आरसिबीको कप्तान बन्दै विराट कोहली
काठमाडौँ । विराट कोहली आइपीएलमा फेरि कप्तान बन्ने भएका छन् । कोहली आइपीएल टिम रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) को फेरि कप्तान बन्ने भएका हुन् । मिडिया रिपोर्टका अनुसार कोहलीले व्यवस्थापनसँग छलफल गरिसकेका छन् र कप्तानीमा फर्कन तयार भएका छन् ।
कोहलीले ९ सिजन आरसीबीको कप्तानी गरेपछि उनले २०२१ मा कप्तानी छोडेका थिए । यसपछि, २०२२ मा, फाफ डु प्लेसिसले पछिल्लो तीन सिजनको लागि टोलीको जिम्मेवारी लिए । ४० वर्षीय डु प्लेसिसलाई अर्को सिजनको लागि रिटेन गर्ने सम्भावना न्यून भएपछि कोहलीले कप्तानी गर्न अगाडि सरेको बताइएको छ ।
आइपिएलको मेगा अक्सनअघि खेलाडीहरूको रिटेनमेन्टको अन्तिम मिति दिन आज हो । आज साँझ ५ बजेअघि सबै फ्रेन्चाइजीले आफ्ना रिटेन गरिएका खेलाडीको नाम आइपिएल आयोजक समितिलाई पठाउनुपर्ने छ । यो सूचीसँगै कुन खेलाडीले कुन फ्रेन्चाइजसँग खेल्ने भन्ने टुंगो लाग्नेछ।
आरसिबीले अहिलेको टिमबाट कोहली र बलर यश दयाललाई मात्र रिटेन गरेर पुरै नयाँ टिम बनाउने तयारी गरेको बताइएको छ ।
विराट कोहली २०१३ देखि २०२१ सम्म आरसीबीको कप्तान थिए । उनको कप्तानीमा, आरसिबी २०१६ मा फाइनलमा पुगेको थियो, सो फाइनलमा आरसिबी सनराइजर्स हैदराबादसँग पराजित भएको थियो । कोहलीले आइपिएलमा १४३ खेलमा कप्तानी गरेका छन्, जसमध्ये उनले ६६ जित र ७० खेलमा हार बेहोरेका छन् ।
पछिल्ला तीन सिजनमा फाफ डु प्लेसिसको कप्तानीमा टोलीले २०२२ र २०२४ मा प्लेअफमा स्थान बनाएको थियो, यद्यपि यसले २०२३ मा प्लेअफ गुमाएको थियो ।
कोहलीलाई आईपीएल २००८ अघि आरसीबीले अनक्याप्ड प्लेयरको रूपमा अनुबन्ध गरेको थियो। त्यसयता उनी लगातार टोलीको हिस्सा बनेका छन् ।
आरसीबीले १७ वर्षमा कोहलीलाई रिलिज गरेको छैन । उनी आईपीएलमा सबैभन्दा धेरै रन बनाउने खेलाडी पनि हुन् ।
Facebook Comment