जापानका प्रधानमन्त्रीको निवासमा घुसपैठको प्रयास

डिसी नेपाल
६ कार्तिक २०८१ १६:३३

काठमाडौं । जापानको टोकियोमा एक व्यक्तिले प्रधानमन्त्री निवासमा राखिएको ब्यारिकेडमा आफ्नो कारले ठक्कर दिएका छन् ।

यसअघि उनले प्रधानमन्त्रीको लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को कार्यालयमा पनि पेट्रोल बम प्रहार गरेका थिए । जसका कारण त्यहाँ आगलागी भएको थियो । तर, आगो चाँडै नियन्त्रणमा आएको थियो । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

समाचार एजेन्सी एएफपीका अनुसार उक्त व्यक्तिको नाम अत्सुनोबु उसुदा हो। ४९ वर्षका ती पुरुष सैतामा शहरका बासिन्दा हुन् । प्रधानमन्त्री निवासमा आक्रमण गरेपछि उनले प्रहरीतर्फ धुवाँ ग्रेनेड पनि प्रहार गरेका थिए ।

जापानी प्रधानमन्त्रीको घर पार्टी कार्यालयबाट १५ मिनेट मात्र टाढा छ । घटनामा कोही घाइते भएको जानकारी छैन । यस आक्रमणबारे पार्टीले कुनै प्रतिक्रिया दिएको छैन ।

मिडिया रिपोर्टका अनुसार उसुदा चुनाव लड्न चाहन्थे तर चुनाव लड्न चाहिने पैसाको नियमबाट रिसाए । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले यस्तो बताएका हुन् । उनले आणविक संयन्त्रको विरोधमा प्रदर्शनमा पनि भाग लिएका थिए।

जापानमा चुनाव लड्न उम्मेदवारले एउटै निर्वाचन क्षेत्रका लागि ३० लाख येन र क्षेत्रीय ब्लक निर्वाचन क्षेत्रका लागि ६० लाख येन बुझाउनुपर्छ।

अक्टोबर २७ मा जापानमा संसदीय निर्वाचन हुँदैछ । यसअघि भ्रष्टाचार र कर छलीको आरोपका कारण एलडीपीको लोकप्रियता घटेको थियो ।

शिगेरु इसिबा अक्टोबर १ मा जापानको प्रधानमन्त्री बने । त्यसयता उनी निरन्तर पार्टीको छवि सुधार्ने प्रयासमा छन् । यसका लागि पार्टीले भ्रष्टाचारको आरोप लागेका धेरै नेताहरुलाई पनि निष्कासन गरेको छ । तर, तीमध्ये धेरै नेता अहिले स्वतन्त्र भएर चुनाव लड्ने तयारीमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *