अस्ट्रेलियामा राजा चार्ल्सको विरोध, सिनेटरले गरिन् नाराबाजी

डिसी नेपाल
५ कार्तिक २०८१ २०:३५

काठमाडौं। अष्ट्रेलिया भ्रमणमा रहेका बेलायती राजा चार्ल्सको विरोध भएको छ। राजा चार्ल्स सोमबार अस्ट्रेलियाको संसदमा सम्बोधन गर्न पुगेका थिए। यसै क्रममा एक सिनेटर लिडिया थोरपेले राजा चार्ल्सको विरुद्धमा नारा लगाएकी थिइन्। उनले नारा लगाउँदै उनी आफूहरुको राजा नभएको बताएकी थिइन्।

सिनेटर थोरपेले भनिन्, ‘तिमी हत्यारा हौ, तिमीले हाम्रा जनताको नरसंहार गरेका छौ।’ उनले राजा चार्ल्सलाई आफ्नो भूमि, पुर्खाको हड्डी र कलाकृतिहरू मूल निवासीहरूलाई फिर्ता गर्न आग्रह समेत गरेकी थिइन्। साथै सिनेटर लिडियाले बेलायती साम्राज्यले आफ्नो भूमि बर्बाद गरेको भन्दै नारा लगाएकी थिइन्।

राजा चार्ल्सको विरोधमा उत्रिएकी लिडिया परम्परागत लुगा लगाएर संसद पुगेकी थिइन्। नाराबाजीपछि सुरक्षाकर्मीले उनीहरुलाई संसदबाट बाहिर निकालेका थिए। संसदबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै लिडियाले अष्ट्रेलियाको औपचारिक प्रमुख राजा रहुन्जेल बेलायती साम्राज्यको विरोध गरिरहने बताइन्।

उनले अरु देशका राजाले आफूलाई आदेश दिन नसक्ने बताइन्। लिडिया थोरपे अस्ट्रेलियाको भिक्टोरिया राज्यबाट स्वतन्त्र सिनेटर हुन्। उनी बेलायती राजतन्त्रको विरुद्धमा बोल्ने व्यक्तिको रूपमा परिचित छन्।

सन् २०२२ मा सिनेटरको सपथ लिँदा उनले बेलायती राजालाई ‘उपनिवेशिक महामहिम’ भनेर सम्बोधन गरेकी थिइन्। यसपछि उनलाई फेरि सपथ लिन भनिएको थियो।

राजा चार्ल्स क्यान्सरबाट निको भएपछि आफ्नो पहिलो विदेश भ्रमणमा छन्। उनको यो भ्रमणमा उनकी पत्नी रानी क्यामिला पनि साथमा छिन्।

अस्ट्रेलिया सन् १९८६ मा स्वतन्त्र भएको थियो। तर त्यहाँ संवैधानिक राजतन्त्र कायमै छ। अष्ट्रेलियामा बेलायती राजालाई औपचारिक रूपमा राज्यको प्रमुख मानिन्छ। यद्यपि, १९९९ जनमत संग्रहमा अस्ट्रेलियाली जनताले अष्ट्रेलियालाई ब्रिटिश साम्राज्यको डोमिनियन राज्य बनाउने प्रस्तावलाई अस्वीकार गरेका थिए।

सन् २०२२ मा महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि बेलायती साम्राज्यसँगको सम्बन्ध तोड्ने बहसले फेरि गति लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *