तिलगंगामा एस्थेटिक अकुलोप्लाष्टिबारे प्रयोगात्मक कार्यशाला

डिसी नेपाल
१२ कार्तिक २०८१ १४:२४

काठमाडौं। नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानमा सोमबारका एक दिने विशेष एस्थेटिक अकुलोप्लाष्टि कार्यशाला आयोजना गरिएको छ। एस्थेटिक अकुलोप्लाष्टि भन्नाले आँखारोग उपचारको यस्तो विषय हो जसले आँखा र त्यस वरपरको सुन्दरतालाई जोड दिन्छ ।

शल्यक्रिया या अन्य उपचार पद्धतिबाट सुधार एवम् परिवर्तन ल्याउन मद्दत गर्ने विषय भएकाले यस प्रतिको चाँसो नेपाली समाजमा बढ्दो छ। यसै तथ्यलाई आधार मान्दै एस्थेटिक अकुलोप्लाष्टिका ३ अन्तर्राष्ट्रिय विज्ञहरुले प्रयोगात्मक प्रशिक्षण दिने कार्यशालामा देशभरका विभिन्न स्थानबाट आँखा रोग विशेषज्ञ र आवासीय चिकित्सकहरुले सहभागिता जनाएका छन्। अन्तर्राष्ट्रिय विज्ञहरुमा फिलिपिन्सबाट डा. इभेट सान्टियागो, मलेसियाका डा. एलिस गोह् र सिंगापुरका डा. स्टेफेनीइ योङ रहेका थिए।

कार्यशालालाई सम्बोधन गर्दै प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सन्दुक रुइतले अकुलोप्लाष्टि अन्तर्गत बोटक्स तथा फिलरजस्तो सुविधा शुरु गर्ने मार्गमा यस कार्यशाला आयोजना हुनु निकै उत्साहजनक विषय भएको बताए।

हाल तिलगंगामा डेढो आँखाको समस्या, आँखा डिल तथा अनुहारको मांशपेशी फरफराउने समस्या, अत्याधिक आँशु आउने समस्या, थाइरोइडबाट हुने आँखाको लिडको समस्याको उपचार बोटक्स इन्जेक्सनबाट निवारण भइराखेको छ। यस कार्यशाला पश्चात थप सेवाहरु प्रदान गर्न सकिने छ जसमा बोटक्सबाट अनुहारको चाउरीपन, घाँटीको चाउरीपन, लगायत अन्य आँँखा समस्याको उपचार गर्न सकिनेछ। यस्ता उपचारहरु चिकित्सकको निर्देशन अनुसार समय–समयमा गर्नुपर्ने हुन्छ।

कस्मेटिक र सुन्दरताको दृष्टिकोणले गरिने फिलर इन्जेक्सन सेवा यस कार्यशाला पश्चात निरन्तर रुपमा उपलब्ध गराउन सकिने अपेक्षा राखिएको छ। नेपालमा आँखारोगको क्षेत्रमा पहिले प्रयोगमा नआएको यो सेवालाई अब नेत्ररोग विशेषज्ञहरुले औपचारिक रुपमै प्रयोगमा ल्याउन सक्नेछन्। यो सुविधा तिलगंगा आँखा प्रतिष्ठानमा तथा तिलगंगा सिटि आइ सेन्टर, चुचेपाटि, काठमाण्डौमा निकट भविष्यमानै शुरु हुँदैछ।

यस सुविधा उपलब्ध भएसँगै आँखामा चोटपटक लागेका या असामान्य आँखाको आकार भएकाहरुलाई उपचार सहित मनोबल वृद्धिको सम्भावना हुने आशा राखिएको छ। त्यस्तै सुन्दरतामा निखार लयाउन बोटक्स र फिलरले महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा विश्वास गरिन्छ। अब प्रयोगमा ल्याउन लागिएको फिलर नेपालीहरुका लागि पहँुच योग्य रहने पनि चिकित्सकहरुको भनाइ छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *