कविता : मैले जवाफ पाउँ

प्रकाशचन्द्र खतिवडा
११ कार्तिक २०८१ ११:०१

श्रीमान , सभामुख ज्यू,
विषय: सदन स्थगन सम्बन्धमा
महोदय,
उपरोक्त सम्बन्धमा

विपक्षी दलको सांसद
छत्रपति शर्मा , कञ्चनपुर

शून्य समयमा छु
यहाँको ध्यानाकर्षकण होस्

बोल्ने अनुमति चाहान्छु
देश लयमा छैन
सत्ताको छिना झप्टी छ
संसद
बकम्फुसे गफहरुको केन्द्र बनेको छ
जनजीविकाका सवालहरु
कोही उठाउँनै चाहाँदैन
देश लुटिएको लुटिएै छ
सीमा स्तम्भको निगरानी खै ?
सीमा स्तम्भ वेपत्ता छन
सुरक्षा बल के हेर्दै छ ?
कालापानी, लिम्पियाधुरा र लिपु लेक
हाम्रो भूगोल भई सक्यो त ?
निर्मला पन्तहरुको चीत्कार सुनेरै पनि
न्याय दिने निकाय मौन छ
अबोध बालबालिका
सडक चहार्न विवश छन
यता देश
तामाझामका साथ बाल दिवस मनाई रहेकै छ
बाढी पहिरोले
सयौँ मृत्यु र वेघरबार हुँदा पनि
राहतको उचित प्याकेज छैन
औषधीमा समेत कमिशन खान्छौ
स्वाश्थ्य मन्त्रालय
औषधी विभाग मौन किन ?
औषधी टेन्डरमै धाँधली गरिएको छ
महङ्गी आकाशिएको छ
नियमन गर्ने निकाय
शायद
गृह मन्त्रालय
वाणिज्य तथा आपूर्ति मन्त्रालय
वाणिज्य विभाग
बजार महाशाखा
एक अर्कामा काँध बोकाएर
तै चूप, मै चूप छन
सत्ता विदेश भ्रमणमा छ
लर्को, सर्को जम्बो टोली लिएर
देशको सम्पत्ति दोहन भै रहेकै छ
लाज शरम पचाएर
वैदेशिक रोजगारबाट
रेमिट्यान्श भित्रिएको फूँइ धस्दै
गर्वका साथ छाती पिटिइएको छ
अपाङ्ग, घाइते र बेपत्ताको नाममा
अरबौ रुपयाँ खर्चदा पनि
समस्या ज्यूँ का, त्यूँ छ
शहीद परिवारको विचल्ली छ
शहीदको नामको राहत
कागज मिलाएर
अर्कैले चप्काएको छ
सुकुम्बासी आयोग भत्ता खान्छ
सुकुम्बासी समस्या हल भएन किन ?
सभामुख महोदय !
यसको जवाफ को संग छ ?
विपिन जोशीहरु वेखबर छन
रुस, युक्रेन युद्ध चलिरहेकै छ
दर्जनौ युवाले ज्यान बलिदान गर्दा पनि
सरकार मौन छ
कुनै कुटनैतिक पहल छैन
संसदमा
विपक्षी दललाई
रौ बराबर पनि गनिएको छैन
पूर्वबाटै घाम उदाउँछ भन्दा पनि
हैन, पश्चिमबाट उदाउँछ भनिएको छ
लेन देन होलानि त हजुर
तपाई आफ्नो बाटो लाग्नोस
म मेरै बाटो लाग्छु
खसीको टाउको झुन्डाएर
कुकुरको मासु बेचि बस्नोस
सभामुख माहोय 
अब भन्नोस
यस्तो संसदको के नै काम छ र ?
यसर्थ
रुलिङ् गरियोस
सदन स्थगित हुनै पर्छ
यो विपक्षी दलको अडान हो
सभामुख महोदय !
अन्यथा भए क्षमा पाउँ
अन्याय भए न्याय पाउँ
देश कसरी चलाउने हो ?
ओ! शीर्ष नेताहरु
मैले जवाफ पाउँ ।

सुन्दरहरैंचा–६, दुलारी, मोरङ

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *