अमेरिकी राष्ट्रपतिका दावेदारहरूको नालीबेली : जर्मन हजामका नाति ट्रम्प, भारतीय ब्राह्मणकी छोरी कमला
काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनका लागि आज मतदान हुँदैछ । नेपाली समयअनुसार आज अपरान्ह सवा ४ बजेदेखि मतदान सुरु हुँदैछ।
निर्वाचनमा वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प मुख्य प्रतिस्पर्धी छन्। यी दुईबीच निकै कडा टक्कर देखिएकोले चुनाबको नतिजा आउन पहिलेभन्दा केही ढिलाई हुन सक्ने बताइएको छ।
राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका उम्मेदवार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प हुन्। ट्रम्पका हजुरबुवा फ्रेडरिक जर्मनीका बासिन्दा थिए। फ्रेडरिक ८ वर्षको हुँदा उनको बुबाको मृत्यु भयो।
उनी बाल्यकालदेखि नै कमजोर थिए त्यसैले खेतीपाती गर्न सकेनन् । शारीरिक परिश्रम गर्न नसक्ने भएपछि उनलाई उनकी आमाले कपाल काट्ने हजाम बन्ने तालिम दिइन्।
लेखक ग्वेन्डा ब्लेयरले आफ्नो पुस्तक ‘द ट्रम्प्स: थ्री जेनेरेसन्स द्याट बिल्ट एन एम्पायर’ नामक पुस्तकमा लेखेकी छिन् – ‘फ्रेडरिक धेरै मेहनती थिए र हप्ताको सात दिन काम गर्थे। तर, १६ वर्षको उमेरमा फ्रेडरिक भागेर अमेरिका जानुपर्यो।’
वास्तवमा त्यतिबेला जर्मनीमा हरेक व्यक्तिले कम्तीमा ३ वर्ष सेनामा भर्ती हुनुपर्ने कानुन थियो । यसबाट डराएर फ्रेडरिकले देश छोडे। उनी १० दिनको यात्रापछि अक्टोबर १८८५ मा न्यूयोर्क पुगेका थिए।
अमेरिका आएपछि फ्रेडरिकले हजामको काम गर्न थाले। केही पैसा जम्मा गरेपछि उनले अलास्कामा खानी व्यवसायमा लगानी गरे। उनको यो ब्यापार राम्रो भयो। उनको खानीबाट धेरै सुन निस्कियो।
फ्रेडरिक केही वर्षमै धेरै धनी भए। केही वर्षपछि फ्रेडरिक जर्मनी गए र १९०२ मा एलिजाबेथ क्राइस्ट नामकी महिलासँग विवाह गरे। पछि दुवै अमेरिका फर्किए । तर एलिजाबेथलाई अमेरिकाको जाडो मन परेन। उनी बिरामी पर्न थालिन्।
आफ्नी पत्नीको अवस्था देखेर फ्रेडरिक फेरि १९०४ मा जर्मनी गए। तर, उनको आगमन जर्मन सेनाका अधिकारीहरूलाई मन परेन। फ्रेडरिकलाई देश छोड्न आदेश दिइएको थियो।
फ्रेडरिकले जर्मनीमा स्ट्याम्प सम्बन्धी केही घोटाला गरेको पनि केही रिपोर्टहरूमा दावी गरिएको छ। यसबाट रिसाएर बाभेरियाका राजाले उनलाई देश छोड्न आदेश दिएका थिए ।
फ्रेडरिकले आफ्नी गर्भवती पत्नी र जवान छोरीलाई न्यूयोर्कमा ल्याए। केही महिनापछि एलिजाबेथले डोनाल्ड ट्रम्पका बुबा फ्रेड ट्रम्पलाई जन्म दिइन्। डोनाल्ड ट्रम्पका बुबा फ्रेड ट्रम्प फ्रेडरिकका तीन सन्तानमध्ये बीचका थिए। उनको जन्म ११ अक्टोबर १९०५ मा न्यूयोर्कमा भएको थियो । उनका बुबा जर्मनीका भए पनि, फ्रेड पूर्णतया अमेरिकी थिए र जर्मन भाषा जान्दैनथे।
उनले अमेरिकामा ट्रम्प परिवारको प्रतिष्ठा निर्माण गर्न निकै मेहनत गरे। फ्रेडलाई बाल्यकालदेखि नै कडा परिश्रम गर्ने रुचि थियो। स्कुलपछि रातको समयमा निर्माणसम्बन्धी प्लम्बिङ, सिकर्मी र बिजुलीको तार लगाउने काम सिक्थे।
१९१५ मा फ्रेड १५ वर्षको हुँदा उनका पिता फ्रेडरिकको मृत्यु भयो र परिवारको जिम्मेवारी उनीमाथि आयो। सन् १९२७ मा फ्रेडले आफ्नी आमाको नाममा ‘एलिजाबेथ ट्रम्प एन्ड सन्स’ नामक रियल स्टेट कम्पनी सुरु गरे फ्रेड ट्रम्प ठूलो मात्रामा घर निर्माणमा संलग्न थिए। छोटो समयमा उनी न्यूयोर्कका सबैभन्दा सफल युवा व्यापारीहरूमध्ये एक भए।
उनले दोस्रो विश्वयुद्धको समयमा सरकारी योजनाहरूको फाइदा उठाउँदै धेरै घरहरू बनाए। उनले ब्रुकलिन र क्वीन्स जस्ता क्षेत्रमा सस्तो घरहरू बनाएर मानिसहरूलाई त्यहाँ भाडामा बस्न दिने गर्थे। उनका परियोजनाहरू ठूला थिए जसले उनलाई राम्रो नाफा दिलायो।
१९३० को दशकमा फ्रेड ट्रम्प एक पार्टीमा गएका थिए जहाँ उनले मेरी एनी म्याकलोड नामक स्कटिश महिलालाई भेटे। माइकल क्रैनिश र मार्क फिशरले आफ्नो पुस्तक ‘ट्रम्प रिभिल्ड’ मा लेखेअनुसार त्यही रात घर फर्केपछि फ्रेडले आफूले विवाह गर्ने महिला फेला पारेको घोषणा गरेका थिए। त्यसपछि १९३६ मा उनीहरूको विवाह भयो।
फ्रेडको व्यापार निरन्तर बढ्दै गयो। तर, उनीसँग जोडिएका केही विवाद पनि थिए । १९७० को दशकमा उनीमाथि अश्वेतहरूलाई घर भाडामा नदिएको आरोप लगाइएको थियो। यसका लागि उनीविरुद्ध मुद्दा पनि परेको थियो ।
डोनाल्ड ट्रम्पको जन्म १४ जुन १९४६ मा अमेरिकाको न्यूयोर्कमा भएको थियो । डोनाल्ड ट्रम्प फ्रेडका पाँच सन्तानमध्ये चौथो हुन्। ट्रम्पका दाजु फ्रेड जुनियर र दुई दिदीहरू थिए । उनका एक भाइ रोबर्ट ट्रम्प थिए जो उनीभन्दा कान्छो थिए। फ्रेड कडा र अनुशासन पालन गर्ने बुबा थिए। आफ्ना छोराछोरी पनि मेहनती बनुन् र ठूला सपना देखून् भन्ने उनको चाहना थियो । उनको छोरा डोनाल्डप्रति विशेष स्नेह थियो।
न्युयोर्क टाइम्सको रिपोर्ट अनुसार डोनाल्ड ट्रम्प ३ वर्षको हुँदा उनले बुवाको ब्यापारबाट वार्षिक २ लाख डलर कमाउन थालेका थिए । ट्रम्प ८ वर्षको हुँदासम्म उनी करोडपति बनिसकेका थिए ।
ट्रम्प साढे दुई वर्षको हुँदा उनकी आमा बिरामी पर्न थालिन् । जसका कारण ट्रम्पको पालनपोषणमा ठूलो प्रभाव पारेको थियो । ट्रम्पकी भतिजी मेरीले बताएअनुसार डोनाल्ड हुर्किँदा उनले आमाको माया पाएनन् । ट्रम्पका जीवनीकार मार्क फिशरका अनुसार – जब कसैले ट्रम्पलाई उनकी आमाले उनलाई कसरी माया गरिन् भनेर सोध्छ, ट्रम्पसँग कुनै जवाफ छैन।
ट्रम्पले न्युयोर्कमा ७ कक्षासम्म पढेका थिए । ट्रम्पको व्यवहार स्कुल पढ्दादेखि नै आक्रामक थियो । उनी विद्यालयमा आफूसँगै पढ्ने बालबालिकालाई कुटपिट र दुर्व्यवहार गर्थे । यसबारे ट्रम्पका बुबालाई बारम्बार गुनासो आउने गरेको थियो । ट्रम्पले आफ्नो भाइलाई घरमा पनि धम्की दिन थालेका थिए । जसका कारण उनका बुवाले उनलाई न्यूयोर्क मिलिटरी स्कूलमा भर्ना गरिदिए । ट्रम्प १३ वर्षको उमेरमा मिलिटरी स्कुल जान बाध्य भएका थिए ।
ट्रम्पको बारेमा किताब लेखेका टिमोथी ओब्रायनका अनुसार ट्रम्पलाई आफ्नो सैन्य विद्यालयको बारेमा कुरा गर्न मन पराउँछन् । ट्रम्पले आफू सैनिक विद्यालयमा पुग्दा लाइनबाट बाहिर निस्केपछि कसैले थप्पड हानेको बताएका थिए ।
ट्रम्पका जीवनीकार मार्क फिशरका अनुसार डोनाल्ड ट्रम्प मिलिटरी स्कुलमा समेत आफ्ना सहपाठीसँग चिच्याउँथे र कराउँथे । आफ्नो बुबाबाट पाएको पालनपोषणले ट्रम्पलाई स्वाभाविक रूपमा प्रतिस्पर्धी बनाएको थियो। मिलिटरी स्कुलमा पनि उनको यस्तै व्यवहार थियो । यहाँ पनि उनी सबैसँग प्रतिस्पर्धा गर्थे ।
‘द ट्रम्प्स’ पुस्तक लेखिका ग्वेन्डा ब्लेयर भन्छिन् – ट्रम्पलाई मिलिटरी स्कूलमा प्रतिस्पर्धा गर्न मन पर्थ्यो। तर, यही कारण उनका सहपाठीले उनलाई मन पराएनन् । ट्रम्पले आफूभित्र नेतृत्वको गुण बोकेर सैन्य विद्यालय उत्तीर्ण गरेका थिए । सन् १९६४ मा सैन्य विद्यालयबाट उत्तीर्ण भएपछि ट्रम्पले फोर्डहम विश्वविद्यालयमा दुई वर्ष अध्ययन गरे ।
त्यसपछि उनी पेन्सिलभेनिया विश्वविद्यालयमा गए। यहाँ उनले रियलस्टेट व्यवसाय सम्बन्धी शिक्षा प्राप्त गरे। यसपछि ट्रम्पले सन् १९६८ मा इकोनोमिक साइन्समा डिग्री लिए । ट्रम्पले आफ्नो दाजु फ्रेडलाई धेरै माया गर्थे। अत्यधिक मदिरा सेवनका कारण ४३ वर्षको उमेरमा फ्रेडको मृत्यु भएको थियो । त्यसपछि ट्रम्पले जीवनभर रक्सी र चुरोट त्याग्ने निर्णय गरे ।
सन् १९६० को दशकको उत्तरार्धमा अमेरिका भियतनाम युद्धमा फसेको थियो। यस समयमा अमेरिकामा प्रत्येक जवान मानिसलाई अमेरिकी सेनामा सेवा गर्न आवश्यक थियो। तर ट्रम्पले त्यसलाई बेवास्ता गरिरहे । खुट्टाको रोग र मेडिकल अध्ययनको बहाना बनाएर उनले ५ पटक सेनाको सदस्य हुन अस्वीकार गरे । भियतनाम युद्धको अन्त्यसँगै अमेरिकामा अनिवार्य सैन्य सेवाको अभ्यास पनि समाप्त भयो।
१९७६ मा एकदिन ट्रम्प न्यूयोर्कको म्याक्सवेल प्लम बारमा थिए । भ्यानिटी फेयर म्यागजिनका अनुसार यो ठाउँमा मोडलहरूले डेटिङका लागि धनी पुरुषहरू खोज्थे। एक साँझ डोनाल्ड ट्रम्प यस बारमा आए। यहाँ उनको नजर चेकोस्लोभाकियाकी मोडेल इभानामा पर्यो। ट्रम्पले उनलाई १०० गुलाब पठाए र बाहिर घुम्न लगे। इभानाले आफ्नो पुस्तक ‘रेजिङ ट्रम्प’ मा लेखेअनुसार ट्रम्पले उनलाई त्यसपछिका ३ महिनासम्म हरेक दिन फोन गर्थे । दुवैले एकअर्कासँग धेरै महिना डेट गरेका थिए ।
सन् १९७७ को नयाँ वर्षको पूर्वसन्ध्यामा ट्रम्पले इभानालाई विवाहको प्रस्ताव राखेका थिए । ट्रम्पले भनेका थिए – “यदि तिमीले मसँग बिहे गरेनौ भने तिम्रो जीवन बर्बाद हुनेछ ।” इभाना विवाहमा सहमत भइन्। दुवैले ९ अप्रिल १९७७ मा विवाह गरेका थिए । ट्रम्पले आफ्नो एक साथीसँग आफूले ५ सन्तान जन्माउन चाहेको बताएका थिए । ताकि कम्तिमा एक बच्चा उनी जस्तै होस् । ट्रम्पले इभानालाई ५ सन्तान जन्माउनका लागि मनाउन थाले । ट्रम्पले उनलाई प्रत्येक बच्चाका लागि २.५ लाख डलर दिएका थिए ।
इभाना र ट्रम्पका ३ सन्तान भए । यसमा डोनाल्ड जूनियर, छोरी इभांका र कान्छो छोरा एरिक समावेश छन्। विवाहको ८ वर्षपछि उनीहरुको सम्बन्धमा दरार आउन थाल्यो । सन् १९८५ मा ट्रम्पले मोडल मार्ला म्यापल्सलाई टेनिस खेलको क्रममा भेटेका थिए । यसपछि दुवैको अफेयर सुरु भयो । १९८९ मा इभाना क्रिसमस बिदामा कोलोराडोको एस्पेन पुगेकी थिइन् । मार्ला म्यापल्स पनि त्यहाँ थिइन् । मार्लाले इभानालाई आफ्नो परिचय दिईन् र भनिन्– “म मार्ला हुँ । म तिम्रो श्रीमानलाई माया गर्छु । के तिमी पनि उनलाई माया गर्छौ ?”
इभानाले आफ्नो पुस्तकमा लेखेकी छिन्– “यो प्रश्न सुनेर म छक्क परें । मैले तुरुन्तै भनेँ– “गेट लस्ट । म मेरो श्रीमानलाई माया गर्छु । मैले मार्लालाई जवाफ त दिएँ, तर म स्तब्ध भएँ। केही समयपछि मैले ट्रम्पसँग सम्बन्धविच्छेद गर्ने निर्णय गरें।”
ट्रम्प र इभानाको झगडा देशभर चर्चित भयो। हरेक दिन ट्रम्प, इभाना र मार्लासँग सम्बन्धित समाचार पत्रपत्रिकामा हेडलाइन बन्ने गरेका थिए । यसैबीच अखबारमा एउटा हेडलाइनले सिंगो राष्ट्रलाई स्तब्ध बनाएको थियो । जसमा लेखिएको थियो- ‘ट्रम्पसँग मेरो जीवनको सबैभन्दा राम्रो शारीरिक सम्बन्ध थियो ।’ यो कुरा मार्लाले मिडियालाई बताएकी थिइन्।
जसका कारण ट्रम्प–इभाना मुद्दा अदालतमा तानिएको थियो । इभानाले ट्रम्पमाथि बलात्कारको आरोप लगाएकी थिइन् । उनीहरुको सम्बन्धविच्छेद सन् १९९० को डिसेम्बरमा भएको थियो । त्यसपछि ट्रम्पले मार्लासँग विवाह गरे । मार्ला त्यतिबेला ७ महिनाकी गर्भवती थिइन् । दुई महिनापछि ट्रम्पको चौथो सन्तान टिफानीको जन्म भयो। तर, मार्ला र ट्रम्पबीचको सम्बन्ध ३ वर्ष मात्र टिक्यो । दुवैले सन् १९९७ मा एकअर्कासँग सम्बन्धविच्छेद गरेका थिए ।
सम्बन्धविच्छेदपछि न्युयोर्क टाइम्सलाई दिएको अन्तर्वार्तामा मार्लाले भनिन्, ‘डोनाल्ड मैले बिहे गर्न चाहेको व्यक्ति थिएननन् । ट्रम्प र उनको संसार मेरो लागि एलियन थियो। उनीबाट अलग भएकोमा म धेरै खुसी छु।’
डोनाल्ड ट्रम्प र मार्लाबीच सम्बन्धविच्छेदको प्रक्रिया चलिरहेको बेला ट्रम्पले स्लोभेनियाली मोडल मेलानिया नाउसलाई भेटेका थिए। पोलिटिकोको रिपोर्टका अनुसार यी दुईबीच पहिलो भेट सन् १९९८ मा न्यूयोर्कमा एउटा पार्टीको क्रममा भएको थियो । यहाँ ट्रम्पले मेलानियासँग उनको फोन नम्बर पनि मागेका थिए ।
सन् २००४ मा मेट गालामा ट्रम्पले मेलानियालाई विवाहको प्रस्ताव राखेका थिए । दुवैले २२ जनवरी २००५ मा विवाह गरेका थिए । मेलानिया र ट्रम्पको ब्यारोन ट्रम्प नामका छोरा पनि छन्। सन् २०१७ मा ट्रम्प राष्ट्रपति बनेपछि मेलानिया अमेरिकाको प्रथम महिला पनि बनेकी थिइन् ।
ट्रम्पको व्यक्तिगत जीवन निकै विवादमा परेको छ । न्युयोर्क टाइम्सका अनुसार ट्रम्प सैन्य विद्यालयमा पढ्दादेखि नै महिलाप्रति आशक्त पुरुष मानिन्थ्यो। ट्रम्पको सम्बन्ध मोडलसँग मात्र नभई पोर्न स्टारसँग पनि थियो । उनको लापरवाह मनोवृत्तिका कारण कम्तीमा १८ महिलाले उनीमाथि यौन शोषणको आरोप लगाएका थिए ।
डोनाल्ड ट्रम्पले आफ्नो दाजु फ्रेड जूनियरको एउटा निर्णयका कारण सबै प्रसिद्धि र विरासत प्राप्त गरे। वास्तवमा फ्रेड जुनियरले आफ्नो बुबाको व्यवसायमा सामेल हुन अस्वीकार गरेका थिए। उनी पाइलट बने । जसका कारण ट्रम्प परिवारको व्यापार सम्हाल्ने सम्पूर्ण जिम्मेवारी डोनाल्ड ट्रम्पको काँधमा आयो । यस समयमा उनी केवल १८ वर्षका थिए ।
ट्रम्पका अनुसार उनका पिताले उनलाई कम्पनीमा आबद्ध हुनुअघि १० लाख डलर ऋण दिएका थिए । कम्पनीमा आबद्ध भएपछि ट्रम्पले आफ्नो बुबालाई न्यूयोर्क शहरमा आवासीय परियोजनाहरूमा मद्दत गर्न थाले।
उनले कम्पनीको नाम परिवर्तन गरेर द ट्रम्प अर्गनाइजेसन राखे । २५ वर्षको उमेरमा डोनाल्ड ‘द ट्रम्प अर्गनाइजेसन’को अध्यक्ष बने । अध्यक्ष बनेपछि सन् १९७० र १९८० को दशकमा ट्रम्प महत्वाकांक्षी घरजग्गा व्यवसायीको रूपमा उभिए। ट्रम्पले कम्पनीमार्फत आवासीय परियोजनाका साथै लक्जरी होटल, क्यासिनो र गगनचुम्बी भवन निर्माणमा लगानी गरेका थिए।
सन् १९७६ मा ट्रम्पले आफ्नो व्यावसायिक जीवनको सबैभन्दा ठूलो निर्णय लिएका थिए । उनले न्युयोर्कको टाट पल्टिएको कमोडोर होटल किने र त्यसको ठाउँमा विलासी होटल निर्माण गर्न हयात समूहसँग सम्झौता गरे। तर, त्यसबेला ट्रम्पसँग यसका लागि पर्याप्त पैसा थिएन ।
यस समयमा उनले आफ्नो बुबाको राजनीतिक प्रभावको फाइदा उठाए। ट्रम्पका बुबा डेमोक्रेटिक पार्टीसँग आवद्ध थिए। उनले न्यूयोर्कका मेयरसँग सम्झौता गरे र होटल करमा ४० वर्षको छुट पाए। यसपछि सन् १९८३ मा ट्रम्पले न्यूयोर्क शहरको म्यानह्याटनको फिफ्थ एभिन्यूमा ५८ तले भवन निर्माण गरेका थिए । यसलाई ट्रम्प टावर भनिन्छ।
ट्रम्प ८० को दशकमा क्यासिनो व्यवसायमा प्रवेश गरेका थिए । उनले सन् १९८४ मा ट्रम्प प्लाजा र १९९० मा ट्रम्प ताजमहल जस्ता क्यासिनो बनाएका थिए । ट्रम्पले ताजमहल क्यासिनो बनाउन १ अर्ब डलर खर्च गरेका थिए । त्यसपछि उनले यसलाई संसारको आठौं आश्चर्य भने।
घरजग्गा व्यवसायी हुनुका साथै ट्रम्पले आफूलाई सेलिब्रेटीको रुपमा पनि जनतासामु प्रस्तुत गरेका छन् । प्रसिद्धि हासिल गर्न डोनाल्ड ट्रम्पले सन् १९९६ मा मिस युनिभर्स, मिस युएसए र मिस टिन युएसए गरी तीनवटा सौन्दर्य प्रतियोगिताको प्रायोजन किनेका थिए । मिस युनिभर्स अन्तर्राष्ट्रिय स्तरमा आयोजना हुन्छ । संसारभरका मिडियाहरू यसलाई कभर गर्न आउँछन्। यसबाट ट्रम्पले पूरा फाइदा उठाए र विश्व स्तरमा चिनिए ।
तर, २०१५ मा राष्ट्रपति बन्नुअघि ट्रम्पले ल्याटिन अमेरिकीहरूविरुद्ध जातिय टिप्पणी गरेका थिए, जसका कारण टिभी च्यानलहरूले उनले प्रायोजन गरेका सौन्दर्य प्रतियोगिता कार्यक्रम प्रसारण गर्न अस्वीकार गरेका थिए। यसपछि ट्रम्पले तीनवटै प्रतियोगिताको प्रायोजन अधिकार बेचेका थिए ।
ट्रम्प सन् २०१५ मा आधिकारिक रूपमा अमेरिकी राजनीतिमा प्रवेश गरेका थिए। उनले रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवारको रुपमा चुनाव लड्ने घोषणा गरेका थिए । ट्रम्पले ‘मेक अमेरिका ग्रेट अगेन’ भन्ने नाराका साथ चुनावी अभियान सुरु गरेका थिए ।
रिपब्लिकन पार्टीको प्राथमिक चुनावमा ट्रम्पले फेब्रुअरी २०१६ को प्रारम्भमा आयोवामा पराजयको सामना गरेका थिए । तर चाँडै उनले पुनरागमन गरे र अन्य राज्यहरूमा प्राइमरी जित्न सफल भए। मे २०१६ ट्रम्प उनका अन्तिम दुई प्रतिद्वन्द्वी टेड क्रुज र जोन कासिच दौडबाट बाहिरिएपछि रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार बने।
सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पले डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनसँग प्रतिस्पर्धा गरेका थिए । ट्रम्पले चुनावमा हिलारीको तुलनामा करिब २८ लाख कम पपुलर भोट पाएका थिए तर धेरै इलेक्टोरल भोट ट्रम्पको पक्षमा आएका थिए । जसका कारण सन् २०१७ मा ट्रम्प अमेरिकाको राष्ट्रपति बने ।
राष्ट्रपति बनेपछि ट्रम्पले आप्रवासीप्रति कडा रवैया अपनाएका थिए। आफ्नो कार्यकालमा ट्रम्पले अमेरिका र मेक्सिको सीमामा पर्खाल बनाउने योजनामा काम सुरु गरेका थिए । राष्ट्रपति हुँदा ट्रम्पले धेरै मुस्लिम देशका आप्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए।
ट्रम्पले राष्ट्रपति रहँदा अर्बपतिलाई फाइदा हुने काम गरेको आरोप पनि लागेको थियो। ट्रम्पले २०१७ मा कर कटौती र रोजगार ऐन लागू गरे। यसमार्फत ठूला कम्पनी र धनी व्यक्तिका लागि कर कटौती गरिएको थियो।
राष्ट्रपति हुँदा ट्रम्पलाई दुई पटक महाभियोग लगाइएको थियो । २०१९ मा पहिलो महाभियोग युक्रेनका राष्ट्रपतिलाई जो बाइडेनमाथि छानबिन गर्न दबाब दिएको सम्बन्धमा थियो । दोस्रो महाभियोग २०२१ मा क्यापिटल दंगालाई उक्साएको आरोपमा थियो। दुवै पटक उनी सिनेटमा निर्दोष ठहर भए।
ट्रम्पले विदेश नीतिमा अमेरिका फर्स्टको नीतिलाई जोड दिएका छन् । उनले पेरिस जलवायु सम्झौता र इरान आणविक सम्झौताबाट अमेरिकालाई बाहिर निकालेका थिए। राष्ट्रपति रहँदा ट्रम्पले उत्तर कोरियाली शासक किम जोङ उनसँग पनि कुराकानी गरेका थिए ।
डेमोक्रेटिक पार्टीले वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । कमला ह्यारिसको जन्म अक्टोबर २०, १९६४ मा ओकल्याण्ड, क्यालिफोर्नियामा भएको थियो। उनी दुई आप्रवासीको छोरीको रूपमा जन्मिएकी थिइन्। उनकी आमा श्यामला गोपालन स्नातक पछि १९ वर्षको उमेरमा भारतको तमिलनाडुबाट अमेरिका पुगेकी थिइन् ।
१९५८ मा अमेरिकामा अश्वेतहरू आफ्नो अधिकारको लागि लडिरहेका थिए। यहाँ श्यामलाले जमैकन केटा डोनाल्ड ह्यारिसलाई भेटिन् । दुवै काला थिए र वर्षौंदेखि बेलायतको दास बनेका देशहरूबाट अमेरिका आएका थिए। यी समानताहरूले उनीहरूलाई नजिक ल्यायो र उनीहरू प्रेममा परे। उनीहरू असमानता र रंगभेद विरुद्ध सँगै प्रदर्शनमा सामेल हुन थाले। श्यामलाको पढाइ सकेर स्वदेश फर्कने योजना थियो तर त्यो हुन सकेन । डोनाल्डको मायाले श्यामलालाई अमेरिकामा राख्यो । दुवैले सन् १९६३ मा विवाह गरेका थिए ।
कमला श्यामला र डोनाल्डको पहिलो सन्तान हुन् । न्यूयोर्क टाइम्सका अनुसार कमला सानै छँदा श्यामला र डोनाल्डले उनलाई साथमै प्रदर्शनमा लैजान्थे। कमला जन्मेको तीन वर्षपछि बहिनी मायाको जन्म भयो ।
तर, त्यतिबेलासम्म उनका बाबुआमाबीच मतभेद बढ्दै गएको थियो । एक अन्तर्वार्तामा कमला ह्यारिसले आफ्ना आमाबुवाबीचको सम्बन्ध तेल र पानीजस्तो भएको बताएकी थिइन् । उनीहरु सँगै बस्न सकेनन् ।
विवाहको ९ वर्षपछि सन् १९७२ मा दुवैको सम्बन्धविच्छेद भयो । त्यतिबेला कमला ७ वर्षकी थिइन् । आमा श्यामला र बुबा डोनाल्डले उनको संरक्षकत्वका लागि क्यालिफोर्नियाको अदालतमा लामो लडाइँ लडे। लडाइँ आमाले जितिन् ।
कमलाका बुबाले आफ्नो पुस्तक ‘रिफ्लेक्शन्स अफ अ जमैकन फादर’ मा लेखेका छन्, “त्यसबेला अदालतको विश्वास थियो कि बाबुहरूले आफ्ना छोराछोरीलाई हुर्काउन सक्दैनन्। त्यसमाथि म कालो बुबा हुँ। यति हुँदाहुँदै पनि छोराछोरीको माया जित्ने प्रयास मैले कहिल्यै छोडिन।” सम्बन्धविच्छेद पछि कमला ह्यारिस र उनकी बहिनीलाई उनकी आमाले हुर्काइन् । जसका कारण कमलामा भारतीय संस्कृतिको धेरै प्रभाव छ । कमलाकी आमा तमिल ब्राह्मण थिइन्।
देवीदेवताको पूजा गर्ने संस्कृतिमा हुर्केकाले महिलाहरू बलियो र साहसी हुन्छन् भन्ने उनको विश्वास थियो। श्रीमान्सँग सम्बन्धविच्छेद भए पनि श्यामला गोपालनले आफ्ना छोरीहरूलाई भारतीय मात्र होइन आफ्ना बुबाको अफ्रिकी संस्कृतिबारे पनि सिकाइन्। जब कमला ५ वर्षकी थिइन् उनले अमेरिकाको इतिहासको सबैभन्दा महत्त्वपूर्ण सामाजिक प्रयोगमा भाग लिइन्।
अमेरिकामा रंगभेदका कारण काला र गोरा बालबालिकाका लागि छुट्टाछुट्टै विद्यालय थिए । यो व्यवस्था १९५४ मा असंवैधानिक घोषित गरिएको थियो। यति हुँदाहुँदै पनि धरातलीय यथार्थ परिवर्तन भएको थिएन । गोरा अभिभावकहरू सडकमा उत्रिए । उनीहरू आफ्ना छोराछोरीलाई कालाहरूसँग पढाउन चाहँदैनथे।
सरकारले अवस्था सुधार्ने व्यवस्था सुरु गरेको थियो । यसअन्तर्गत काला बालबालिकालाई बसमार्फत ठूला र आधुनिक विद्यालयमा पुर्याइएको थियो । तीमध्ये अधिकांश स्कुलमा गोरा बालबालिका पढ्थे । सरकारी बसमा गोरा बालबालिकाका लागि बनाइएका ठूला विद्यालयमा पढ्न आउने बालबालिकामध्ये कमला ह्यारिस पनि थिइन् ।
कमला ह्यारिस १२ वर्षकी हुँदा उनी अमेरिका छोडेर आमा र बहिनीसँग क्यानडा जान बाध्य भइन्। उनकी आमाले त्यहाँको म्याकगिल विश्वविद्यालयमा शिक्षकको जागिर पाएकी थिइन्। कमलालाई अमेरिका छाड्न पटक्कै मन लागेन । कमलाले आफ्ना साथीहरूलाई सधैं मिस गरिन्। उनले आफ्नो जीवनीमा लेखेकी छिन्, “रमाइलो मौसम भएको क्यालिफोर्निया छोडेर १२ फिट हिउँले ढाकिएको मोन्ट्रियल जानु निकै नराम्रो अनुभव थियो।”
क्यानडामा बिताएका ५ वर्षमा कमलाले ४ वटा विभिन्न विद्यालयमा अध्ययन गरिन् । उनका साथी डीन स्मिथले अङ्ग्रेजी पत्रिका डेली मेललाई भनेकी छिन्, ‘कमलको स्कुलका दिनमा प्रेमी थिएन । उनी केटाहरूसँग मित्रताका लागि होइन, पढाइका लागि मात्र विद्यालयमा आएकी थिइन् ।’
यसै क्रममा उनकी अर्की साथी वान्डा कागनले कमलाको व्यक्तित्व शक्तिशाली भएको बताइन् । एक पटक वान्डाले कमलालाई आफ्नो सौतेनी बुबाले यौन दुर्व्यवहार गरेको बताइन्। यो सुनेपछि कमलाले वान्डालाई आफ्नो घरमा बोलाएर त्यहाँ राखिन् । कमलाकी आमा र बहिनी मायाले पनि उनलाई सहयोग गरे ।
क्यानडामा आफ्नो स्कुलिङ पूरा गरेपछि कमला अमेरिका फर्किन् जहाँ उनी हावर्ड विश्वविद्यालयमा भर्ना भइन्। यहाँ कमलाले आफ्नी आमाले जस्तै अश्वेतहरूको अधिकारका लागि धेरै प्रदर्शनहरू गरिन् । स्पष्ट रूपमा आफ्नो विचार व्यक्त गरेका कारण उनले हावर्ड युनिभर्सिटीको डिबेट क्लबमा स्थान पाइन् । सन् १९८३ मा कमला ह्यारिस विद्यार्थी पत्रिकाका सम्पादकलाई बर्खास्त गरेको विरोधमा विश्वविद्यालय प्रशासन भवन बाहिर विरोधमा बसिन् । यहीँबाट उनले राजनीति र सार्वजनिक जीवन सुरु गरिन् ।
हार्वर्डबाट राजनीतिशास्त्रमा स्नातक गरेपछि कमलाले सन् १९८९ मा कोलम्बिया विश्वविद्यालयबाट कानुनको अध्ययन पूरा गरिन् । १९९० मा उनी क्यालिफोर्नियाको स्टेट बार काउन्सिलमा सामेल भइन् र सहायकको रूपमा काम गर्न थालिन्।
१९९४ मा उनले ६० वर्षीया विली ब्राउनलाई भेटिन् । त्यतिबेला उनी क्यालिफोर्निया विधानसभाका सभामुख थिए । यस समयमा कमला ३० वर्षकी थिइन् र करियरको प्रारम्भिक चरणमा थिइन् । उमेरमा ठूलो अन्तर भए पनि दुवैले एकअर्कालाई २ वर्ष डेट गरेका थिए । एक अन्तर्वार्तामा कमलाले विलीसँगको आफ्नो सम्बन्धबारे भनेकी थिइन् ।
वास्तवमा यही सम्बन्धका कारण कमलालाई विलीकी रखेल पनि भनिन्थ्यो । जब कमला २०२० मा उपराष्ट्रपतिको उम्मेदवारमा निर्वाचित भइन्, कमलाको विलीसँगको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा निकै आलोचना भएको थियो। उनलाई घर तोड्ने व्यक्तिको रूपमा वर्णन गरिएको थियो।
यसबाट समस्यामा परेपछि विली ब्राउनले उनीहरू सम्बन्धमा हुँदा आफूले पहिले नै आफ्नी श्रीमतीसँग सम्बन्ध विच्छेद गरिसकेको स्पष्ट गरेका थिए। कमलाका आलोचकहरूले उनलाई विलीको पदको फाइदा उठाएको आरोप लगाउँछन्।
२००३ मा कमला सान फ्रान्सिस्को जिल्ला अधिवक्ताको चुनाव लड्दै थिन् । यही क्रममा विपक्षीले कमला र विलीबीच ७ वर्षअघि टुटेको सम्बन्ध सार्वजनिक गरेका थिए । कमलालाई राजनीतिमा हराउनका लागि उनका विरोधीहरूले उनको व्यक्तिगत जीवनलाई सतहमा ल्याए ।
उनीहरूले कमलाले विली ब्राउनसँगको सम्बन्धको प्रयोग गरी एकैपटक दुईवटा सरकारी पद प्राप्त गरेको आरोप लगाए । तर, यी आरोपका बाबजुद कमला जिल्ला न्यायाधिवक्ताको निर्वाचनमा विजयी भइन् ।
उनी क्यालिफोर्नियाबाट यस पदमा निर्वाचित पहिलो अफ्रिकी-एसियाली महिला बनिन्। कमलाले सन् २००१ मा सेलिब्रेटी एन्कर मोन्टेल विलियम्सलाई पनि डेट गरेकी थिइन् । मोन्टेलले अमेरिकाको प्रसिद्ध टिभी कार्यक्रम होस्ट गर्थे। उनी पनि सम्बन्धविच्छेद भएका व्यक्ति थिए ।
मोन्टेलले कमला र उनकी छोरीलाई रेड कार्पेट कार्यक्रममा ल्याए। कमलालाई अमेरिकी जनतामा ठूलो कार्यक्रममा चिनाइएको यो पहिलो पटक थियो। तर, उनीहरुको सम्बन्ध लामो समय टिक्न सकेन । त्यसपछि कमलाले आफ्नो करियरलाई मजबुत बनाउन थालिन् । २०१० मा उनी क्यालिफोर्निया राज्यको महान्यायाधिवक्ता चुनिइन् । यो स्थान हासिल गर्ने उनी पहिलो अश्वेत महिला थिइन्।
क्यालिफोर्नियाको महान्यायाधीवक्ता बनेको ३ वर्षपछि कमलाले डगलस एमहफलाई भेटिन् । यो एक ब्लाइन्ड डेट थियो। कमलाको नजिकको साथी क्रिसेट हडलिनले यी दुईको परिचय गराएकी थिइन्। डगलस एक सम्बन्धविच्छेद भएका व्यक्ति थिए । उनको पहिलो पत्नी क्रिस्टनसँग १९९२ मा विवाह भएको थियो र उनीहरूका एक छोरी र एक छोरा थिए।
डगलस पेशाले वकिल हुन्। कमला ह्यारिसले एक अन्तर्वार्ताका क्रममा आफूलाई डगलसको सेन्स अफ ह्युमर मन परेको बताएकी थिइन् । एक वर्ष सम्बन्धमा रहेपछि दुवैले २०१४ मा विवाह गरेका थिए ।
कमलाका आफ्नै सन्तान छैनन् । यस विषयमा विपक्षीहरुले उनको आलोचना गरिरहेका छन् । रिपब्लिकन पार्टीका उपराष्ट्रपति उम्मेदवार जेडी भान्सले २०२१ मा कमलाको नाम नलिइकन भनेका थिए, “बच्चाविनाको क्याट लेडीले देश चलाइरहेको छ। जसको आफ्नै सन्तान पनि छैन, जसको व्यक्तिगत जीवन ठीक छैन, उनीहरुले देश बिगारिरहेका छन् ।” तर, कमलाले आफ्ना दुई सौतेनी सन्तान हुर्काउन मद्दत गर्छिन् । डगलस एमहोफका दुवै छोराछोरीले उनलाई मोमाला भनेर बोलाउँछन्।
जब कमलाले वकालतलाई करियरको रूपमा रोजेकी थिइन् उनकी आमालाई त्यो खासै मन परेन । कानुनमार्फत महिला, बालबालिका र अश्वेतको जीवनमा सुधार गर्नका लागि वकिल बनेको कमला बताउँछिन् । यद्यपि यो पनि तथ्य हो कि वकिलहरूले अमेरिकी राजनीतिमा प्रभुत्व जमाएका छन्।
हावर्ड युनिभर्सिटीका अनुसार स्वतन्त्रतादेखि २०१५ सम्मका ६० प्रतिशत अमेरिकी राष्ट्रपतिहरू वकिल थिए। अमेरिकी कांग्रेसमा ४० प्रतिशत भन्दा बढी सांसदहरू वकिल हुन्। कमलाको राजनीतिक करियरको पहिलो चरण वकालत थियो। उनी जिल्ला अधिवक्ताबाट राज्य अधिवक्ता र त्यसपछि सिनेटमा पुगिन्।
जिल्ला न्यायाधिवक्ता बनेको एक वर्षमै कमला आफ्नो कार्यशैलीलाई लिएर विवादमा तानिएकी थिइन् । यी विवादहरूले कमलाको लोकप्रियता बढायो। २००४ मा एक आपराधिक गिरोहको एक सदस्यले एक पुलिसकर्मी, आइज्याक एस्पिनोजालाई गोली हानेर मारेका थिए । हत्यारालाई मृत्युदण्ड दिनुपर्ने माग जनताले गरेका थिए । तर, सरकारी वकिलको हैसियतमा कमलाले मृत्युदण्डको माग गरिनन् । प्रहरी मात्र होइन क्यालिफोर्नियाका सिनेटरले समेत यस विषयमा उनको विरोध गरेका थिए ।
एक वकिलको रूपमा कमलाले मृत्युदण्डको सजाय घटाउन काम गरिन् । न्यायपालिकाले सजाय दिनेभन्दा अपराध रोक्नेतर्फ बढी ध्यान दिनुपर्ने उनको भनाइ छ । उनले सानातिना अपराधको सजाय पनि कम गरेकी छिन् । कमलाले ब्याक अन ट्र्याक कार्यक्रम सुरु गरिन् । जसअन्तर्गत साना अपराध गर्ने व्यक्तिहरूलाई अपराध छोडेर सामान्य जीवनयापन गर्न विद्यालय शिक्षा र रोजगारीसम्बन्धी तालिम दिइएको थियो।
छोराछोरीलाई शिक्षाका लागि विद्यालय नपठाउने अभिभावकलाई कारबाही गर्न पनि कमलाले ध्यानाकर्षण गराइन् । यो अपराधलाई ट्रान्जेन्सी भनिन्छ। यसको सबैभन्दा ठूलो असर काला जातिमा परेको थियो । जसका कारण कमलाको निकै आलोचना भएको थियो । तर, कमलाका लागि अभियान चलाउनेहरू यसका कारण ट्रान्जेन्सीमा ३३ प्रतिशतले कमी आएको बताउँछन् ।
कमलाको राजनीतिको बारेमा २०१९ मा पोलिटिको पत्रिकामा पत्रकार माइकल क्रुजले लेखेका थिए, “सान फ्रान्सिस्कोको चमस-दमक हुने विवाहदेखि लिएर परोपकारी कार्यक्रम र ठूला रेष्टुरेन्टहरूमा कमलाले शहरका धनीहरूसँग सम्पर्क राखिन् । आफ्नो राजनीतिक करियरको हरेक मोडमा उनी आफूलाई सहयोग गर्नेहरूसँग सम्पर्कमा रहिन् ।”
कमला ह्यारिस सन् २०१६ मा चुनावी राजनीतिमा प्रवेश गरेकी थिइन् । त्यही वर्ष डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बनेका थिए। कमला ह्यारिसलाई बाराक ओबामा र जो बाइडेनको समर्थन थियो। त्यतिबेला उनी सिनेटमा निर्वाचित हुने दोस्रो अश्वेत महिला बनिन्। सांसद बनेको दुई वर्षपछि कमला ह्यारिस २०१९ मा राष्ट्रपतिको उम्मेदवार बन्ने प्रतिस्पर्धामा उत्रिइन् ।
त्यतिबेला कमला ह्यारिसले राष्ट्रपति पदको उम्मेदवार बहसमा बाइडेनको हातबाट पराजय भोग्नुपरेको थियो । त्यसपछि उनले उम्मेदवारीको दौडबाट नाम फिर्ता लिइन् । २०२० मा बाइडेनले कमला ह्यारिसलाई आफ्नो उप-राष्ट्रपति उम्मेद्वारको रूपमा घोषणा गरे।
२०२० मा बाइडेनको विजयपछि कमला ह्यारिस अमेरिकी इतिहासमा पहिलो अश्वेत महिला उपराष्ट्रपति निर्वाचित भएकी थिइन् । राजनीतिमा प्रवेश गरेको ७ वर्षमै उनी अहिले राष्ट्रपतिको उम्मेदवार बनेकी छिन् । न्युयोर्क टाइम्सका अनुसार उम्मेदवारीमा ढिलो भए पनि उनले तेस्रो पटक राष्ट्रपतिको चुनाव लड्दै गरेका ट्रम्पलाई कडा टक्कर दिइरहेकी छिन् । पोलमा कमला ७ मध्ये ५ महत्वपूर्ण राज्यमा ट्रम्पभन्दा अगाडि छिन् ।
उनले जितिन् भने अमेरिकाको पहिलो महिला राष्ट्रपति बनेर इतिहासमा सदाको लागि आफ्नो नाम दर्ता गराउने छिन् । अमेरिकामा आज चुनाव हुँदैछ । अमेरिकी लोकतन्त्रको २३१ वर्षको इतिहासमा दोस्रो पटक महिला राष्ट्रपतिको उम्मेदवार बनेकी छिन् । सबैभन्दा पहिले २०१६ मा हिलारी क्लिन्टन राष्ट्रपतिको उम्मेदवार थिइन् भने यस चुनावमा कमला ह्यारिस छिन् । दुवैको प्रतिस्पर्धा डोनाल्ड ट्रम्पसँग भयो ।
अमेरिकाको २३ दशक पुरानो राजनीतिक इतिहासमा कुनै महिला राष्ट्रपति बन्न सकेका छैनन् । यसपटक कमला ह्यारिससँग इतिहास रच्ने अवसर छ । अमेरिकामा आजसम्म राष्ट्रपतिलाई मिस्टर प्रेसिडेन्ट भनेर सम्बोधन गरिएको छ । ४ वर्ष अघिसम्म अमेरिकामा सेकेण्ड जेन्टलम्यान पनि थिएनन् । कमलाले अमेरिकालाई पहिलोपटक सेकेण्ड जेन्टलम्यान दिएकी थिइन् । यसपटक उनले अमेरिकालाई पहिलोपटक फर्स्ट जेन्टलम्यान पनि दिन सक्छिन् र इतिहास रच्दै ‘मिस्टर प्रेसिडेन्ट’ सम्बोधनलाई ‘म्याडम प्रेसिडेन्ट’ सम्बोधनमा परिणत गर्न सक्छिन् ।
Facebook Comment