर्शनकोपनि जरुरी थियो हामीलाइ।
उहाँले पूर्बीबेल्टका दर्जनौं सम्पर्क ब्याक्तिहरुको नाम, ठेगाना,त्याहाको स्थानीय अन्तर्बिरोध र रुटको बारेमा जानकारी गराउँदै, साबधानीपूर्बक संगठनात्मक गतिबिधिहरु बढाउन महत्वपूर्ण सुझाबहरु दिनुभयो। त्यतिमात्र हैन उहाँसँग बसेर घण्टौंसम्म योजनाहरु बनायौं।
तत्कालीन अबस्थामा पूर्वीभेगमा प्रशासन र बिरोधीहरुका गतिबिधिहरुको बारेमा महत्वपूर्ण सूचनापनि लियौं हामीले। साथै आगमी दिनहरुमा खेल्नुपर्ने भूमिकाको बारेमापनि हामीलाइ अत्यन्तै महत्वपूर्ण र सकारात्मक सुझाव र मार्गनिर्देशन गर्नुको साथै नजिकैको होटलमा खाना खुवाएर,बाटोखर्च स्वरुप नगद रकम समेत उपलब्ध गराउँदै हामीलाइ बिदागर्नु भयो। उहाँले उपलब्ध गराउनुभएको नगद पैसाले हालीलाई लामो-लामो अनि जोखिमपूर्ण यात्रामा थुप्रैदिन खाजा खान पुग्यो।
यद्यपि तिलक गुरुङले दिनुभएको नगद रकम हाम्रो निम्ति अत्यन्तै अभाव र बिपदको त्यो घडीमा सातुको फाँकी मात्र हैन सातुको ठूलोपोको पाए जस्तै अनुभूति भएको थियो हामीलाइ।
समान लक्ष,उद्देश्य अनि एउटै आस्था र बिचार भएतापनि फरक राजनैतिक पार्टीको एउटा जिम्मेवार नेताले जनयुद्ध,समग्र क्रान्तिकारी आन्दोलन र योद्धाहरुलाइ आफ्नै सन्तानहरु सम्झिएर हामीहरुप्रति देखाउनु भएको कमरेडली आत्मियता, हार्दिकता, सदासयता, उच्च आत्माबिश्वास, साहस, निर्भिकता अनि जनक्रान्तिप्रतिको निरन्तर चिन्ता तत्कालीन अबस्थामा थोरै मानिसमा मात्र भेटिन्थ्यो। त्यो कुरा मैले उहाँमा पनि पाएको थिएँ।
त्यो भेटघाट,छलफल,आत्मियता र क्रान्तिप्रतिको गहिरो चासो र चिन्तासहितको कमरेडली ब्याबाहारले जनक्रान्तिको एउटा कुशल अभिभाबक भेट्टाएको अनुभुति भयो। उहाँसँगको पहिलो भेटमै पाएको त्यो स्तरको ब्याबाहार,आत्मियता र भाबनात्मक सम्बन्धले सावित्री मेडिकल हल केही क्षण गहिरो भाबनामा डुबेको थियो भन्दा अतियुक्त्ती नहोला। हामी स्तब्ध बन्यौं। म आफूपनि नतमस्तक बने र उहाँप्रति हामीहरु अत्यन्तै ऋणी भएको अनुभूति गरें मैलेपनि।
तत्कालीन राज्यसत्ताको रक्षक आधुनिक हतियारसहितका सेना र प्रहरी हरुको क्याम्प हामीहरुबाट नजिकैको दूरीमा भएतापनि दिउँसोको त्यो उज्यालो समयमा सरकारद्वारा प्रतिबन्धित बिद्रोही कार्यकर्तालाइ केही बेर अल्मल्याएर भलाकुसारी गर्दै, एकापसमा क्रान्तिकारी आन्दोलनको बारेमा छलफल, बहस गर्नेक्रममा कमरेड गुरुङमा देखिएको चासो, चिन्ता, जिज्ञासा र आत्माबिश्वास र हाम्रो सुरक्षा ब्याबस्थाप्रति देखिएको दृढ आत्माबिश्वास र आँट भित्री हृदयदेखि नै सलामगर्न र अनुसरण गर्नपनि लायक थियो। हामीहरुलाइ पनि एउटा ठूलै मोर्चा जितेजस्तो अनुभूती भएको थियो।
तिलक गुरुङलाइ रुम्जटारबासीहरुले मात्र हैन, आसपासका सर्बसाधरणहरुले पनि गाउँको डक्टरको रुपमा चिन्दा रहेछन्। यद्यपि सावित्री मेडिकलको नजिकैको दूरीमा जिल्ला अस्पताल रहेको भएतापनि बिरामीकाे रोग पहिचान गर्ने, उनीहरुसँग भाबनात्मक रुपमा नजिकिँदै, आत्मियता साटासाट गर्दै वास्तविक रोग पहिचानगरी, उनीहरुको अन्तरहृदय सुम्सुम्याएर मनोबैज्ञानिक,भाबनात्मक र भौतिक/ शारीरिक रुपमा पनि उपचार गरि रोग निको पारेर बिरामीको भाबना जित्नसक्ने अदभुत कलापनि थियो उहाँमा।
त्यो उहाँमा अन्त र्निहीत अमूल्य सम्पतिपनि हो। बास्तबमा जनताको प्रतिनिधित्व गर्ने एउटा कम्युनिष्ट क्रान्तिकारी नेतामा हुनुपर्ने साधारण जीवनशैली, जनशैली, जनसम्पर्क र जनसम्बन्धको अद्भुत कला, क्षमता र शैली भएकै कारण कमरेड गुरुङ समाजको अत्यन्तै लोकपृय नेता तथा कुशल समाजसेबिको रुपमा पनि स्थापित हुनुहुन्थ्यो।
त्यतिमात्र हैन गरिब, दुखी र असाहायहरुको गरिबी, अभाब र उनीहरुको भित्रीहृदयको दुखाइले वाहाको हृदयलाइ पनि सजिलै छुने अनि दुखाउने गर्दथ्यो। जसको उदाहारणको रुपमा कुनैसमयमा रुम्जटार माबिमा अध्यान गर्दै गरेका दूरदराजका बिपन्न बालबालिकाले बिहान बेलुकाको छाक टार्न, कपि कलम किन्न,स्कुलको फि तिर्न र घरबेटीलाई घरबहाल तिर्न नसकेर अत्यन्तै भावविह्वल बनेर छटपटाइरहेको अबस्था थाहा पाएपछि आफ्नो औलामा लगाएको सुनको औठी बेचेर ती असहाय बालबालिकाको स्कुलको फि, घरबेटीको बहाल तिरिदिनुभयो भने कपी कलम र खर्चको समेत ब्याबस्था गरेर उनीहरुलाइ सहजरुपले पठन-पाठनको ब्याबस्था मिलाइदिनुभएको घटना स्मरणयोग्य छ। उक्त घटनालाइ पारिबारिक श्रोत र छिमेकीहरुले पनि चर्चा गर्ने गरेका छन्।
त्यसैगरी गरिब,दलित ,जनजाति र बिपन्न बालबालिकाहरुको पठनपाठनको सहजताको निम्ति रुम्जटारस्थित चार्खु आधारभुत बिद्ध्यालयमा दुइ लाख, राज्यलक्ष्मी माबि सानिटारमा दुइ लाख र रुम्जटार माबि रुम्जटारमा १००००० एक लाख गरी अक्षयकोष स्वरुप आर्थिक सहयोग समेत गर्नुभएको घटना पारिबारिक श्रोतले पुष्टि गरेको छ।
विभिन्न संघ-संथाहरुमा अक्षयकोष तथा थुप्रै निकायहरुमा आर्थिक सहयोग गर्नुभएको त्यस्ता धेरै घटनाहरु पाइन्छ। यस्ता कैयन घटनाक्रमहरुलेपनि गरिब, दुखी र असाहायहरुको दुख पीडा र अभाबलाइ देख्दा उहाँको भावना रसाउने गर्दथ्यो भने अर्को तर्फ हृदय घोप्ट्याएर सहयोग गर्ननसक्ने एउटा उदार भावना भएको सामाजिक ब्याक्तिपनि हुनुहुन्थ्यो भन्ने कुरा उहाँको जीवन ब्याबहारले पुष्टि गरिसकेको बुझ्न सकिन्छ। साथै,भावना र बिचार, सिद्धान्त र ब्याबहारको बीच उचित तालमेल र संतुलन मिलाउनसक्ने कुशल नेता र सामाजिक अभियान्ताको रुपमा पनि चिन्न र बुझ्न सकिन्छ।
यसरी उहाँको जीवन ब्याबाहार हेर्दा,पढ्दा र बुझ्दा तिलक गुरुङ एउटा सरल क्रान्तिकारी, सच्चा मार्क्सबादी अनि जनशौली र जनदिशाको भरपुर प्रयोग गर्नसक्ने कुशल क्रान्तिकारी नेता हुनुहुन्थ्यो। तिलक गुरुङ ओखलढुंगेली समग्र कम्युनिष्ट घटकहरुको अभिभावक पनि हुनुहुन्थ्यो।
कम्युनिष्ट पार्टीको नाममा ठूला-ठूला आदर्शका कुराहरुमात्र गर्ने तर ब्याबहारमा जनतासँग कटेर क्रमश बिचार, दर्शन, आदर्श अनि सिद्धान्त र ब्याबहार सबै हिसाबले कतिपय राजनैतिक दल र ब्याक्तिहरु क्रमस स्खलित हुँदै गइरहेको यो अत्यन्तै संक्रमणकालीन र गम्भिर अबस्थामा तिलक गुरुङको जीवनी स्वयं एउटा खुल्ला मार्क्सबादी क्रान्तिकारी किताब हो भन्दा अत्युक्ति नहोला।
मैले सुनेको, देखेको, भेटेको र नजिकबाट संगत गरेको तिलक गुरुङमा सिद्धान्त र ब्याबहारको बीच भेट्भएको नेता अर्थात सिद्धान्त र ब्याबहारको बीच उचित सन्तुलन मिलाउनसकेको नेताको रुपमा पाएँ। सम्पूर्ण राजनैतिक पार्टीहरुका नेता कार्यकर्ताले पढ्न र अनुशरणगर्न
लायक तिलक गुरुङ नामको एउटा खुल्ला मार्क्सबादी किताब अध्ययन गर्न र उहाँको सरल जीवनशैली/जनशैली र जीवन ब्याबहारको अनुसरण गर्न सक्नुपर्दछ।
आधुनिक बिश्वको नक्कल-झक्कलको बाछिट्टाहरुले छोइसकेको रुम्जटारको एउटा लाहुरे संस्कृितिभित्र जन्मिएर हुर्किएको भएतापनि वास्तविक समाजभन्दा पर कुनै रंगिन र रम-झमपूर्ण बाताबरणले कहिल्यै पनि लोभ्याउन, छुन र भुल्याउन नसकेको, ओखलढुंगेली कम्युनिष्टहरुको आस्थाको एउटा सतिशाल,हामस्सबैको अभिभाबक तिलक गुरुङको २०८० साल असार २ गते हृदयघातबाट भएको निधन भयाे।
Facebook Comment