डिपी अर्यालको प्रश्न-बालुवाटारका ३ गेट पार गरेर प्रधानमन्त्रीलाई भेटेको कुरा कसरी गोप्य हुन्छ ? (भिडियो)

डिसी नेपाल
१४ कार्तिक २०८१ १०:४४

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति डिपी अर्यालले आफूरुहरुले देशको प्रधानमन्त्रीलाई भेट्दा अनावश्यक हल्ला फैलाएको टिप्पणी गरेका छन्। आफू संसदको चौथो ठूलो दलको नेता भएको र देशको कार्यकारी प्रधानमन्त्रीलाई भेट्दा अनावश्यक हैल्ला फैलाएको उनको टिप्पणी छ।

बुधबार डिसी नेपालको कार्यक्रम ‘द बृज टक’ मा पत्रकार अर्जुन दाहालसँग कुरा गर्दै उपसभापति अर्यालले देशको समयसामयिक विषय, सभापति रवि लामिछानेको पक्राउ र आफूले मंगलबार गरेको बालुवाटार केन्द्रित आन्दोलनको विषयमा जानकारी गराउन प्रधानमन्त्री ओलीसँग भेट गरेको दाबी गरेका हुन्।

‘मैले मेरो देशको प्रधानमन्त्रीलाई भेट्ने कुरालाई यतिधेरै इस्यू बनाउनुपर्छ भन्ने लाग्दैन,’ उपसभापति अर्यालले भने, ‘म चौथो ठूलो राजनीतिक दलको नेता हो। यतिबेला हाम्रो सभापति हिरासतमा हुनुहुन्छ, हिजोमात्रै हाम्रो बालुवाटार केन्द्रित आन्दोलन थियो। त्यही विषयलाई लिएर म मेरो पार्टीको प्रमुख सचेतकलाई लिएर प्रधानमन्त्रीलाई भेट्न गएको कुरा सत्य हो। प्रधानमन्त्री निवासमा तीन वटा गेट पास गरेर प्रधानमन्त्रीलाई भेटेको कुरा कसरी गोप्य हुन्छ?’

उनले आफूहरुले सभापति लामिछानेलाई छुटाउन अनुनयन विनय गर्न नभइ उहाँमाथि अनावश्यक राजनीति त भइसकेको छैन भन्नेतर्फ सचेत गराएको बताए।

‘मैले देशको समस्यालाई लिएर प्रधानमन्त्रीलाई भेट्न किन नहुने? मैले उहाँलाई तपाईं अहिले देशको कार्यकारी प्रधानमन्त्री हुनुहुन्छ, अहिले देशको अववस्था यस्तो छ, सरकार बनेको सय दिन पूरा भइसकेको छ, नागरिकको अवस्था यस्तो छ, डेलिभरीको अवस्था यस्तो छ, हामी आन्दोलनमा छौं, रविजी कतै अन्यायमा पो पर्नुहुन्छ कि, उहाँमाथि अन्याय नहोस् भन्नु कुनै नौलो कुरा होइन,’ उपसभापति अर्यालले भने, ‘हामीलाई व्यक्तिगत रुपमा प्रधानमन्त्रीले प्रतिशोध साँध्नु भयो जस्तो लाग्दैन। हाम्रो भनाइ त्यो पनि होइन। सरकारले यसलाई राजनीतिक मुद्दा नबनाओस्। हामी भर्खरै स्थापित भएको दल हो। युवाहरुलाई राजनीतिप्रति घृणा नहोस्, युवाहरु देशमा केही गरौं भन्ने अवस्थाबाट विचलित नहुन् भन्नेतर्फ हामीले प्रधानमन्त्रीको ध्यानाकर्षण गरायौं।’

अर्यालले नेपालको कानुनले कुनै व्यक्ति हिरासतमा नबसी बाहिरै बसेर कानुनी लडाइँ लड्न पाउने हक संविधानले दिएको उल्लेख गर्दै रवि लामिछानेलाई पनि बाहिरै बसेर कानुनी लडाइँ लड्न पाउनु पर्ने तर्क गरे। ‘हाम्रो सभापति भागेर जाने अवस्था छैन, उहाँले प्रमाण नष्ट गर्ने सम्भावना पनि छैन, उहाँ देशको गृह र उपप्रधनमन्त्री भइसकेको व्यक्ति, देशको चौथो दलको सभापति र वहालवाला सांसद पनि हो,’ उनले भने, ‘ उहाँको हकमा संसदीय छानविन विशेष समितिले जुटाउनुपर्ने सबै प्रमाण जुटाइ सकेको छ। त्यसकारण उहाँ बाहिर बसेर अनुसन्धानमा सघाउन तयार हुनुहुन्छ। त्यसमा रास्वपाले पनि सघाउन तयार छ।’

भिडियो संवाद




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *