सुदूरपश्चिममा ‘सुटिङ खेल’को साख जोगाइरहेका दिलबहादुर

डिसी नेपाल
६ कार्तिक २०८१ २२:१०

घोडाघोडी। विसं २०४१ सालतिर टीकापुरका दिलबहादुर ठकुल्लाको घर नजिकै ३०, ४० जना मानिसको भीड लागिरहेको हुन्थ्यो। के रहेछ भनेर हेर्न जाँदा ‘सुटिङ खेल’ भइरहेको हुन्थ्यो। दिलबहादुरको पनि यसैमा मन बस्यो, पछि त लतै लाग्यो। उनको लगाव देखेर तत्कालीन प्रशिक्षक रामराज खरेलले खेलमा प्रवेश गराए। ‘त्यसपछि नै हो मेरो व्यावसायिक सुटिङ खेलजीवन सुरु भएको। सुदूरपश्चिममा पनि त्यति बेलादेखि नै खेल भित्रिएको हो”, दिलबहादुर ठकुल्लाले भने।

विसं २०४१ देखि निरन्तर यो खेलमा लागिरहेका उनले पछि प्रशिक्षककै जिम्मेवारी पाए। “लहलहैमा यस खेलमा लागियो, करिब १७ वर्षपछि आफैँले खेल सिकाउने जिम्मेवारी पो आयो। विसं २०५८ देखि प्रशिक्षकका रूपमा रहेर खेल सिकाइरहेको छु”, उनी भन्छन्,“ सुदूरपश्चिममा हामी दुई जनामात्र प्रशिक्षक छौँ, एउटा म र अर्को महेन्द्रनगरका जनक चन्द।”

२३ वर्षदेखि दिलबहादुरले सुदूरपश्चिममा सुटिङ खेललाई जोगाई रहेका छन् तर यस खेलप्रतिको मोह हराउँदै गएकामा उनी खिन्न छन्। “हालसम्म त हामीले धानिरहेका छौँ तर अब सुटिङ खेल जोगाउनै समस्या छ। पहिले खेलाडी आफैँ आउँथे अहिले खोजेर जबरजस्ती ल्याउनुपर्छ। खेलबारे धेरै मान्छे जानकार पनि छैनन् । सुटिङ सिकाउँछुभन्दा फिल्मको सुटिङ हो कि भनेर बुझ्ने गर्छन्”, उनले सुनाए, “यो महँगो खेल हो। खेलका लागि छुट्टै ड्रेस, बन्दुक, राईफल, पेस्तोल गोलीलगायतका सामग्री आवश्यक पर्छन्। खेलाडीले सामग्री किन्न लाखौँ लाग्ने गर्छ। त्यसैले पनि यसप्रतिको मोह हराउँदै गएको हो।”

ठकुल्ला सरकारले पनि यो खेललाई बेवास्ता र उपेक्षा गर्दा थप समस्या भइरहेको बताउँछन्। खेलाडीलाई प्रोत्साहन, लगानी, पूर्वाधार नभएको र आफ्नै लगानीमा खेल्नुपर्ने बाध्यताका कारण खेलमा आकर्षण घट्दै गएको उनको भनाइ छ। “सुरुआतदेखि नै निःशुल्क रूपमा नै खेल जोगाउनका लागि लागिपरेको छु”, उनले भने, “आत्मसम्मान र खुसीका लागि लागेको छु। सामग्री र राम्रो पूर्वाधारको मात्रै व्यवस्था भइदिएको भए हुन्थ्यो भन्ने लाग्छ।”

गत जेठ २१ गते भएको राष्ट्रिय सुटिङ खेलमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गरेर गएका सुनिल चन्द राइफलमा प्रथम र टीकापुरका महेन्द्रविक्रम रावल पेस्तोलमा तेस्रो भए। त्यसबेला मुख्य प्रशिक्षकका रूपमा ठकुल्लाले नै भूमिका खेलेका थिए। उनी भन्छन्, “हामीसँग केही नहुँदा त यहाँसम्म पुग्यौँ, खेल पूर्वाधार, लगानी र सामग्री भइदिएको भए यस खेलमार्फत सुदूरपश्चिमलाई धेरैमाथि उठाउन सकिन्थ्यो।”

यस खेलमा सम्भावना नभएको पनि होइन, राम्रो गर्न सके राष्ट्रिय खेलमा सहभागी भएका खेलाडी विभागीय टोलीले लिने गर्छन्। प्रथमदेखि सातौँ आठौँ स्थान हासिल गरेकासम्मलाई समेत विभागीय टोलीले टिमले लिने गरेको ठकुल्लाले बताए। गत जेठ २१ म प्रथम भएका सुनिल र महेन्द्र एपिएफमा आबद्ध भइसकेका र सातौँ भएकी टीकापुरकै पूजा घर्तीलाई पनि सोही टोलीले लिने गरी कुरा भइरहेको उनले जानकारी दिए।

प्रशिक्षक ठकुल्लाले सरकारले सहयोग गरेमा सुदूपश्चिमबाट धेरै खेलाडी उत्पादन र राष्ट्रियस्तरमा राम्रो नतिजा हासिल गर्न सकिने बताए। “अब केही समयमा राष्ट्रिय खेल हुँदैछ, १४ जनालाई प्रशिक्षण दिने तयारी गरिरहेको छु तर हामीसँग आवश्यक सामग्री र पूर्वाधार छैनन्। खेल सिकाउनका लागि टीकापुरमा १० मिटरको ‘सुटिङ रेञ्ज’ स्थापना गरिएको छ। त्यो पनि काम चलाउ अवस्थामा मात्रै छ। यदी स्थानीय र अन्य सरकारले सहयोग गरेको भए त सुदूरपश्चिमकै नाम रोशन हुन्थ्यो, त्यो गर्न सक्छौँ भन्ने हामीलाई विश्वास छ”, उनले भने।

हाल टीकापुरमा सशस्त्र प्रहरी बलको तालिम केन्द्र छ। त्यहाँ पनि प्रशिक्षणका लागि जंगलमा जाने गरिएको छ। प्रशिक्षक ठकुल्ला भन्छन्,“यदि यही सुटिङ रेन्जलाई व्यवस्थित गरेको भए त प्रहरीलाई पनि सहज हुने थियो, खेलाडी उत्पादनलाई पनि सहयोग पुग्ने थियो।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *