नेपालका अगाडि घरेलु मैदानमा भारतलाई रोक्ने चुनौती

डिसी नेपाल
११ कार्तिक २०८१ १०:४४

काठमाडौं। काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा आज नेपालले भारतको सामना गर्दै छ। सेमिफाइनल खेल नेपाल र भारतबीच साँझ साढे ६ बजेदेखि शुरु हुने छ।

यस पटक पनि २०२२ को साफ सेमिफाइनल दोहोरिने भएको छ। सो सेमिफाइनलमा नेपालले भारतमाथि १-० को जित निकालेको थियो। आजको खेलमा पनि नेपालले भारतमाथि घरेलु मैदानको फाइदा उठाउदै जित निकाल्ने लक्ष्यका साथ मैदानमा जाने छ।

जारी साफको समूह ए बाट बंगलादेश र भारत सेमिफाइनलमा पुगेका छन् भने समूह बी बाट नेपाल र भुटान सेमिफाइनलमा पुगेका हुन्।

बंगलादेश समुह ए मा २ खेलमा ४ अंक हासिल गर्दै समूह विजेता बनेर सेमिफाइनल खेल्ने भएको हो। बंगलादेशले पाकिस्तानसँग १-१ को बराबरी खेलेको थियो भने भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै समूह विजेता बनेको थियो। त्यस्तै भारतले भने पाकिस्तानविरुद्ध ५-२ को जित निकालेको थियो। त्यस्तै समूह ए बाट पाकिस्तान भने तेस्रो हुदै समुह चरणबाट बाहिरिएको थियो।

त्यस्तै समूह बी मा भने नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा पुगेको छ। नेपालले ३ खेलमा ७ अंक हासिल गरेको छ। नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई ११-० ले र तेस्रो खेलमा श्रीलंकालाई ६-० ले पराजित गरेको थियो। नेपालले तिन खेलमा कुल १७ गोल गर्‍याे भने कुनै गोल खाएको छैन।

त्यस्तै भुटान भने ३ खेलमा ७ अंकनै हासिल गर्दै गोल अन्तरको आधारमा नेपालभन्दा पछि परेपछि उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ। भुटानले पहिलो खेलमा नेपालसँग गोल रहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ४-१ ले र तेस्रो खेलमा माल्दिभ्सलाई १३-० ले पराजित गरेको थियो।

यस अघि खेलेका ६ साफ च्याम्पियनसिपमा नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन। तर नेपाल ६ मध्ये ५ पटक उपविजेता बनेको छ। जसमा चार पटक फाइनलमा भारतसँग पराजित भएको छ। पछिल्ला दुई साफमा नेपाल घरेलु मैदानमै फाइनलमा २०१९ मा भारतसँग र २०२२ मा बंगलादेशसँग फाइनलमा पराजित भएको थियो।

तर यस पटक नेपालको दाबेदारी यसअघि भन्दा बलियो मानिन्छ। नेपालकी प्रमुख खेलाडी सावित्रा भण्डारी साम्बाको युरोपियन क्लबको एक्सपोजरले उनलाई थप परिपक्क बनाएको उनको पछिल्लो खेलबाट देख्न सकिन्छ। उनले गोल गर्ने मात्र होइन गोल गर्ने अवस्था सिर्जना गर्ने कला विकास गरेको देख्न सकिन्छ।

त्यस्तै नेपाली राष्ट्रिय टिममा आफ्नो भूमिकालाई पछिल्लो समय सशक्त बनाएकी खेलाडी हुन् रेखा पौडेल। साबित्राको अनुपस्थितिमा पनि नेपाललाई जित दिलाउने क्षमता रेखाले बनाएकी छन्। उनको मिडफिल्डमा विपक्षीलाई छलाउने कला र आक्रमणको शैलीले नेपाली टिमलाई थप बलियो बनेको छ। युएईको आबुधाबी कन्ट्री क्लबबाट हाल खेलिरहेकी रेखाको त्यो अनुभवले राष्ट्रिय टिममा भूमिका बढेको उनको खेलबाट स्पष्ट देखिन्छ।

त्यस्तै नेपाली महिला टिम र भारतबीच अहिलेसम्म १७ खेल भएका छन्। जसमा भारतले ११ खेल जितेको छ भने नेपालले २ खेल मात्र जितेको छ।
त्यसैगरी ४ खेल बराबरी भएका छन्। नेपालले पछिल्लो २०२२ को साफ सेमिफाइनलमा भारतलाई पराजित गरेपछि खेलेका थप २ खेलमा हार बेहोरेको छैन। नेपालले सन् २०२२ मा चेन्नाईमा भएको दुई मैत्रीपूर्ण खेलमा भारतलाई बराबरीमा रोकेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *