भारतले विमानमा झुटो बम धम्कीको समस्या समाधान गर्न मेटा र एक्ससँग माग्यो सहयोग

डिसी नेपाल
९ कार्तिक २०८१ ७:५०

काठमाडौं। भारत सरकारले विमानमा झुटो बम धम्की फोन र सन्देशलाई गम्भीरतापूर्वक लिँदै संलग्न व्यक्तिहरूको पहिचान गर्न कारबाही थालेको छ।

भारतीय मिडियाहरुले भारत सरकारले मेटा र एक्स जस्ता सोशल मिडिया प्लेटफर्महरूलाई त्यस्ता कल र सन्देशहरूको जानकारी साझा गर्न अनुरोध गरेको उल्लेख गरेका छन्।

सरकारले यी फेक कलहरू जनताका लागि खतरा भएको भन्दै त्यसको पहिचान गर्न बहुराष्ट्रिय प्रविधि कम्पनीहरूसँग पनि सहयोग मागेको जनाइएको छ।

उडानलाई लक्षित गरी बम विष्फोट गर्ने झुटो फोन गर्ने केही व्यक्तिको पहिचान भइसकेको र यस सम्बन्धमा आवश्यक कारबाही भइरहेको रिपोर्टमा उल्लेख छ। यद्यपी सरकारले यी झुटा कल र म्यासेज कहाँबाट आएको हो र यसको पछाडि कसको हात छ भन्ने स्पष्ट गरेको छैन।

सरकारले मेटा र एक्सलाई यी गलत कल र सन्देशहरूसँग सम्बन्धित डाटा साझेदारी गर्न अनुरोध गरेको छ। यो विषय जनताको बृहत्तर हितमा भएकाले यी कम्पनीले सहयोग गर्नुपर्ने भन्दै यी जानकारी साझा गर्न भारत सरकारले आग्रह गरको छ। केही सातादेखि भारतमा धेरै उडानहरूले बम राखिएको बारे गलत कल र सन्देशहरू आएपछि सयौं उडान प्रभावित भएका छन्।

पछिल्लो नौ दिनमा भारतका १७० भन्दा बढी उडानलाई यस्तो धम्की आएको बताइएको छ। जसमा केही अन्तर्राष्ट्रिय उडानहरू पनि समावेश रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *