कांग्रेसले मेचीमहाकाली युवा संकल्प यात्रा गर्ने
काठमाडाैं। नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीको संयोजनमा मेचीमहाकाली युवा संकल्प यात्रा आयोजना हुने भएको छ। कात्तिक २३ गते झापाको मेचीनगरबाट सुरु हुने यात्रा मंसिर ४ गते महेन्द्रनगरमा पुगेर समापन हुने शाहीले बताए।
युवा संकल्प यात्राका बारेमा जानकारी दिन सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शाहीले युवालाई रोजगारीको सुनिश्चितता , भ्रष्टाचार उन्मुलन र सुशासन , महँगी र मूल्यवृद्धि नियन्त्रण, उद्यमशीलता, नवप्रवर्तन र कृषिमा लगानी, सहकारी पीडितलाई तत्काल राहत र बचत फिर्ता, विभिन्न संस्था तथा सहकारी ठगलाई कारबाही लगाएतका १० बुँदे एजेण्डाका साथ युवा संकल्प यात्रा आयोजना गरिएको बताए।
स्वदेशमै शिक्षा र स्वदेशमै रोजगारीको सुनिश्चितताका लागि युवा संकल्प यात्राले आवश्यक पहल र दवावको अगुवाई गर्ने उनले बताए। त्यस्तै तीनै तहका सरकारमा व्याप्त भ्रष्टाचार उन्मुलन र सुशासनको स्थापनाका लागि आवश्यक पहल र खबरदारी गर्ने उहाले जानकारी दिए। शाहीले सयौं सहकारीमा लाखौं नेपालीले बचत गरेको अर्बौ रुपैयाँ बचत फिर्ता गराउन युवा संकल्प यात्राले जस्तोसुकै पहल गर्ने बताए।
त्यस्तै सहकारी ठग जो भएपनि, जुनसुकै पार्टीको भएपनि कारवाही गराउन युवा संकल्प यात्राले दवाव सिर्जना गर्ने उनको भनाइ छ।
उनले सरकारलाई नागरिक मैत्री बनाउन पहल र प्रयत्न दुवै युवा संकल्प यात्राले गर्ने, युवा संकल्प यात्राले नागरिक जीवन सहज बनाउने सन्दर्भमा उचित अग्रसरता लिने जिकिर गरे। यात्राका क्रममा प्राप्त सल्लाह, सुझाव र अनुभवलाई दस्तावेजीकरण गरेर युवा हितका क्षेत्रमा निरन्तर काम गरिने शाहीले बताए।
Facebook Comment