कविता

हाम्रा तिहार त उतै छुटे

सुशील लम्साल
१९ कार्तिक २०८१ २०:२८

साथी हेर न,
हिजो हामी जुट्ने त्यो बाटोमा आज अरू नै जुटेछन्
हेर्दा हेर्दै हाम्रै आँखा अगाडि हाम्रा तिहार उतै छुटेछन्
आखिर हाम्रो बेलामा के के गरिएन!
आखिर हाम्रो भेलामा के के गरिएन!
भैलो खेल्न भनेर दुई हप्ता अगाडिदेखि
भाँडभैलो मच्चाउँदै टोल टोलमा अनि
गाउँ गाउँमा नाच सिक्न हामी नै पुगेका हौं

मादलमा खरी हाल्न, खोलानाला तरी हाल्न
हामीलाई कसैले रोकेन
वर्षौं नबोलेको साथी,भैलोमा सँगै परि हाल्न
हामीलाई कसैले रोकेन
हामी त त्यो युगको बिम्ब हौं,
जसको प्रतिबिम्ब देउसी र भैलोमा कालान्तरसम्म देखिनेछ।

ए साथी सम्झ त,
मट्टितेलको जर्किनलाई रङ्गिन बनाएर
मादल बनाउँदै बजाएको कम्पन सम्झ,
कोकाकोलाको बिर्कोलाई बीचबाट छेडेर
छ्याईँ छ्याईँ बनाई बजाउँदाको संघर्षलाई सम्झ,
कपीमा बडो मेहनतले लेखेका गीतका हरफहरू सम्झ
घर घरमा झिलमिले बत्तीले बनाएको चमकहरू सम्झ

त्यति मात्रै कहाँ हो र,
सेल रोटीको टुक्रामा गरेको लुछाचुँडान सम्झ,
हाम्रो अनिदो रात, हिँडाई लखतरान सम्झ
मैनबत्ती चोरेर भागेको सम्झ
कार्तिके दान मागेको सम्झ
हामीलाई देउसी खेल्न पठाउने उनै
कहिल्यै नभेटिएका बलिराजलाई सम्झ
हामीले दिन गन्ती रूपमा भाँडामा बजाएको
मादल, स्पिकर लगायतको बाजालाई सम्झ
कतै कसैको घरमा शरण परेर पकाएर खाएको
चाउचाउको झोल लगायतको खाजालाई सम्झ

चामलको बोरा बोकेर अन्तिममा हिँड्ने भैलीलाई सम्झ
सयौं घरबाट जम्मा भएको चामल र पैसाको थैलीलाई सम्झ
हामीले खेल्दै गर्दा डिस्टर्ब गर्ने अर्को जम्बो टोलीलाई सम्झ
बन्दुकमा पटेका हालेर पट्याँस पट्याँस पार्ने उनै बारुदको गोलीलाई सम्झ

ए मेरो साथी! के के सम्झिन सक्यौ खै तिमीले
सम्झ त,
रात भर, हामी त्यसै आएका हैनौं भन्दै चिच्याएको सम्झ
नाच्दा नाच्दै र गाउँदा गाउँदै अरूले गिज्याएको सम्झ
हाम्रो संघर्ष अनि परिश्रम सम्झ
दुखले आर्जेको तिनै रकम सम्झ
खोला पारि खाएको वनभोज सम्झ
हामीले गरेका जुगाड अनि खोज सम्झ
घरबाटै नङपालीसले लेखी लगेका थालहरू सम्झ
ए मेरा साथी, एक पटक उनै सालहरू सम्झ

कति प्यारा थिए, पृथक थिए
अहिलेका भन्दा पक्कै फरक थिए
हाम्रा तिहारहरू, हाम्रा शैशव कालहरू
अब चाहेर पनि फर्किँदैनन् ती सालहरू

हेर त, हामी जम्बो टोली बनेर सामान किन्न भनेर पसल गएको
कुनै साथीले पैसा लग्छु तर पिकनिक जाँदिन भन्दै बदल गएको
रातभर भट्ट्याउँदा र गाउँदा घाँटी बसेर आवाज सुकेको
एकजुट थियौ बस् त्यति भएसी थियो हामीलाई पुगेको
तर आज हाम्रो तिहार उतै छुटे
हाम्रा सँगै नाचेका साथी उतै छुटे
हाम्रा विगत उतै छुटे, हाम्रा संगत उतै छुटे
हामी मात्रै यहाँ आयौं, खुसी त फगत उतै छुटे

नपत्याए हेर न !
हामी भैलो खेल्दै हिँड्ने बाटोमा आजकल अरू भरिएका छन्
हामीले गाउने गीतहरू आजकल सुनिँदैनन्
हामीले नाच्ने स्टेपहरू आजकल चुनिँदैनन्
बस्!
हाम्रा खुसीहरू त खै कता, समाधि भए अचेल
रहरहरू पनि हाम्रो उमेर झैँ, आदि भए अचेल!




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *