‘ह्रस्व दीर्घ’को विदेश राइट्स बिक्री, कार्तिक ३० मा नेपाली र हिन्दीमा रिलिज हुने

डिसी नेपाल
९ कार्तिक २०८१ १२:३८

काठमाडाैं। अभिनेत्री नीता ढुंगानाको लगानीमा निर्माण भएको सिनेमा ‘ह्रस्व दीर्घ’ नेपालमा नेपाली हिन्दी भाषामा एकै दिन रिलिज हुने भएको छ। शुक्रबार निर्माण टिमले सेभेन सिज इन्टरटेनमेन्टलाई विदेश राइट् बेच्दै सिनेमा नेपालमा कार्तिक ३० गते नेपालीसँगै हिन्दी भाषामा पनि प्रदर्शन हुने जानकारी दिएको हो।

सिनेमा विदेशमा भने एक हप्तापछि अर्थात् मंसिर ७ गतेबाट नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुने जानकारी निर्मात्री नीता ढुंगानाले बताइन् । सिनेमाको विदेश रिलिजको हिन्दी रिलिज अधिकार पनि सेभेन सिजले नै खरिद गरेको हो । यो कम्पनिका सञ्चालक मध्येका एक विनोद पौडेलले ह्रस्व दीर्घ विदेशमा बक्सअफिस नै रिलिज हुने जानकारी दिए ।

नेपाली र हिन्दीमा रिलिज भएको दुई महिना पश्चात यो सिनेमा तेलुगु भाषामा पनि रिलिज गर्ने तयारी भैरहेको अभिनेता हरिहर अधिकारीले बताए । हाम्रो सिनेमाका धेरै दक्षिण भारतीय र बलिउड कलाकारले अभिनय गरेकाले पनि नेपालीसँगै हिन्दी र तेलुगु भाषामा हामीले ह्रस्व दीर्घलाई भारतमा प्रथामिकताका साथ रिलिज गदैछौं । भारतीय वितरकले पनि सिनेमाप्रति राम्रो चासो देखाएको हरिहरले बताए।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन्। सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।

सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली सिनेमा हो ।

अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो सिनेमा नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ । विजय वस्यालले पोस्टर डिजाइन गरेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *