‘लोक आस्थाको पर्व छठ सांस्कृतिक र आध्यात्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण छ’
जनकपुर। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले लोक आस्थाको पर्व छठ सांस्कृतिक र आध्यात्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण भएको बताएका छन्।
धनुषा चेम्बर अफ कमर्सद्वारा जनकपुरधाममा आज आयोजित छठ लक्षित विपन्न व्रतालुहरूलाई पूजा सामग्री वितरण कार्यक्रममा उनले सबै खाले भेदभावविरुद्ध सद्भाव र प्रकृतिका विभिन्न जीवनदायिनी तत्वप्रति आस्थाको अभिव्यक्ति छठ पर्व भएको धारणा राखे।
मुख्यमन्त्री सिंहले एकता, सद्भाव र सहिष्णुताबाट छठ पर्वमा विपन्न व्रतालुहरूलाई नयाँ पहिरन तथा पूजा सामग्री वितरण गर्ने परम्परालाई निरन्तरता दिएकामा आयोजक संस्थालाई धन्यवाद दिए।
जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले जनकपुरधामको छठ पर्व मौलिक र विशिष्ट रहेको बताए। उनले यसलाई थप आकर्षक बनाउन जनकपुरधामको सरसफाइमा ध्यान दिनुपर्नेमा जोड दिए। ‘चाडपर्वमा सरसफाइमा समेत ध्यान दिनुपर्ने आवश्यकता छ। हामीले प्रदेश सरकारसँग समन्वय गरेर जनकपुरधामको सरसफाइसम्बन्धी योजना कार्यान्वयन गर्ने तयारी गरेका छौँ, त्यसपछि भने यहाँको अवस्था थप सुधार हुनेछ’, नगरप्रमुख साहले भने।
कार्यक्रममा जनकपुरधामका पूर्वप्रमुख बजरंगप्रसाद साह, जनकपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष निर्मलकुमार चौधरीलगायतले आआफ्ना धारणा राखेको थियो। कार्यक्रममा सय जना महिलालाई नयाँ पहिरन र अन्य पूजा सामग्री वितरण गरिएको थियो।
Facebook Comment