षड्यन्त्रले भरिएको नेपालको राजनीतिक इतिहास-भाग १७

राजा वीरेन्द्र र राजपरिवार बारे केही कुराको पहिलो अंश

कपिल लोहनी
१७ कार्तिक २०८१ ७:१२

नेपालका शाहवंशीय राजाहरूमध्ये सबैभन्दा बढी औपचारिक शिक्षा हासिल गरेका राजा वीरेन्द्र नै थिए। उनले भारतको दार्जिलिङमा अवस्थित सेन्ट जोसेफ्स् स्कूलबाट प्रारम्भिक शिक्षा हासिल गरेका थिए भने बेलायतको इटन कलेजमा ५ वर्ष, जापानको टोकियो युनिभर्सिटीमा केही समय र संयुक्तराज्य अमेरिकाको हार्वर्ड युनिभर्सिटीमा २ वर्ष अध्ययन गरेका थिए।

अध्ययन कै दौरान उनले अफ्रिका, युरोप र अमेरिकाका विभिन्न राष्ट्रहरूको अध्ययन भ्रमण गर्ने समेत अवसर पाएका थिए। उनको जन्मजात शालिनता, सरलपना र असल स्वभावलाई उच्च अध्ययन र अनुभवले अझ बढी निखारेको थियो। उनी साँच्चै नै शाहवंशका सबैभन्दा असल राजा थिए। उनिसँग भेट्ने, कुरा गर्ने र संगत गर्ने कसैले पनि उनका नराम्रा गुणहरू बारे बकेर हिँडेको पाइएको छैन।

‘श्रीपेच फुकालेर चुनावमा लड्न आउ’ भनेर कड्किने मदन भण्डारीदेखि जनआन्दोलन पछि प्रधानमन्त्री बनेका कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी तथा शेरबहादुर देउवाले पनि हरेक हप्ता राजा वीरेन्द्रलाई भेटेर मुलुकको आर्थिक, सामाजिक, राजनीतिक, कुटनीतिक र अन्य प्रतिवेदन पेश गर्ने बेला राम्रा कुरा सुन्दा उनी निकै प्रसन्न भएर हौसिने गरेको र नराम्रा कुरा सुन्दा निकै निराश र चिन्तित भएर त्यस्ता समस्याको कसरी समाधान गर्ने भन्ने कुरामा घोत्लिएर सल्लाह दिने गरेको कुरा बताउँथे।

मुलुकको राजनीति बिग्रेकोमा चिन्तित हुने राजा भएपनि उनी कुनै कुरामा पनि निर्वाचित सरकारलाई हस्तक्षेप गर्ने पक्षमा थिएनन्। संबैधानिक राजतन्त्रले पालना गर्नुपर्ने प्रत्येक कुरामा उनी नियमसंगत तवरले काम गर्ने गर्दथे।

मध्यावधि निर्वाचनको प्रस्ताव पटक पटक आउँदा उनि सो प्रस्ताव ठीक हो वा होइन भनेर सधैं अदालतको परामर्श लिने गर्दथे। वास्तवमा बहुदलीय व्यवस्थाका राजनैतिक नेताहरू भन्दा पनि राजा वीरेन्द्र बढी निष्ठावान, इमान्दार र सम्बिधानको पालना गर्ने पात्र थिए।

राजा महेन्द्रले औपचारिक शिक्षा हासिल गर्ने मौका नपाएका भए पनि आफ्ना छोराछारीलाई भारतको दार्जिलिङका नाम चलेका विद्यालयहरूमा अध्ययन गर्ने बन्दोवस्त मिलाएका थिए।

वि.सं. २००७ सालसम्म यानी राजा महेन्द्र ३० वर्षका होउञ्जेलसम्म नेपालमा निरंकुश राणाशासन भएकोले राजा तथा युवराज र राजपरिवारलाई दरवारबाट बाहिर निस्कन समेत राणा प्रधानमन्त्रीको हुकुम र स्वीकृति चाहिन्थ्यो। त्यसैले राजा महेन्द्रले राजदरवारभित्रै आधारभूत शिक्षा पाएका थिए।

राजा महेन्द्रकी जेठी महारानी इन्द्रराज्य लक्ष्मीबाट शान्ति, शारदा, वीरेन्द्र, ज्ञानेन्द्र, शोभा र धीरेन्द्र गरी ५ सन्तानको जन्म भएको थियो। राजा महेन्द्रकी भित्रिनी पट्टिबाट यी सबै सन्तानभन्दा जेठा एक छोरा रवीन्द्रको जन्म भएको थियो।

२००७ सालमा युवराज्ञी इन्द्रको निधन भए पश्चात् विचलित हुन पुगेका युवराज महेन्द्रले उनैकी बहिनी रत्नसँग प्रेम बिवाह गर्ने इच्छा राखे। तर यो कुरामा राजा त्रिभुवनले स्वीकृति दिन नमाने पछि उनले विश्वेश्वरप्रसाद कोइरालाको मद्दत लिएर उनीमार्फत आफ्ना पितालाई मनाउन लगाएका थिए।

राजा त्रिभुवनको विचारमा प्रजातन्त्र आइसकेपछि राणाका सन्तानसँग भावी राजा वा राजाका छोराछोरीले बिहे गर्नु हुँदैन भन्ने थियो। राणा शासनको बेलामा राणा प्रधानमन्त्रीहरूको दवावमा उनैका परिवारका कन्याहरूसँग भावी राजाहरूको विहे हुने गर्दथ्यो ताकी राजाहरूले राणाहरूलाई आफ्नो मामाघर र ससुरालीको रूपमा आदर गरिरहुन् भनेर।

त्यतिबेला बीपी पनि खुकुरी दलको आक्रमण पश्चात् राजा त्रिभुवनको आग्रहमा नारायणहिटी राजदरवारको एक भागमा केही समय बसेकाले युवराज महेन्द्रको विवाहको निम्ति उनले राजा त्रिभुवनलाई मनाएका थिए।

कालान्तरमा राजा महेन्द्रले पनि राजा वीरेन्द्रका केही प्रेम सम्बन्धहरूलाई साकार हुन दिएका थिएनन्। बेलायतमा अध्ययन गर्दा त्यहाँस्थित उच्च नेपाली कुटनीतिज्ञकी छोरीसँग लण्डनमा घुमफिर गरेको कुरा बेलायती छापाहरूमा छापिएका रहेछन्।

त्यस्तै एक राणा प्रधानमन्त्रीकी नातिनीसँग पनि वीरेन्द्रको नजिकको सम्बन्ध रहेकोमा राजा महेन्द्र त्यति खुशी थिएनन् रे। तर पछि उनी र रानी रत्नको प्रयासले वीरेन्द्र लगायत उनका दुवै भाइहरूसँग रानी रत्न कै माइतीतिरका तिन दिदीबहिनीको बिहे भएको थियो।

शहवंशीय रानीहरूमा राजा त्रिभुवनकी दुइवटी रानीहरू कान्ति र इश्वरी तथा राजा महेन्द्रकी रानी रत्न र राजा ज्ञानेन्द्रकी रानी कोमल अति नै शालिन र राजकाजमा हस्तक्षेप नगर्ने खालका थिए।

तर पृथ्वीनारायण शाहको निधन पछि उनका छोरानातीको केही पुस्ताको ज्यादै कलिलो उमेरमा निधन भएकोले राजमाताहरूले शिशु राजाहरूको रेखदेख गरेर उनिहरू वालिग नहोउञ्जेलसम्म दैनिक राजकाज सम्हाल्ने मौका पाएका थिए।

कलिलै उमेरमा विधवा भएका त्यस्ता राजमाताहरूमा पारिवारिक, सामाजिक र चारित्रिक विचलन हुनुका साथै सत्ताको महत्वाकांक्षा बढ्नाले त्यस्ता अधिकांश रानीहरूले छोरा वालिग नहोउञ्जेलसम्म र भर्खरै वालिग भएका राजालाई प्रभावमा पारेर पनि धेरै गलत निर्णयहरू गरेका थिए।

बहादुर शाहलाई कैद गरेर गरिएको निर्मम हत्या, दामोदर पाँडेको शिरच्छेदन तथा अंग्रेजसँग युद्धमा हारेर ठूलो भूभाग गुमाउन पुग्नुको पछाडि त्यतिबेलाका यस्तै रानीहरू जिम्मेवार थिए।

त्यतिबेलादेखि नै हो दरवारको फोहरी राजनीतिले गर्दा नेपाल राष्ट्र ज्यादै कमजोर हुँदै गएको। झन् त्यसमाथि राजा राजेन्द्रविक्रम शाहकी कान्छी महारानी राज्यलक्ष्मीको हातमा मुलुकको सम्पूर्ण शक्ति पुगेपछि यिनको मनोमानीले गर्दा धेरै प्रधानमन्त्री तथा उच्च पदस्थ भारदारहरूको ज्यान जानुका साथै मुलुक तहस नहस हुने अवस्थामा पुग्यो।

पछि निकै चतुरताका साथ जंगबहादुरले रक्तपातपूर्ण कोतपर्वमार्फत नेपालको शासन आफ्नो हातमा लिए पछि भने त्यसपछिको १०४ वर्षसम्म नेपालका रानीहरूको त के कुरा, राजाहरू समेत थपना बन्न पुगे।

राजा महेन्द्र शासकिय कुशलता भएका एक सक्षम व्यक्ति थिए र उनले आफ्नी महारानीलाई उचित मान-मर्यादाभित्र अटाएर बस्ने वातावरण बनाइदिएका थिए।

त्यसैले उनको शासनकालमा रानीबारे नकारात्मक टीका-टिप्पणी कहिल्यै आएनन्। तर शुरुमा असल देखिएकी रानी ऐश्वर्यले खासगरी जनमतसंग्रह पछि आफ्ना सोझा र भद्र पतिको शक्ति बिस्तारै आफूतिर खिँचेर उनको नाममा शासन गर्ने हैसियतमा पुगिन्।

उनका अथाह हर्कत तथा छुच्चो व्यवहारले गर्दा नै राजा वीरेन्द्रका कैयन् हितैषीहरू टाढिँदै गए भने खुँखार पञ्चहरू रानीकै निर्देशनमा चल्ने र उनैको हुकुम मानेर राज्य र व्यवस्थाको भन्दा पनि आआफ्नो स्वार्थमा चल्न थाले र आखिर पञ्चायती व्यवस्थालाई धराशायी बनाउन र राजालाई एक्ल्याउन सहायक हुन पुगे।

नेपालमा राणाशासनको अन्त भएर प्रजातन्त्र आउँदा राजा वीरेन्द्र ५ वर्षका बालक थिए। उनि भन्दा २ वर्ष साना भाइ ज्ञानेन्द्रलाई राजज्योतिषहरूले केही समय बाबुआमाबाट टाढा राख्नु पर्ने सुझाव दिएपछि उनलाई मामाघरमा पालिएको थियो।

त्यही समयमा राजा त्रिभुवन सपरिवार भारतीय दूतावासमा शरण लिन पुगेर त्यसपछि भारत प्रस्थान गरेकाले सत्ता गुम्ने छटपटीले आत्तिएका राणाशासकले मामाघरमा रहेका यिनै राजकुमार ज्ञानेन्द्रलाई नेपालको राजगद्दीमा राखेर राजा घोषणा गरेका थिए।

प्रजातन्त्रको उदयसँगै सम्पूर्ण राजपरिवार नेपाल फर्केका र नेपालको १०४ वर्षे राणाशाषनको पतन भए पश्चात् तत्कालिन युवराज महेन्द्रले आफ्ना छोराछोरीलाई भारतमा अध्ययनको निम्ति पठाएका थिए।

त्यति मात्र होइन, राजा महेन्द्रले आफ्ना छोराहरूलाई मुलुकको वास्तविक स्थितिको ज्ञान दिन अन्य विभिन्न व्यावहारिक उपायहरूको अवलम्बन समेत गरेका थिए।

राजा वीरेन्द्रका तिनै जना दिदीबहिनीले भारतको दार्जिलिङमा अवस्थित लोरेटो कन्भेन्ट स्कूलमा प्रारम्भिक शिक्षा हासिल गरेका थिए भने शान्तिवाहेकका माहिली र कान्छीले त्रिभुवन विश्वविद्यालयबाट स्नातकको उपाधि पनि प्राप्त गरेका थिए।

राजा वीरेन्द्रभन्दा ५ वर्ष जेठी दिदी अधिराजकुमारी शान्ति सिंहको विवाह बझाङका ६०औँ राजा कुमार दीपकबहादुर सिंहसँग भएको थियो। त्यस्तै राजा वीरेन्द्रभन्दा ३ वर्ष जेठी दिदी अधिराजकुमारी शारदा शाहको विवाह जुम्लाका राजघरानाका कुमार खड्गविक्रम शाहसँग भएको थियो।

कान्छी अधिराजकुमारी शोभा शाही राजा वीरेन्द्रकी ४ वर्ष कान्छी बहिनी हुन्। उनको विवाह रुकुमकोटको राजघरानाका कुमार मोहनबहादुर शाहीसँग भएको थियो। कुमार दीपकले अत्यधिक मदिरापान गर्ने र पत्नीलाई हातपाइसमेत गर्ने गरेकोले राजा महेन्द्र निकै चिन्तित थिए। तर कुमार खड्ग र कुमार मोहन भने निकै असल प्रकृतिका थिए।

अधिराजकुमार ज्ञानेन्द्र राजा वीरेन्द्रका २ वर्ष कान्छा भाइ हुन्। उनको विवाह रानी ऐश्वर्यकी माहिली बहिनी कोमलसँग भएको थियो। त्यस्तै अधिराजकुमार धीरेन्द्र राजा वीरेन्द्रका ५ वर्ष कान्छा भाइ थिए र उनको विवाह रानी ऐश्वर्यकी कान्छी बहिनी प्रेक्षासँग भएको थियो।

राजा वीरेन्द्रका दुवै जना भाइहरूले उनले जस्तै भारतको दार्जिलिङमा अवस्थित सेन्ट जोसेफ्स् स्कूलबाट प्रारम्भिक शिक्षा हासिल गरेका थिए भने त्रिभुवन विश्वविद्यालयबाट स्नातकको उपाधि प्राप्त गरेका थिए। कान्छा धीरेन्द्र आफ्नो युवावस्थामा निकै चञ्चल र केही उत्कट स्वभावका थिए।

निकै राम्रो औपचारिक शिक्षा पाइरहेका वीरेन्द्र, ज्ञानेन्द्र र धीरेन्द्रलाई मुलुकको वास्तविकताको ज्ञान होस् भन्ने हेतुले राजा महेन्द्रले मुलुकका विकटतम भागहरूको पैदल भ्रमणमा पठाउने गरेका थिए र स्थानीय रहनसहन, खाना र बसाइँको अनुभव गर्ने माहोल बनाइ दिएका थिए।

राजा वीरेन्द्रले सानै उमेरदेखि हेलिकप्टर चलाउने प्रशिक्षण पाउनुका साथै विदेशको शिक्षाको दौरान विभिन्न मुलुकको भ्रमण गर्ने मौका पनि पाएका थिए। यसरी २४-२५ वर्षको उमेरमा नै उनले खारिँदै जान पाए भने उरण्ठ्यौला काम गर्ने फुर्सद उनले कहिल्यै पनि पाएनन्।

तर राजा महेन्द्रको निधन निकै छिटो भएकोले युवराज वीरेन्द्रले २६ वर्षको उमेरमा नै राजा बन्नु पर्ने वाध्यता हुन आयो। हुन त यतिबेलासम्म उनको विवाह भएर नवयुवराज दीपेन्द्रको जन्म भइसकेको थियो भने राजा महेन्द्रले पनि केही महिनाको निम्ति भए पनि आफ्ना नातीलाई खेलाउन पाएका थिए।

(राजा वीरेन्द्र र राजपरिवार बारे केही कुराको बाँकी अंश अर्को अंकमा)

क्रमशः…

-लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *