त्रिविले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा सोध्ने

डिसी नेपाल
६ कार्तिक २०८१ ७:०१

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी वर्षदेखि स्नातक तहका प्रश्नपत्रहरू नेपाली र अंग्रेजी दुवै भाषामा सोध्ने भएको छ। त्रिविले स्नातक तहअन्तर्गत सबै संकायमा अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र सोध्ने निर्णय गरेको हो।

शिक्षा मन्त्री विद्या भट्टराईले आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्यरूपमा लागू गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागू गर्ने निर्णय भएको उल्लेख गरेकी छन्।

उनले भनेकी छन्, ‘त्रिभुवन विश्वविद्यालयले आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरू तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोधिने निर्णय गरेको छ। उक्त व्यवस्थाअनुसार आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागू गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा पनि लागू गर्ने निर्णय गरेको छ। हाललाई शिक्षा शास्त्र संकाय, मानविकी संकाय, व्यवस्थापन संकाय र कानुन संकायको स्नातक तहको परीक्षामा नेपाली र अंग्रेजी दुवै भाषामा प्रश्नपत्र तयार गरिनेछ।’

त्रिविले यसअघि नै प्रश्नपत्र नेपाली र अंग्रेजीमा सोध्ने तयारी गरेको थियो। त्रिविको प्राज्ञिक परिषद् स्थायी समितिको २०८० चैत १५ गते बसेको बैठकले स्नातक तहका प्रश्नपत्र नेपाली र अंग्रेजी भाषामा अनिवार्य लागू गर्ने निर्णय गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *