‘हेर्ने कथा’का प्रकाशको दोस्रो संस्करण : २ दशकदेखि परिवारबाट बिछोडिएका राजेशको परिवार भेटियो

डिसी नेपाल
९ कार्तिक २०८१ १०:३८

काठमाडौं । ‘हेर्ने कथा’ नामको टेलिभिजन शोको सहयोगमा विछोडिएको वर्षौंपछि आफ्नो परिवारसँग पुनर्मिलन भएका भोजपुरका प्रकाश तामाङको कथा धेरैको मनमा अझै ताजै छ । यो कथाले धेरैका आँखा रसाएका थिए । त्यतिमात्र होइन यो कथाले दुरुस्तै आफूजस्तै अर्को कथा पनि जन्माएको छ । दुई दशकभन्दा पहिले परिवारबाट बिछोडिएर पाल्पा पुगेका अर्का एक युवा पनि आफ्नो परिवारसँग भेटिएका छन् ।

दुई दशकअघि परिवारबाट बिछोडिएर पाल्पाको खस्यौली पुगेका र त्यहीँ बसिरहेका मोरङका राजेश न्यौपानेको पनि आफ्नो परिवारसँग पुनर्मिलन भएको छ । राजेश दुई दशकभन्दा लामो समयदेखि पाल्पाको रिब्दीकोट गाउँपालिका–३ खस्यौलीमा स्थानीय शिक्षक गोपालजंग रायमाझीको परिवारसँग बस्दै आएका थिए । राजेश पथरी शनिश्चरे नगरपालिका–६ मोरङका भएको खुलेको छ र त्यहाँ उनका परिवार पनि भेटिएका छन् ।

हेर्ने कथामा प्रकाश तामाङको परिवारसँगको पुनर्मिलनको कथा देखेपछि राजेशलाई आफ्नो परिवार भेट्ने आशा पलाएको थियो । स्थानीय मिडिया र अभियन्ताहरुले राजेशको कथा मिडिया र सामाजिक संजालमा शेयर गर्न थालेपछि उनको परिवार खोज्ने अभियानले गति लिएको थियो । यस क्रममा सामाजिक संजालमा चर्चित अनुहारहरुले पनि राजेशको कथा शेयर गर्दै गए । जसको फलस्वरुप उनको परिवार भेटिएको हो ।

राजेशलाई आफू पाल्पा कसरी आएँ भन्ने सम्झना थिएन । कलिलै उमेरमा गाडी चढेर खस्यौली पुगेका उनलाई स्थानीय धनवीर रायमाझीले भेटेका थिए । रायमाझीले उनलाई घर परिवारबारे सोधेका थिए तर उनले बताउन सकेनन् । नाम भने राजेश न्यौपाने बताएका थिए । परिवारबाट बिछोडिएका कलिला बालकलाई बेवारिसे अवस्थामा भेटेपछि रायमाझीले उनलाई आफ्नो परिवारसँगै राखे । दुई दशकभन्दा लामो समयदेखि उनी रायमाझी परिवारको साथमै बसिरहेका थिए ।

राजेशलाई संरक्षण दिने धनवीरको निधन भइसकेको छ । अहिले उनको संरक्षण धनवीरका छोरा गोपालजंग रायमाझी र उनकी पत्नी रुपा रायमाझीले गरिरहेका छन् । गोपालजंग र रुपा स्थानीय विद्यालयमा शिक्षक छन् । राजेशको उमेर पुगेको भए पनि पितृत्वको ठेगान नखुलेका कारण उनले नागरिकता समेत पाउन सकेका थिएनन् । उनको परिवार खोज्ने अभियान चलेपछि भने उनको परिवार भेटिएको छ ।

राजेशको कथा चर्चित भएपछि उनलाई पथरी शनिश्चरे–६ का जीवन न्यौपानेले आफ्नो सहोदर दाजुको रुपमा पहिचान गरेका थिए । जीवनले पहिचान गरेर आफ्नो वडालाई पहल गरिदिन भनेपछि पथरी शनिश्चरे ६ नम्बर वडाले पाल्पाको रिब्दीकोट गाउँवालिका ३ नम्बर वडालाई पत्राचार गरेको थियो । जीवनका अनुसार उनका दाजुको बोलाउने नाम राजेश र न्वारनको नाम टेकनाथ हो ।

मोरङबाट पत्र आएपछि रिब्दीकोट गाउँपालिकाले राजेशलाई परिवारको घरमा पठाउने व्यवस्था मिलाएको छ । पालिकाले मोरङको वडालाई पत्राचार गर्दै राजेशलाई उनका भाइ जीवन न्यौपाने, बुहारी रिजु न्यौपाने, मामाकी छोरी जानुका फुयाल श्रेष्ठ र छिमेकी सिता पौडेलको जिम्मा लगाइदिन र उनी घर पुगेको जानकारी समेत गराउन भन्दै पथरी शनिश्चरे नगरपालिका ६ नम्बर वडालाई पत्राचारसमेत गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *