न्युवृन्दावनको त्यो रति रस
धेरै पहिलेदेखि मेरी श्रीमती भन्दै थिइन्, ‘बूढा, भर्जिनियाँमा संसारकै सबैभन्दा ठूलो वृन्दावन बनाइएको छ रे। एकदम राम्रो छ रे। जाऊँन एकपल्ट।’
अमेरिकामै बसेको भए पनि भर्जिनियाँ जाने मेसो मिलिरहेको थिएन। तर संयोग यस्तो भयो कि अमेरिकाको बाल्टिोमोरमा बसोबास गरिरहेको मेरो साहिँलो भाइ चन्द्रका छोराहरू आशिष र गौरवको व्रतमन्न हुने निम्तो आयो। यो एउटा अवसर थियो बाल्टीमोर घुम्ने। र, नक्सामा खोजेँ। बाल्टीमोरबाट भर्जिनियाँ ३÷४ घण्टाको यात्रा रहेछ।
यहाँहरूलाई म बताऊँ कि मैले परिवारबाट खप्की खाने विषय कुम्लोकुटुरो बोक्ने र हिँडिहाल्ने स्वभाव हो। मलाई लाग्छ कि मान्छे एउटा सीमामा बाँचेको हुन्छ। मान्छेका आफ्नै उमेरजन्य चक्रलाई सम्झिन्छु र ‘जिउ छँदै घिउ खाने’ विचार आइहाल्छ। जिउ थन्किएपछि त घिउको पनि के काम? मरेपछिको हरियो काँक्रोको पनि के काम? मरेपछिको स्वर्गका र नर्कका तानाबानाको पनि के काम?
व्रतमन्नमा जाने कुरा सुन्नेबित्तिकै मेरी श्रीमतीले न्युवृन्दावनको सपना देख्नथालेकी छिन्। उनको कुरालाई मैले सहजताका साथ लिएको छु र भनेको छु, ‘भाइले लगिदिए जाऊँला। नत्र रेल तथा बसमा दुबै बूढाबूढी मात्र भए पनि जाऊँला। पैसा तिरेपछि खान बस्न पाइहालिन्छ रे।’
यसै बीच हाम्रो योजना थाहा पाएर मेरी जेठी छोरी अनुशीलाले हामीलाई फोन गरेर भनेकी छिन्, ‘हामी गएका छौं। त्यो धेरै टाढा छ। दुर्गममा छ। यातायातको साधन केही पाइन्न। आफ्नै गाडी नभई नजानू। आँट नगर्नू।
निम्तो गर्न भाइको फोन आएको छ। मैले आफ्नो इच्छा ‘न्युवृन्दावन जाने छ’ भनेर सुनाएको छु। भाइको ‘पहिले आउनू अनि सल्लाह गरौंला। हामी पनि गएका छैनौँ’ भन्ने प्रतिक्रियाले हामी उत्साहित भएका छौँ।
सन २०२१ को अप्रिल महिनाको २९ तारिक बिहीबारका दिन व्रतमन्न मान्न टेक्ससबाट बाल्टीमोर आइपुगेका छौँ। व्रतमन्न सकिएको छ। व्रतमन्न घरबाट गरेको चटारो देखेर वृन्दावन जान सायद मिल्दैन होला भन्ने सोचिरहेको छु। तर भाइको ‘एक हप्ता बस्नु, अर्को हप्ता विकेन्डमा जाऊँला।
सासूससुरा पनि आउनुभएको छ। सबै जना जाऊँला’ भन्ने कुरा सुनेर म एकदम खुसी भएको छु। हामी त वृन्दावनका लागि एक महिना पनि बस्न तयार छौँ। किनभने बुढारी जीवन हो हाम्रो। ‘घरले जाजा, बनले आइजआइज’ भन्ने समय हो यो। बित्दोबिग्रँदो केही छैन। त्यसैले रमाएका छौँ हामी।
सन २०२१ को मे महिनाको ७ तारिक शुक्रबार दिउँसोको १२ बजे हामी याने कि भाइबुहारी, हामी दुई बूढाबूढी, भाइका सासूससुरा, सालीसाडुभाइ, सालीकी छोरी, बुहारीका भाइबुहारी तथा उनीहरूका परिवार गरेर ३ वटा गाडीमा जम्मा १६ जना बाटो लागेका छौँ।
अब भने हाम्रो न्युवृन्दावन जाने धोको पूरा हुँदै छ। मोबाइल खोलेर जिपिएस हेर्दै छु। भाइको घर बाल्टिमोरबाट न्युवृन्दावन २७३ माइल दूरी बताइरहेको छ। न्युवृन्दावन जाने हाइ वेहरू समात्दै फेरि ससाना साँघुरा बाटाहरूमा यात्रा गर्न थालेका छौँ। यात्रा निकै रोमाञ्चक छ।
हाइवेका छेउछेउमा नेपालमा खोलाबाट बालुवा झिकेर ढेरी लाएझैं ठूलाठूला श्वेत ढिम्कीहरू देखेर जिज्ञासा राखेको छु। खासमा त्यो त हिउँदमा हिउँ पगाल्ने नुनलाई थुपारेर राखिएको पो रहेछ।
गाडी तुफान बत्तिएको छ। पहाड काटेर बनाइएका बाटाहरूले छुट्टै रोमाञ्चकता पस्किँदै छन्। बाटाका छेउका हरिया र घना जंगलले त्यो रोमाञ्चकतामा सुगन्ध थप्दै छन्। हिँड्दा प्रचण्ड गर्मी भएकाले गाडीमा फुल पावर एसी चलाएका छौँ। जाँदाजाँदै बाहिरी वातावरण चिस्सिएको छ। र, गाडीलाई हिटिङ सिस्टममा राखेर चलाउनु परेको छ। बाटाभरि राता, पहेँला, नीला, हरिया रुखहरू देखिँदै छन्।
बाटैमा एउटा सुन्दर सफा र बग्दै गरेको निलो पानीको नदी देखियो। नदीका किनारमा कतै सहर छन् भने कतै घना जंगल छन्। सहरले त्यो नदीलाई फोहोर पारेको छैन। वनले नदीमा प्राकृतिकता थप्दै गरेको छ। हेर्दाहेर्दै हाम्रो गाडीलाई जिपिएसले पहाडको लेकमा पुर्याएको छ। बाटोका किनारमा चिहान पार्कहरू देखिएका छन्।
ती चिहान पार्कमा मरेका मान्छेको सम्झनाका लागि च्याप्टा ढुङ्गामा अक्षर खोपेर उभ्याइएका छन्। पार्क हरियो दुबोले शोभित छ। सफा छ। ठाउँठाउँमा फूलहरू फुलिरहेका छन्। मनमोहक छ। त्यो नेपालको चिहान डाँडा जस्तो अव्यवस्थित छैन।
तर्साउने मान्यतामा आधारित छैन। मृतआत्मालाई पनि सुन्दर र शान्त वातावरण दिइएको छ। नेपालको पथरीतिरको वनलाई सम्झेको छु। त्यहाँ त मृतआत्मा पनि वनविनास गरेको अपगाल सहेरै समाधिस्त भएका छन्।
लेकमा पुगेपछि बाटो झन् साँघुरिएको छ। कङ्गल्याङकुङ्गलुङ घुमेको छ। पहाडी बाटो त्यसमाथि ठूलाठूला चट्टान काटेर बनाइएको बाटो हो यो। ती चट्टानबाट सङ्लो पानी बगिरहेको छ। जंगलका बिचमा फट्टफुट्ट राम्रा र सुन्दर घरहरू देखिएका छन्। बस्ती एकदम पातलो छ। म बसेको गाडी हाँकिरहेका साडुभाइले मलाई भन्नुभएको छ, ‘अमेरिकामा त धनी बस्ने जंगलमा गरिब बस्ने सहरमा हो नि दाइ।’
यो बेला नेपालमा माधव नेपाल भर्सेज केपी ओली द्वन्द्व चलिरहेको छ। ती दुबै अराजक साँढले बनाएको नेपालको परिवेशले हामी दुवै आक्रान्त छौँ। हामी नेपालका नेताहरूलाई ‘मरि जाओस्’ भनी सराप्नबाहेक के नै पो गर्न सक्छौँ र ? अमेरिकामा बसे पनि हाम्रो मन भतभती पोलेको छ। मलाई अनुभूत भइरहेको छ कि यो मन पोल्नका लागि स्वदेशमै बसिरहनु पर्ने पनि होइन रहेछ।
लेकमा पुगेपछि सडककै छेउमा रहेका केही घरहरू बर्सौदेखि मान्छे नबसेका जस्ता देखिएका छन्। ठ्याक्कै नेपालको पहाडबाट मधेस वा काठमाडौं झरेका नेपालीको पहाडमा रहेको वेवारिसे (अब्यान्डन) घरजस्तो। ठाउँ निकै दुर्गम लागिरहेको छ। यद्यपि बिजुली छ। पानी छ। सडक छ।
तर पनि उजाड लाग्दो तथा उराठ लाग्दो देखिएको छ। हेर्दाहेर्दै हामी हरिया नागीमा पुगेका छौं। तत्क्षण मलाई खप्तडका नागीहरूको सम्झना आएको छ। तुलना गर्न मन लागेको छ। तर तुलना नै गर्ने हो भने खप्तडका नागीहरू भीमकाय र अग्र्यानिक थिए। मनमोहक थिए। यहाँका नागीहरू भद्दा मेकअप गरिएका सुन्दरीजस्ता राम्रा छन्।
हामी यही नागीहरू पार गर्दै गन्तव्यमा पुगेका छौँ। गाडी ३ वटा भएकाले बाटोमा भेला भएर खाने हाम्रो योजना तुहिएको छ। भोकले झ्याम्टा बजाएको छ। हतारहतार मन्दिरकै पैसा तिर्ने धर्मशालामा ३ कोठा लिएर झोलाझ्याम्टा थन्काएका छौं र घरैबाट पकाएर ल्याएको खाने कुरा खान चुकाउनी, ढकने, सिकर्नी, पुलाउ, लट्टे आदि खाने कुरा बुक्याउन थालेका छौं। नेपालको पूर्वदेखि पश्चिमसम्मका हामी सँगै भएकाले खाने कुरामा पनि त्यहीँ सांस्कृतिक सुवास झल्किरहेको छ।
मन्दिरका अगाडि ससाना होर्डिङ बोर्डहरू छन्। ती बोर्डले न्युवृन्दावनको कायाकैरन दिइरहेको छ। इतिहास बताइरहेको छ।
अमेरिकाको वेस्ट भर्जिनिया राज्यको मार्सल काउन्टीमा छ यो न्युवृन्दावन। यसको क्षेत्रफल १२०४ एकड याने कि ९५७८ रोपनी रहेछ।। वस्तुत यो इस्कोन नामक कृष्णमार्गीको वैष्णव मन्दिर हो।
यसकारण स्वभाविक रूपले यहाँ सात्विक र अहिंसक वातावरण छ। यो मन्दिरको इतिहासले बताउँछ कि सन १९६५ मा श्रील प्रभुपादा भारतबाट भगवान कृष्णको लीला प्रचारपसार गर्ने उद्देश्यले अमेरिका पुगे।
सन १९६८ मा अमेरिकाको वेस्ट भर्जिनियाको निकै दुर्गम लेकमा पुगेर न्युवृन्दावन बनाउने बारे आफ्ना चेलाचेलीसँग छलफल गरे। राज्य सरकारले सहयोग गर्दै अनुमति दियो। भारतको प्रशिद्ध धार्मिक स्थल वृन्दावनका शब्दका अगाडि न्यु थपेर न्युवृन्दावन नामाकरण गरिएको रहेछ। यो प्रचलन अमेरिकामा व्यापक मात्रामा देखिन्छ।
युरोपका अनेकन ठाउँको अगाडि न्यु थपेर अमेरिकी सहरको नामाकरण गरिएको छ जस्तै न्युयोर्क, न्युजर्सी, न्युह्याम्पसायर। अमेरिकनले त केही राज्य मिलाएर नै भौगोलिक अभिव्यक्तिका रूपमा न्युइङ्गल्यान्ड नै नामाकरण गरेका छन् नि।
खासमा यो मन्दिरको निर्माण प्रभुपादाका चेला किर्तानन्द स्वामीले गुरुको आदेश र निर्देशनमा बनाएको भनिँदो रहेछ। मन्दिर परिसरमा कृष्ण टेम्पल, वेलकम सेन्टर, लज, रेस्टुरेन्ट, गिफ्ट सप आदि छन्। मन्दिरभित्र श्रीश्री राधा वृन्दावन चन्द्रा नामको मूर्ति प्रमुख छ।
अन्य मूर्तिमा श्रीश्री गौरा निताई, इस्कोनका संस्थापक प्रभुपादाको ध्यानरत रिप्लिकाको मूर्ति राधामाधव, तुलसीदेवी, श्रीगोपालनाथजी, श्री गिरिराज गोवर्धन, नृसिंहअवतार, जगदम्बा बलदेव र शुभद्राको मूर्तिहरू छन्। यहीँभित्र भारतमा वृन्दावन स्थापना गर्ने ६ जना गोस्वामीको सालिक पनि छ।
म देखिरहेको छु कि यहाँ रहेका सबै मूर्तिमा भक्तालुहरू लम्पसार परेर नमन गरिरहेका छन्। मन्दिरको भित्रपटि माथि एकदम ठूलो टीभी छ। त्यहाँ अनवरत कृष्णलीला देखाइँदै छ। भित्तामा हरेकृष्ण हरेकृष्ण, रामराम हरेहरेको नारा लेखिएको छ।
मलाई थाहा छ कि विश्वको धार्मिक इतिहासमा गौतम बुद्धलाई शान्तिका देवता मानेझैं कृष्णलाई प्रेमका देवता भनेर मानिन्छ। प्रेमको सक्कली अर्थ कृष्णमार्गमा पाइन्छ। अर्काकी श्रीमती राधासँग भगवान कृष्णको प्रेम सम्बन्ध र सोह्र हजार गोपिनीसँगको सम्बन्ध नै प्रेममा अडेको मानिन्छ।
इस्कोनका संस्थापक प्रभुपादाले एक प्रकारले भन्ने हो भने हिन्दु धर्मका प्रचलन विरुद्ध विद्रोह नै गरेका थिए। किनभने हिन्दु मान्यताअनुरूप हिन्दु हुन हिन्दु कुलमै जन्मनु पर्ने व्यवस्था छ।
यति बेला इन्डोनेसियाका हिन्दुलाई पशुपतिभित्र प्रवेश गर्न नदिएको घटना आफ्नै आँखाले देखेको सम्झना आएको छ। यो साँघुरो व्यवस्थाका विरुद्ध उनले संसारका सबै धर्मावलम्बी वा विविध भूगोलका मानिसलाई पनि कृष्णमार्गी बनाउने अभियानको सुरुवात गरे।
पूर्वीय सभ्यताको भक्तिवेदान्तमा दखल राख्ने स्वामी प्रभुपादालाई उनका मार्गीहरू श्रील प्रभुपादा भन्दा रहेछन्। उनी इन्टरनेसनल सोसाइटी फर कृष्ण कन्ससनेस (इस्कोन) का प्रवर्तक रहेछन्। सन १९६५ मा ६९ वर्षको उमेरमा अमेरिका पुगेका रहेछन्। त्यो बेला उनीसँग केवल केही वैदिक ग्रन्थ साथैमा रहेछन्।
उनको अभिप्राय पूर्वको हिन्दुधर्म तथा कृष्णलीला पश्चिममा फैलाउनु रहेछ। त्यसपछिको १२ वर्षमा उनले यो संसारको १४ पल्ट परिक्रमा गरेर विभिन्न विभिन्न विद्वानहरूसँग भेटेर इस्कोनको प्रचार प्रसार गरेछन्। उनीहरूको मूल मन्त्र ‘हरे कृष्ण हरे कृष्ण, कृष्ण कृष्ण हरेहरे, हरे राम हरेराम रामराम हरेहरे’ हो रहेछ।
थकाइ जोड लागेकाले सुतेका छौँ। उठ्ता मे ८ तारिक भइसकेको छ। बिहान सखारै उठेको छु। एक्लै जंगल परिसर घुम्दै छु। मन्दिरमा नित्य हुने बिहान ६.३० को भजन र नृत्य हेर्दै छु। ८.३० मा इस्कोनका संस्थापकसँग जोडिएका कथा टिभीमा देखाइरहेको छ।
अन्य धर्मावलम्वीहरू कसरी कृष्णमार्गमा आकर्षित भएर हिन्दु बने भन्ने कथाहरू सचित्र देखाइरहेको छ। एक जना गोरीले अङ्ग्रेजी भाषामा कृष्णलीलाबारे प्रवचन दिइरहेकी छिन्। प्रवचनका क्रममा उनले यो इस्कोन मार्गमा कुनै लैङ्गीय, क्षेत्रीय, रेसीय भेद नभएको बताएकी छिन्।
प्रवचनको मुख्य विषय सम दर्शन याने कि मान्छेदेखि रुखविरुवासम्मका लागि समान व्यवहार भन्ने छ। यसैगरी हिंसा नगर्ने, साकाहारी खाना प्रमुख भएको कुरा बताइँदै छ। ‘जीवन अनित्य छ त्यसैले अर्कालाई बिनासर्त आदर गर।
भगवत प्राप्तिको इच्छा गर। धर्म मार्ग भनेको भगवत प्राप्त गर्ने बाटो हो। प्रेम चराचर जगतलगायत पृथ्वीलाई प्रेम गर। भगवानले निर्माण गरेको संसारप्रति प्रेम भाव राख’ आदि प्रमुख सन्देश प्रवाह गरिरहेका छन्।
तर मैले तत्काल सोचेको छु कि उनीहरूको मूल मन्त्र भने सायद विभेदीय छ। हरे कृष्ण र हरे रामको नाम मात्र छ मन्त्रमा। त्यहाँ राधा र सीताको नाम भने छैन। मूर्तिमा सँगै छ। तर मन्त्रमा छैन।
जे भए पनि आज संसारभरि यो इस्कोनको कृष्णमार्ग फैलिएको छ। इस्कोनमार्गको मुख्य भगवान भनेको कृष्ण हुन्। त्यसमा पनि कृष्णको प्रेमिल भक्तिपाटो याने कि भक्ति योग संसारभरि नै ज्यादै महत्त्वपूर्ण मानिन्छ।
मन्दिरको प्राङ्गण गजबको छ। केटाकेटी खेल्ने पार्क छुट्टै छ। एकदम सफा छ। ठाउँठाउँमा डस्टबिनहरू राखिएका छन्। हरियालीका बिचमा छ मन्दिर। एकदम दुर्गम भएकाले नेपालमा झैं वाइफाइले राम्रो काम गरिरहेको छैन। अमेरिका आएपछि यसले मलाई नेपालको वाइफाइलाई सम्झाएको छ।
प्राय सबै गोरीहरूले सारी लगाएका छन्। गोराहरूले धोतीकुर्ता लगाएका छन्। उनीहरूले आफ्नो नामलाई हिन्दुकरण गरी नामका पछाडि दास वा दासी राखेका छन्। यो दृश्य देखेर म एक छिन मन्दिरअगाडिको फलैंचामा बसेर सोच्न थालेको छु कि कसरी मान्छे आफ्नो बेटरलाइफको खोजीमा हिँड्छ। बेटरलाइफ भनेको के हो ?
मेरा मगजभरि यो प्रश्न आइरहेको छ। अनि सोचिरहेको छु कि बेलायतमा पढेका नामी डाक्टर बेटरलाइफ खोज्दै सुनसान खप्तड पुगे र खप्तड बाबा भए। लाखौँ नेपालीहरू बेटर लाइफ खोज्दै अमेरिका छिरेका छन्। लाखौं इसाइहरू कृष्णमार्गी हिन्दु भएका छन्। विचित्र छ यो संसार।
मन्दिरको मुख्य काउन्टरमा भारत पश्चिम बङ्गाल जलपाइगुडीका भारतीय बसेका रहेछन्। मन्दिर भौतिकरूपमा त्यति आकर्षक छैन। एउटा ठूलो गोदामघरजस्तो छ मन्दिर। त्यसमा पाली निकालेर कोठैकोठा बनाइएका छन्। मन्दिरका खास इस्कोन मार्गी पाहुना गृह हो रे यो।
नेपालका मन्दिरको जस्तो अवर्णनीय कला कहाँ पाउनु यहाँ ? नेपालका चोकचोकमा रहेका कलात्मक कौशलको याद आइरहेको छ। नेपालमा त ती कला ‘बाँदरका हातमा नरिवल’ भएका छन्। दिक्क लाग्यो।
बस्नका लागि लजको व्यवस्था छ। त्यसका दरभाउ पनि फरक फरक छन्। एउटा कोठाको दुईरातको ३०० डलर तिरेर हामी बसेका छौँ। शान्त वातावरण तथा प्राकृतिक वातावरण छ। गुलाबका बगैंचा छन्। बनजंगल छ। त्यसमा कृत्रिम तथा प्राकृतिक तबरका ट्रेल छन् जसबाट मान्छे मन्दिर परिसरको परिक्रमा गर्दछन्। ट्रेलमा हिँडिरहँदा रङ्गीचङ्गी तथा निक्खर सेता मयुरहरू हाम्रै अगाडि आएर पङ्ख फिँजाइ नाचेका छन्।
मयुर तथा हरिणहरू बग्रेल्ती देखिँदै छन्। यो दृश्य मेरा लागि नौलो हो। हामीले धडाधड फोटाहरू खिचेका छौँ। ठाउँठाउँमा पोखरीहरू छन्। पोखरीभित्र रङ्गिन बिजुली प्रवाह गरेर पानीको रङ्गिन फोहोरा बनाइएको छ।
ती फोहोरामा रतिमुद्रा देखिन सक्छ। हात्तीको एउटा अजङ्गको मूर्ति छ। नजिकै रतिक्रियापछि थाकेको गाई र नजिकै कुरेर बसेको साँढेको मूर्ति प्रेमात्मक तथा रति आनन्दको प्रतीक बनेर बसेको छ। किनभने रति भन्नु प्रेमको उत्कर्ष रूप हो।
मन्दिर परिसर जंगलले भरिएको छ। जंगलभित्र धेरैवटा केबिनहरू बनाइका छन्। भौतिकताको दौडमा थाकेका र आफूलाई पुनर्ताजगीकरण गर्ने मान्छेहरू जंगलभित्रको त्यही केबिनलाई बुक गरी बस्ता रहेछन्। बसेका देखिएका छन्। यहाँ एक प्रकारको अलौकिक शान्ति र आनन्द अनुभूत भइरहेको छ। जीवनका लुछाचुँडीहरू छोडेर यस्ता प्रेमिल ठाउँमा बस्नुको मजा नै बेग्लै।
बिहान ९ बजे मन्दिरका तर्फबाट प्रसाद वितरण भएको छ। गाईको शुद्ध दूध, च्युराको नुनिलो पुलाव, खिर, सलाद, फलफूल, आदि खानेकुरा छन्। त्यहाँ रहेका कृष्णमार्गी साधुहरू यहीँ खाना खाँदा रहेछन् सायद। एउटा ठूलो हलमा करिब १५० जना जति मान्छे प्रसाद ग्रहण गरिरहेका छन्। प्रसाद मनग्गे छ।
म बाहिर निस्किएको छु। चिसो एकदम छ। फुसफुस पानी पनि परिरहेको छ। त्यो पानीको प्रवाहमा वरिपरिका हरियोपरियो रमाएका देखिन्छन्। वन तथा बगैँचा सुन्दर हराम्य छन्। वास्तवमा मौसम रतिरागात्मक छ। यसै क्रममा साधु भेषका एक जना गोरा र अर्की एसियन देखिने महिला सायद लोग्ने स्वास्नी होलान्, अँगालो हालेर हिँडिरहेका देखिएका छन्। तर मैले इस्कोन मार्गमा यौनको परिभाषा र प्रयोगका बारेमा भने बुझ्न पाइनँ।
मन्दिरकै अलि परतिर डाँडामा रहेको गोल्ड प्यालेस नामक एउटा विशाल महलतिर घुम्दै छौँ। यसकै अगाडि रहेको लोटस पौन्डको डिलमा घुम्दै छौँ। पोखरीमा कमलका फूलहरू फुलिरहेका छन्। पोखरीको डिलमा गमलामा ठूलाठूला रुखहरू रोपिएको देखेर असाध्य रमाइलो लागेको छ। सो महल इस्कोनका संस्थापक प्रभुपादाको संस्मरणका लागि बनाइएको भनिएको छ।
यसलाई पश्चिमको ताजमहल बनाउने अभिप्रायका साथ बनाइएको रहेछ। यो भवन अझै बनिरहेको नै छ। यो भवनमा सुन, मार्वल, सिसा, टिकका काठको प्रयोग गरिँदै छ। कृष्णका भक्त प्रभुपादाको सम्झना तथा अन्य कृष्णमार्गीको गौरवबोधका लागि बनाइएको भनिँदो रहेछ यो दरवार।
यो इस्कोन कृष्णमार्ग अमेरिकामा पनि छ्याप्छ्याप्ती रहेछ। मन्दिरको अर्को आकर्षण गौसाला पनि घुम्न निस्केका छौँ। गाईका नामहरू मान्छेका नामजस्ता उषा, सीता, ललिता आदि राखिएको देखेर रोमाञ्चक भएको छु। नेपालमा गाईका नाम काली, कैली जस्ता सुनेको-देखेको-भोगेको मलाई भने यी नामहरू आनन्ददायी लागेका छन्।
गाईका लागि आधुनिक गोठ पनि छ। दिनभरि गाई जंगलमा गएर चर्ने। सुकेका घासको व्यवस्था गरिएको छ। घाँसलाई मेसिनमा पेलेर कपडाको थानजस्तो बेर्ने र ठूलाठूला बन्डल बनाएर राख्ने चलन रहेछ। गाई दुहेको वा आफैँ दुहुने भए सो पनि उपलब्ध भनिएको छ। तर गाई दुहुने बेलामा नपुगेकाले उहिलेको सम्झना ताजा गर्न भने पाउने अनुकूल परेन।
मन्दिरभित्र गिफट सप छ। कृष्णसँग जोडिएका बस्तुहरू विक्रिमा छन्। हामीले मयुरका प्वाँख किनेर बोकेका छौँ। दिउँसो १२ बजेको आरतिमा छौं। त्यसपछि भजन र प्रवचन दिइँदै छ। अचम्म छ कि उपस्थित भक्तजनमा ९० प्रतिशतभन्दा बढी नेपाली छन्।
त्यसकारण नेपाली पण्डितले नेपालीमै प्रवचन दिएका छन्। यसैक्रममा अर्का भारतीय पूजारीले नेपाल भारत सम्बन्धका बारेमा पनि प्रवचन दिन भ्याएका छन्। उनले भारत नेपाल दाजुभाइको सम्बन्ध भनेका छन्। तर त्यहाँ उपस्थित नेपालीले दाजुभाइ होइन छिमेकीको सम्बन्ध हो भनेर सम्झाएका छन्।
प्राङ्गणमै एउटा साकाहारी रेस्टुरेन्ट छ। त्यहाँ निर्धारित समय बिहान १० बजेदेखि बेलुकाको ९ बजेसम्म किनेर खान पाइने व्यवस्था रहेछ। मलाई पानीको असाध्य प्यास लागेको हुनाले पानी किन्न म रेस्टुरेन्टभित्र पसेको छु। रेस्टुरेन्ट त काठमाडौँका बिसेबाइसे उमेरका नेपालीको पो रहेछ।
तर पहिला त म उनीहरूसँग पनि अङ्ग्रेजीमा बात मारिरहेको थिएँ। किनभने अमेरिकामा को नेपाली को अन्य एसियाली छुट्याउनै गाह्रो पर्ने हुन्छ। उनीहरूको गलामा इस्कोनमार्गी बुझाउने माला बाहिरबाटै झुण्डिएको छ।
९ तारिकको बिहान ९ बजेको प्रसाद ग्रहण गरी बासस्थान बाल्टिमोर मुहाँ भएका छौं।
Facebook Comment