रुसमा हुन लागेको ब्रिक्स सम्मेलनमा ब्राजिलका राष्ट्रपति सहभागी हुन नपाउने

डिसी नेपाल
५ कार्तिक २०८१ १४:३४

काठमाडौं । ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले टाउकोमा लागेको चोटका कारण आफ्नो आगामी रुस भ्रमण रद्द गरेका छन् । उनी रुसमा हुन लागेको ब्रिक्स सम्मेलनमा सहभागी नहुने भएका छन् ।

शनिबार ब्राजिलका राष्ट्रपति आफ्नै घरमा दुर्घटनामा परेका छन् । जसमा उनको टाउकोमा चोट लागेको थियो । लुला डा सिल्भा ब्रिक्स सम्मेलनमा सहभागी हुन आइतबार नै रुस प्रस्थान गर्ने कार्यक्रम थियो ।

‘ब्रिक्स’ पाँच विकासोन्मुख राष्ट्रहरूको समूह हो जसमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका पर्छन्।

ब्राजिलको राजधानी ब्रासिलियाको एक प्रमुख अस्पतालले भनेको छ, “हामीले राष्ट्रपतिलाई तत्कालका लागि लामो दुरीको हवाई यात्रा नगर्न सल्लाह दिएका छौं। अब उनले भिडियो कन्फरेन्स मार्फत यो सम्मेलनमा भाग लिनेछन्।”

स्थानीय सञ्चारमाध्यमले चिकित्सकलाई उद्धृत गर्दै राष्ट्रपति लुला डा सिल्भालाई पाँच वटा टाँका लगाएपछि घर पठाइएको बताएका छन् ।

यसअघि रुसी राष्ट्रपति पुटिनले शुक्रबार ब्राजिलमा आगामी महिना हुने जी–२० सम्मेलनमा सहभागी नहुने बताएका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी अक्टोबर २२ र २३ मा रुसमा हुने ब्रिक्स सम्मेलनमा सहभागी हुने भएका छन् ।

रुसको अध्यक्षतामा काजानमा १६औँ ब्रिक्स सम्मेलन हुँदैछ । रुसमा हुन लागेको १६औं ब्रिक्स शिखर सम्मेलनको नारा ‘समान विश्वव्यापी विकास र सुरक्षाका लागि बहुपक्षीयतालाई बलियो बनाउने’ रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *