हालसम्म एक सय ६२ सडक मानवको उद्धार

डिसी नेपाल
२० कार्तिक २०८१ १७:२४

गलकोट। २३ दिनअघि देखि प्रारम्भ भएको मानव सेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान आज बागलुङ आइपुगेको छ। आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी, उद्धार अभियानका सहयोगकर्ता आनीछोयङ्ग डोल्मा सहितको ५० सदस्यीय समूहले हालसम्म एक सय ६२ सडक मानवको उद्धार गरेको जनाएको छ।

समूहले एक सय २१ पुरुष, ३६ महिलाका साथै चारजना बालिका र एकजना बालकको उद्धार गरेको हो। अभियानकै क्रममा हाल गण्डकी प्रदेशमा उद्धार अभियान जारी रहेको अध्यक्ष अधिकारीले बताए। ‘पोखरामा दुई बालिकाको उद्धार गरेका छौँ’, उनले भने।

यसैबीच, कार्यक्रममा बागलुङका स्थानीय तीर्थप्रसाद श्रेष्ठले निर्माणाधीन मानव सेवा आश्रमको भवन निर्माणका निम्ति एउटा कोठा बराबरको सहयोग गर्ने प्रतिबद्धता जनाए। धौलागिरिका चार जिल्ला कार्यक्षेत्र भएको बागलुङ शाखामा ६३ जना सहयोगापेक्षी आश्रित छन्। हाल मानव सेवा आश्रमको भवन बागलुङ नगरपालिका–४ निरयघाटमा निर्माणाधीन छ।

चाडपर्वमा कोही सडकपेटीमा बस्न नपरोस् भन्ने उद्देश्यले मेची–महाकाली राष्ट्रिय उद्धार अभियान प्रारम्भ भएको हो। अभियानको खर्च गायिका आनीछोयङ्ग डोल्माले व्यहोरेकी हुन्। मेची–महाकाली राष्ट्रिय उद्धार यात्रामा ५० जना यात्री छन्। केन्द्रले सातवटै प्रदेशका १९ जिल्लामा २५ वटा शाखामार्फत सेवा गर्दै आएका छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *