चक्रवाती आँधी दाना आज पश्चिम बंगालमा ठोक्किँदै, पूर्वी नेपालमा प्रभाव पर्ने

डिसी नेपाल
८ कार्तिक २०८१ १५:१७

काठमाडौं । चक्रवाती आँधी दाना बिहीबार पश्चिम बंगाल र ओडिशाको तटमा पुग्ने सम्भावना छ। यसैलाई मध्यनजर गर्दै दुवै प्रदेशका प्रशासन तयारीमा जुटेका छन् ।

भारतीय मौसम विज्ञान विभागका निर्देशक मनोरमा मोहन्तीले दाना आँधीबारे जानकारी दिएका छन् ।

उनले भने, ‘दाना आँधीले गत राति घातक चक्रवाती आँधीको रुप लिएको छ र विगत ६ घण्टादेखि १२ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तर–पश्चिम दिशामा सरेको छ ।

मनोरमा मोहन्तीका अनुसार दाना आँधी अहिले मध्य र उत्तर-पश्चिम बंगालको खाडीमा ओडिशाको पराद्वीपबाट २६० किलोमिटर दक्षिण-पश्चिममा रहेको छ।

उनले उत्तरपश्चिमबाट उत्तरी ओडिशा र पश्चिम बंगालतर्फ सर्ने सम्भावना रहेको बताए । ‘दाना’ आँधीले बिहीबार साँझ तटीय क्षेत्रमा ठूलो चक्रवाती आँधी आउन सक्नेछ । यस अवधिमा यसको गति १०० देखि ११० किलोमिटर प्रतिघण्टा हुनेछ।

मौसम विभागका निर्देशकले भने , “मयुरभञ्ज, भद्रक, बालेश्वर, केन्द्रपारा, जाजपुर, जगतसिंहपुर, कटकमा भारी वर्षाको लागि रेड अलर्ट जारी गरिएको छ। पुरी, खोर्दा, नयागढ, ढेनकनाल र केन्दोझार जिल्लामा ओरेन्ज अलर्ट जारी गरिएको छ।”

पश्चिम बंगाल सरकारले नौ जिल्लाका सबै विद्यालय बन्द राख्न निर्देशन दिएको छ ।

जिल्ला प्रशासनले माछा मार्नेहरुलाई समुन्द्रमा नजान आग्रह गरेको छ । यसअघि समुन्द्रमा गएका माछा मार्नेहरुलाई फिर्ता बोलाइएको छ । तटीय क्षेत्रमा माइकमार्फत सर्वसाधारणलाई सचेत गराइएको छ ।

ओडिशाको प्रसिद्ध पर्यटकीय गन्तव्य पुरीबाट मंगलबार पर्यटकलाई बाहिर निकालिएको छ । पहिले नै बुकिङ गरिसकेका पर्यटकहरूलाई पुरीमा प्रवेश निषेध गरिएको छ।

प्रदेशका १४ जिल्लाका सबै विद्यालय २३ गतेदेखि २५ गतेसम्म बन्द रहनेछन् । दानालाई ध्यानमा राख्दै राष्ट्रपति द्रौपदी मुर्मुको भ्रमण पनि स्थगित गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *