फ्रान्समा पैगम्बर मोहम्मदको कार्टुन देखाउने शिक्षकको हत्याको मुद्दामा सुनुवाइ सुरु
काठमाडौं । फ्रान्सको राजधानी पेरिसमा एक शिक्षक सामुएल प्याटीको हत्यारालाई उक्साउने र सहयोग गरेको अभियोगमा आठ जनाविरुद्ध पेरिसको अदालतमा सुनुवाइ सुरु भएको छ ।
अक्टोबर १६, २०२० मा चेचन्या निवासी अब्दुल्लाख अन्जोरोभले पेरिसमा आफ्नो स्कूल बाहिर शिक्षक सामुएल प्याटीको हत्या गरे।
तर, सो क्रममा प्रहरीको गोली लागेर अब्दुल्लाखको पनि मृत्यु भएको थियो । तर अब यो हत्यामा सहयोग गर्ने वा दुरुत्साहन गरेको अभियोगमा आठ जना विरुद्धको सुनुवाइ आगामी सात सातासम्म जारी रहनेछ ।
मुद्दामा दुई प्रतिवादीहरू शिक्षकलाई इन्टरनेटमा ‘निंदा गर्ने’ लेबल लगाएको आरोप लगाइएको छ, जबकि अन्य प्रतिवादीहरू अन्जोरोभलाई विभिन्न तरिकामा मद्दत गरेको आरोप लगाइएको छ।
सामुएल प्याटी राजधानी पेरिसको उपनगर कन्फ्लान्स-सेन्ट-होनोरेको स्कूलमा शिक्षक थिए। सन् २०२० मा ६ अक्टोबरमा उनले बालबालिकालाई ‘फ्रीडम अफ स्पीच’ सिकाउँदै थिए ।
उनले यसअघि पनि धेरैपटक बालबालिकालाई यस विषयमा पढाएका थिए ।
यस क्रममा उनले सन् २०१५ मा फ्रान्सेली पत्रिका ‘चार्ली हेब्दो’ मा काम गर्ने व्यक्तिमाथि भएको हमलाको उल्लेख गरेका थिए र चार्ली हेब्दोले प्रकाशित गरेको पैगम्बर मोहम्मदको कार्टुनलाई छोटकरीमा देखाएका थिए ।
तर, त्यसो गर्नुअघि उनले यस्ता कार्टुन हेर्न मन नमान्ने विद्यार्थीलाई आँखा बन्द गर्न भनेका थिए ।
त्यसबेलाका केही समाचारमा केही मुस्लिम अभिभावकले शिक्षकप्रति गुनासो गरेको खबर आएको थियो ।
सन् २०१५ मा पेरिसमा रहेको व्यंग्य पत्रिका चार्ली हेब्दोको कार्यालयमा भएको आक्रमणमा पत्रिकाका चर्चित कार्टुनिस्टसहित १२ जनाको मृत्यु भएको थियो ।
चार्ली हेब्दो पत्रिकालाई पैगम्बर मोहम्मदको विवादास्पद कार्टुन प्रकाशित गरेकोमा निशाना बनाइएको थियो ।
Facebook Comment