‘मौलिक विधिबाट चलेको वैद्यखानालाई सवै मिलेर जोगाउनुपर्छ’
काठमाडाैं। स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नेपालको मौलिक विधिबाट चलेको वैद्यखानालाई सवै मिलेर जोगाउनुपर्ने बताएका छन्।
सिंहदरबार वैद्यखाना विकास समितिले धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसका साथै समितिको ३० औं वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले निरन्तर घाटामा रहेको वैद्यखानालाई सवै मिलेर जोगाउनुपर्ने बताएका हुन्।
उनले १५० वटा औषधि उत्पादन गर्ने संस्थाले अहिले १४ वटा औषधिमात्रै उत्पादन गर्नु उचित नभएको जनाए। वैद्यखानामा कच्चा पदार्थ समयमा नै उपलव्ध गराउन नसक्ने ठेकेदार कम्पनीलाई चेतावनी दिने र काम गर्न नसके कारवाही गरेर नयाँ काम गर्ने व्यक्ति राख्नुपर्ने अवस्था आउन सक्ने उनले बताए।
मन्त्री पौडेलले वैद्यखानालाई सहज रुपमा अघि बढाउन समिति गठन गर्नुपरे आफू तयार रहेको उल्लेख गरे। उनले संस्था आफैले कमाई नगर्ने हो भने निवृत भएपछि प्राप्त गर्ने सुविधा उपलव्ध गराउन नसक्ने स्पष्ट पारे। बैद्यखानाले प्रयाप्त रुपमा औषधि उत्पादन गर्न सके आयुर्वेद औषधि आयात बन्द गर्ने उनले बताए।
त्यस्तै कार्यक्रममा काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले सिंहदरबार वैद्यखाना निरन्तर समस्यामा जानु उचित नभएको बताए। देश कसरी डुबेको छ भन्ने हेर्न बैद्यखाना आउनुपर्ने उनले बताए। शाहले औषधि नै उत्पादन गर्न नसकेपछि वैद्यखाना निरन्तर ओरालो लागेको उल्लेख गरे।
उनले राज्यले बैद्यखाना सञ्चालन गर्न नसेर महानगरलाई हस्तान्तरण गर्न सुझाव दिँदै महानगरले बैद्यखाना राम्रोसँग चलाएर देखाउने बताए। कार्यक्रममा सिंहदरबार वैद्यखाना विकास समितिका केही कर्मचारीलाई सम्मान गरिएको थियो।
Facebook Comment