चितुवाको त्रासमा सिमलघारीवासी

डिसी नेपाल
४ कार्तिक २०८१ १८:३०

बाँके। चितुवाले घरमा आएर मानवीय क्षति पुर्‍याउन थालेपछि खजुरा गाउँपालिका–६ सिमलघारीका स्थानीय त्रसित भएका छन्। स्थानीय गिजरा सामुदायिक वनबाट चितुवा बस्तीमा पसरे आक्रमण गर्न थालेपछि स्थानीय त्रसित भएका हुन्।

गत भदौ ३० गते घरबाट स्थानीय वीरन्द्र पुनकी तीन वर्षीया बालिका लक्ष्मी पुनलाई चितुवाले आक्रमण गरी ज्यान लिएपछि सिमलघारीवासी त्रसित बनेका स्थानीय विनोद शाहीले बताए। “चितुवाले यसअघि पनि पटकपटक खोरमा राखेका बाख्रा तान्ने गरेको थियो, अहिले मान्छे तान्न थाल्यो”, उनले भने, “घरको आँगनमा खेल्दै गरेकी बालिकालाई चितुवाले लगेपछि असुरक्षा बढेको छ।”

बालिकाको घरदेखि करिब एक किलोमिटर पश्चिमतर्फको गिजरा सामुदायिक वनको जंगलमा टाउको र एउटा खुट्टा फेला परेको थियो। सिमलघारी बस्ती नजिकै मानखोला किनारमा गिजरा सामुदायिक वन पर्दछ।

मानखोला पारी बर्दिया जिल्लातर्फ ठूलो जंगल रहेकाले राति जंगली जनावर मानव बस्तीमा आउने गरेका खजुरा–६ का वडाध्यक्ष फारुख शेषले बताए। जंगली जनावरका कारण स्थानीयवासी एक्लै हिँडडुल गर्न, घरायसी काममा निस्कन, दाउँरा, घाँस गर्नसमेत डराउनुपर्ने स्थिति आएको उनले उल्लेख गरे।

गिजरा वनबाट दुई चितुवा नियन्त्रणमा लिए पनि स्थानीयको त्रास घटेको छैन। गत भदौमा बालिकाको चितुवाले ज्यान लिएपछि डिभिजन वन कार्यालय बाँकेले गत असोज १ गतेदेखि चितुवा नियन्त्रणमा लिन खोजतलास र नियन्त्रणको कार्य सुरु गरेको थियो।

खोजतलासका क्रममा हालसम्म दुई चितुवा खोरमा परेका डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत राजबहादुर चौधरीले जानकारी दिए। सामुदायिक वनमा अझै पनि चितुवा देखिएकाले स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरिएको उनले बताए।

गत असोज १८ गते र २५ गते दुई चितुवा नियन्त्रणमा लिई चितवन र बर्दिया राष्ट्रिय निकुञ्जमा पठाइएको वरिष्ठ वन अधिकृत चौधरीले बताए। उनका अनुसार चितुवालाई नियन्त्रणमा लिन असोज १ गतेदेखि वन क्षेत्रमा तीन वटा फलामको खोर र वनका पाँच स्थानमा पाँच वटा सिसी क्यामेरा जडान गरी निगरानी गरिएको थियो । उनका अनुसार एक हप्ताभित्र दुई चितुवा नियन्त्रणमा आएका छन् ।

बाँके र बर्दियाको सीमावर्ती क्षेत्र मानखोलाको किनारमा पर्ने गिजरा सामुदायिक वनबाट चितुवा बस्तीमा पसरे आक्रमण गर्न थालेपछि स्थानीय त्रसित हुँदै आएका छन् । दुईवटा चितुवा नियन्त्रणमा आएपछि केही राहत महसुस भएको खजुरा गाउँपालिका अध्यक्ष डम्बर विकले बताए। वन क्षेत्रमा अझै चितुवा रहेकाले खोजी नियन्त्रणमा लिने प्रयास भइरहेको भन्दै उनले स्थानीयलाई आवश्यक सर्तकता अपनाउन आग्रहसमेत गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *