आइपिएलको खेलाडी रिटेन गर्ने आज अन्तिम दिन, कुन टिमले कुन खेलाडी रिटेन गर्दैछन् ?
काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) को मेगा अक्सनअघि फ्रेन्चाइजीले खेलाडी रिटेन र रिलिज गर्ने आज अन्ति दिन हो। आज फ्रेन्चाइजीहरुले खेलाडी रिटेन गर्ने सूची सार्बजनिक भारतीय क्रिकेट कन्ट्रोल बोर्डलाई बुझाउने छन् भने बाँकी खेलाडी मेगा अक्सनमा जाने छन्।
मिडिया रिपोर्टका अनुसार विभिन्न फ्रेन्चाइजीले रिटेन गर्ने खेलाडीको नाम टुंगो लगाउने रणनीतिमा लागेका छन्।
चेन्नई सुपर किंग्सले महेन्द्र सिंह धोनीसहित कप्तान रुतुराज गायकवाड, रविन्द्र जडेजा, शिवम दुवे र श्रीलंकाका बलर माथीसा पाथिरानालाई रिटेन गर्ने बताइएको छ। यी खेलाडी रिटेन गर्दा चेन्नईले १२० करोडमध्ये ६५ करोड खर्च गर्ने छ । अब बाँकी टिम ५५ करोडमा बनाउनुपर्ने हुन्छ।
त्यस्तै डिफेन्डिङ च्याम्पियन कोलकोताले सुनिल नारन, रिंकु सिंह, हर्षित राना र वरुण चक्रवर्तीलाई रिटेन गर्ने बताइएको छ। कोलकोताले कप्तान श्रेयस अय्यर र आन्द्रे रसेललाई रिटेन नगर्ने बताइएको छ।
त्यस्तै लखनउ सुपर जाइन्टले पनि कप्तान केएल राहुललाई रिटेन नगर्ने बताइएको छ। लखनउले निकोलस पुरन, मयंक यादव र रवि विश्नोईसहित मोहसिन खान र आयुष बदोनीलाई रिटेन गर्ने भएको छ। त्यसैगरी सनराइजर्स हैदरावादले हेइनरिक क्लासेन, पाट कमिन्स, अभिषेक शर्मा, ट्राभीस हेड र नितिश कुमार रेड्डीलाई रिटेन गर्ने बताइएको छ।
त्यस्तै गुजरात टाइटन्सले कप्तान शुभमन गील, राशिद खान, साइ सुदर्सन, राहुल तेवटिया र शाहरुख खानलाई रिटेन गर्ने भएको छ।
त्यसैगरी राजस्थान रोयल्सले सन्जु सामसन, यशस्वी जैसवाल, रियान पराग र सन्दीप शर्मालाई रिटेन गर्ने भएको छ। त्यस्तै विकेटकिपर ब्याट्सम्यान ध्रुब जुरेललाई पनि राजस्थानले रिटेन गर्नसक्ने बताइएको छ।
त्यसैगरी दिल्ली क्यापिटल्सले कप्तान ऋषव पन्तलाई रिटेन नगर्ने बताइएको छ । दिल्लीले अक्सर पटेल, कुलदीप यादव, ट्रीसटियन स्टबस र अभिषेक पोरेललाई रिटेन गर्ने बताइएको छ । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले विराट कोहली र बलर यश दयाललाई मात्र रिटेन गर्ने बताइएको छ । बैंगलुरुले कोहलीलाई कप्तान बनाउने बताइएको छ ।
त्यसैगरी पञ्जाव किंग्सले पनि अर्शदीप सिंह र शशांक सिंहलाई मात्र रिटेन गर्ने बताइएको छ । त्यसैगरी मुम्बई इण्डियन्सले रोहित शर्मा, हार्दिक पाण्डेय, सुर्यकुमार यादव, जसप्रित बुमराहलाई रिटेन गर्ने भएको छ । त्यस्तै मुम्बईले तिलक बर्मा र इशान किशन मध्ये एक जनालाई रिटेन गर्नसक्ने बताइएको छ ।
नयाँ रिटेन्सन नियम
आइपिएलले खेलाडी रिटेन्सनका लागि यो बर्ष नयाँ नियम ल्याएको छ । अब फ्रेन्चाइजी टोलीले आईपीएलको मेगा लिलामीअघि ६ खेलाडीलाई रिटेन गर्न सक्नेछन् । जसमा अधिकतम ५ अन्तर्राष्ट्रिय र २ अनक्याप्ड खेलाडी समावेश गर्न सकिनेछ । अन्तर्राष्ट्रिय खेलाडी जुनसुकै देशका हुन सक्छन् तर अनक्याप्ड खेलाडी भारतबाट मात्रै हुनुपर्ने नियम बनाइएको छ ।
उदाहरणको लागि मुम्बई इन्डियन्सले ५ अन्तर्राष्ट्रिय खेलाडीलाई रिटेन गर्यो भने अब टोलीले छैटौं खेलाडीको रूपमा अनक्याप्ड खेलाडीलाई मात्रै राख्न सक्नेछ । यदि टोलीले ४ अन्तर्राष्ट्रिय खेलाडी राखेमा २ जना अनक्याप्ड खेलाडी राख्ने विकल्प हुनेछ ।
त्यस्तै आइपीएल टोलीहरूको पर्स सीमा पनि १२० करोड रुपैयाँमा बढाइएको छ, पहिले यो १०० करोड भारु थियो । खेलाडी रिटेन्सन गर्दा पहिलो खेलाडीलाई रिटेन गर्न १८ करोड, दोस्रो खेलाडीलाई १४ करोड र तेस्रो खेलाडीलाई ११ करोड रुपैयाँ खर्च गरिनेछ । ३ खेलाडी मात्रै रिटेन गरेमा फ्रेन्चाइजीको पर्सबाट ४३ करोड रुपैयाँ खर्च हुनेछ । यदि टोलीले चौथो खेलाडीलाई रिटेन गर्यो भने उसलाई १८ करोड मात्रै तिर्नुपर्नेछ भने पाँचौं खेलाडीका लागि १४ करोड र अनक्याप्ड खेलाडीलाई रिटेन गर्न ४ करोड रुपैयाँ तिर्नु पर्ने छ ।
फ्रेन्चाइजीले ५ अन्तर्राष्ट्रिय र एक अनक्याप्ड खेलाडी राखेमा ७९ करोड रुपैयाँ खर्च हुनेछ भने ४ अन्तर्राष्ट्रिय र २ अनक्याप्ड खेलाडी राखेमा पर्सबाट ६९ करोड रुपैयाँ खर्च हुनेछ । त्यस्तै ५ अन्तर्राष्ट्रिय खेलाडी मात्रै राखेमा पर्सबाट ७५ करोड रुपैयाँ खर्च हुने छ । फ्रेन्चाइजीले आफ्नो इच्छा अनुसार पाँच क्याप खेलाडीहरू बीच ७५ करोड रुपैयाँको क्याप्ड रिटेन्सन पोट विभाजन गर्न अनुमति दिइएको छ ।
आइपिएलले फ्रेन्चाइजीका लागि खेलाडी रिटेन्सन सूची पेश गर्ने अन्तिम मिति ३१ अक्टोबर २०२४ बेलुका ५ बजेसम्म दिएको छ ।
Facebook Comment