चीनमा हजारौं बालगृह बन्द गरेर वृद्धाश्रम खोलिँदै

डिसी नेपाल
१२ कार्तिक २०८१ १५:५८

काठमाडौं । चीनमा जनसांख्यिकीय संकट गहिरिँदै गएको छ । जन्मदरमा आएको तीव्र गिरावटका कारण चीनका हजारौं प्रख्यात किन्डरगार्टन बन्द भएका छन् । योसँगै वृद्धवृद्धाको संख्यामा पनि कीर्तिमानी वृद्धि देखिएको छ ।

जसका कारण बालगृहको सट्टा वृद्धाश्रम खुल्न थालेका छन् । एक आधिकारिक प्रतिवेदन अनुसार २०२३ मा किन्डरगार्टनको संख्या २ लाख ७४ हजार ४०० बाट घटेर १४ हजार ८०८ पुगेको छ। चीनमा घट्दो जन्मदरको तथ्यांक सार्वजनिक भएको यो लगातार दोस्रो वर्ष हो ।

किन्डरगार्टेन जाने बालबालिकाको संख्या पनि लगातार तेस्रो वर्ष घट्दै गएको छ । गत वर्ष करिब १२ प्रतिशतले घटेर ४ करोड ९ लाखमा झरेको थियो ।

प्राथमिक विद्यालयको संख्यामा पनि ३ दशमलव ८ प्रतिशतले गिरावट आएको छ । यो गिरावटले चीनमा व्यापक जनसांख्यिकीय परिवर्तनलाई प्रतिबिम्बित गर्दछ, जहाँ जन्मदर र कुल जनसंख्या दुबै घट्दै गइरहेको छ, भविष्यको आर्थिक वृद्धिमा गम्भीर खतरा खडा भएको छ।

गत वर्ष चीनको जनसङ्ख्या लगातार दोस्रो वर्ष घटेर १.४ अर्ब पुगेको थियो, जुन २० लाखभन्दा बढीले घटेको थियो। सन् २०२३ मा चीनमा ९० लाख बालबालिका मात्रै जन्मिएका थिए, जुन सन् १९४९ मा रेकर्ड सुरु भएयताकै सबैभन्दा कम संख्या हो।

जन्मदरमा आएको गिरावटका कारण गत वर्ष चीनले सबैभन्दा बढी जनसंख्या भएको देशको हैसियत गुमाएको थियो । अहिले भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश हो ।

चीन दोहोरो संकटको सामना गरिरहेको छ । एकातिर जन्मदर र प्रजनन दरमा ह्रास आएको छ भने अर्कोतर्फ वृद्धवृद्धाको संख्यामा तीव्र वृद्धि भइरहेको छ ।

सन् २०२३ को अन्त्यसम्ममा ६० वर्ष र सोभन्दा माथिका चिनियाँ नागरिकको संख्या ३० करोड पुगेको छ। सन् २०३५ सम्म ४० करोड र २०५० सम्ममा ५० करोड पुग्ने अनुमान गरिएको छ ।

धेरै किन्डरगार्टेनहरू ज्येष्ठ नागरिकहरूको हेरचाह केन्द्रहरूमा परिणत भएका छन् र धेरै कर्मचारीहरूले वृद्धहरूको हेरचाह गर्न जागिर परिवर्तन गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *