गाजाको उत्तरी भागमा जारी युद्धलाई संयुक्त राष्ट्रसंघले सबैभन्दा कालो अवधि भन्यो

डिसी नेपाल
११ कार्तिक २०८१ १२:००

काठमाडौं । संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले उत्तरी गाजामा जारी लडाइँ इजरायल–हमास युद्धको ‘कालो चरण’ भएको बताएका छन् ।

इजरायलले हमास लडाकुहरूलाई संगठित हुनबाट रोक्न यी क्षेत्रमा जमिन आक्रमण गरिरहेको बताएको छ।

भोल्कर टर्कले भने, “इजरायली सेनाले सम्पूर्ण जनतालाई बमबारी, घेराबन्दी र भोकमरीको जोखिममा पारिरहेको छ।” यससँगै संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुखले गाजाको मामिलामा कारबाही गर्न विश्व नेताहरूलाई अपिल गरेका छन् ।

भोल्कर टर्कले जेनेभा महासन्धि अन्तर्गत अन्तर्राष्ट्रिय मानवीय कानूनको सम्मान सुनिश्चित गर्नु देशहरूको कर्तव्य रहेको बताए।

यद्यपि, इजरायली सेनाले संयुक्त राष्ट्र संघको यो भनाइमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन। तर इजरायली सेनाले अक्टोबर ६ मा गाजाको उत्तरी क्षेत्रमा सयौं हमास लडाकुलाई मारेको र जबलियाबाट ४५ हजार सर्वसाधारणलाई विस्थापित गरेको बताएको छ ।

यसअघि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुखले उत्तरी गाजाका अस्पतालहरूमा इजरायली सेनाले गरेको कारबाहीबाट आफू चिन्तित भएको बताएका थिए।

गाजामा हमासको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले अस्पतालका कर्मचारी, बिरामी र विस्थापित व्यक्तिहरूलाई हिरासतमा लिएको जनाएको छ।

यसबारे इजरायली सेनाले खुफिया सूचनाको आधारमा हमास लडाकुसँगको कारबाहीका लागि यो क्षेत्रमा प्रवेश गरेको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *