नेपाली फ्यानविरुद्ध भारतको फुटबल महासंघले उजुरी गर्ने

डिसी नेपाल
१३ कार्तिक २०८१ ११:१५

काठमाडौं । अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ)ले काठमाडौंको दशरथ रंगशालामा आइतबार भएको साफ महिला च्याम्पियनसिपमा भारत र नेपालबीचको सेमिफाइनलमा आएका दर्शकविरुद्ध उजुरी गर्ने भएको छ । सेमिफाइनलमा नेपाली फ्यानहरूको व्यवहारविरुद्ध भारतको फुटबल बोर्डले दक्षिण एसियाली फुटबल महासंघ (साफ)लाई पत्र पठाउने निर्णय गरेको छ ।

रेफ्रीले सिठ्ठि बजाइसकेपछि नेपाली टोलीले गरेको गोललाई रेफ्रीले मान्यता दिन अस्वीकार गरेपछि खेल ७० मिनेटभन्दा बढी समय रोकिएको थियो । लामो समयपछि पुनः सुरु भएको खेल भारतले टाइब्रेकरमा गुमाएको थियो ।

“अखिल भारतीय फुटबल महासंघले आइतबार, अक्टोबर २७, २०२४ मा काठमाडौंमा भएको साफ वुमेन्स च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा भएको घटनाबारे ध्यानाकर्षण गरेको छ। एआइएफएफ ले यस घटनाको सम्बन्धमा साफलाई पत्र लेख्नेछ र त्यसलाई उपयुक्त प्लेटफर्ममा उठाउनेछ” एआईएफएफले सोमबार एक विज्ञप्तिमा भन्यो।

नेपाल भ्रमणमा रहेको भारतीय महिला टोली र आयोजक नेपालबीचको खेल दुई पटक अवरुद्ध भएको थियो । पहिलो पटक नेपालकी रेखा पौडेललाई दोस्रोपटक पहेंलो कार्ड दिएर भुटानी रेफ्री ओम चोकीले बाहिर निकालेपछि नेपालले विरोध गरेको थियो । यो घटनापछि नेपाली फ्यानहरू आक्रामक भएका थिए ।

६२औं मिनेटमा संगीता बसफोरले गोल गर्दै भारतले अग्रता लिएको थियो । भारतीय खेलाडीहरू गोलको खुसी मनाउन व्यस्त हुँदा रेफ्रीले पुनः खेल सुरु गर्नको लागि सिट्टी बजाइन् र नेपालले गोल गरेको थियो । चोकीले गोल रद्द गरेपछि फेरि विरोध भयो र खेल रोकिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *