षड्यन्त्रले भरिएको नेपालको राजनीतिक इतिहास-भाग १८

राजा वीरेन्द्र र राजपरिवार बारेको बाँकी अंश

कपिल लोहनी
२४ कार्तिक २०८१ ७:१५

राजा भएपछि वीरेन्द्रले विदेशमा अध्ययन गरेका आफ्ना साथीहरू तथा नजिकका व्यक्तिहरूलाई राजदरवारका सचिव र सल्लाहकारका रूपमा भर्ती गरे। त्यस्तै उनले आफ्ना पिताले जस्तै विभिन्न क्षेत्रका ख्याती प्राप्त विद्वानहरूलाई आर्थिक विकासका परियोजना तथा सरकारका विभिन्न निकायहरूमा नियुक्त गरे।

विकासे कुरामा उनको ज्यादै रुची थियो, तर एक गरिव मुलुकका राजा भएकाले उनलाई आर्थिक श्रोत जुटाउन निकै मुश्किल परिरहेको थियो। त्यसैले विभिन्न दातृ राष्ट्र र संस्थाहरूको मद्दतको निम्ति उनि निकै क्रियाशील थिए।

राजनीतिमा आफ्ना पिताभन्दा निकै पछाडि भए पनि जनता आन्दोलित भए पछि २०३६ सालमा उनले जनमतसंग्रहको घोषणा गरेका थिए। यसरी आफ्नो निरंकुश शासनको विरोधमा भएको आन्दोलनलाई नदबाई भावी राजनीतिक व्यवस्थाबारे जनताको राय लिन खोज्ने शासक विश्वमा सायद अरु कहीँ पनि थिएनन् र छैनन् पनि होला।

तर जनमतसंग्रहमा पञ्चायतले झिनो बहुमत ल्याएर विजय हासिल गरेपछि उनले बलियो प्रतिपक्ष अटाउने सम्बैधानिक व्यवस्था भने मिलाउन सकेनन्। त्यसैले त्यसपछि झनै निरंकुश हुँदै गएको पञ्चायती व्यवस्था दश वर्ष पनि टिक्न सकेन।

जनमतसंग्रह पछि महिमत्त भएका पञ्च तथा भारदारहरूको उक्साहटमा रानी ऐश्वर्यले मुलुकको शासनसत्तामा ठाडो हस्तक्षेप गर्न शुरु गरिन्। उनको धाप पाएका राजदरवारका सचिवहरूका अनावश्यक हैकम तथा अधिकांश वरिष्ठ पञ्चहरूका नालायकीपूर्ण कार्यले गर्दा नेपालको प्रशासन फितलो हुँदै गएको थियो भने भ्रष्टाचार पनि निकै मौलाएको थियो।

मुलुकलाई क्रमशः चार र पाँच विकास क्षेत्रमा विभाजन गर्ने, विकासका पूर्वाधारहरूको निर्माण गर्ने, शिक्षा तथा स्वास्थ्यमा विशेष प्राथमिकता दिने, प्रत्येक विकास क्षेत्रलाई त्यहाँको विशेषताको आधारमा विकास गर्ने, औद्योगिक क्षेत्रहरूको स्थापना गर्ने, योजनावद्ध सहरहरूको निर्माण गर्ने, वन्यजन्तु आरक्षहरूको विकास, जलश्रोत, यातायात, दुरसञ्चार, कृषि, पर्यटन, विज्ञान तथा प्रविधि आदिका विशेष योजनाहरू सञ्चालन गर्ने बारे राजा वीरेन्द्र निकै चाखका साथ सक्रिय रहन्थे। मितव्ययीतामा विश्वास गर्ने उनि दरवारमा पनि निकै सामान्य रूपमा नै बस्ने गर्दथे।

आफ्नो राज्याभिशेषमा विश्वका धेरै मुलुकका राष्ट्राध्यक्ष, सरकार प्रमुख तथा सरकारका प्रतिनिधिहरूलाई आमन्त्रण गरेर भव्य रूपमा मनाएर सोही अवसरमा नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्तावको घोषणा गरेका थिए। पछि संयुक्त राष्ट्रसंघमा समेत उनले शान्ति क्षेत्रको प्रस्ताव राखेका थिए।

यो प्रस्तावमा करिव ११६ राष्ट्रले समर्थन गरेको भए पनि भारतले मौन असहमति जनाएकोेले जनआन्दोलन पछि बनेको सरकारले यो प्रस्तावलाई तुहाइदियो। राजा वीरेन्द्रले यो प्रस्तावको घोषणा गर्नु भन्दा पहिले भारतसँग यसबारे छलफल गरेर उसको विश्वास जित्नु पथ्र्यो कि जस्तो लाग्छ।

त्यस्तै असंलग्न राष्ट्रहरूको शिखर सम्मेलन, संयुक्त राष्ट्रसंघको महासभा तथा सार्कका शिखर सम्मेलन र विभिन्न राष्ट्रको राजकीय भ्रमणको क्रममा राजा वीरेन्द्रले गरेका भाषणहरू आजसम्म पनि लोकप्रिय र सान्दर्भिक छन्।

सार्कको अवधारणा र स्थापना तथा दक्षिण एशियामा खाद्य सुरक्षाको व्यवस्थामा राजा वीरेन्द्रको ठूलो भूमिका रहेको थियो। तर सन् २००० सम्म मुलुकलाई गरिवीको रेखाबाट माथि उठाउने उनको अभियान भने खासै तयारी विनाको भएकोले सफल हुन सकेन।

विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग राम्रो सम्बन्ध राख्न उनको कुटनीतिक विशिष्टताले ठूलो योगदान पु¥याएको भए पनि छिमेकी राष्ट्र भारतसँग सम्बन्ध सुधार्ने कुरामा उनि प्राय चुकिरहन्थे।

यसमा भारतको मिचाहा प्रवृत्ति पनि जिम्मेवार थियो। तर एक सानो मुलुक हुनुका साथै विशाल छिमेकी मुलुक माथि निर्भर रहनु पर्ने भुपरिवेष्ठित मुलुकले अति निकट छिमेकीको मिचाइलाई पनि कुटनीतिक चातुर्यताका साथ सहन र सम्बन्ध सुधार्न नसक्नु भने उनको र उनका नजिकका मानिसहरूको कमजोरी नै रह्यो।

२०३६ सालको जनमत संग्रहताकासम्म राजनीतिक रूपमा खासै सक्रिय नरहेकी महारानी ऐश्वर्य त्यसपछिका दिनमा अदृश्य रूपमा नेपालकी सबैभन्दा शक्तिशाली व्यक्ति हुन पुगेकी थिइन् र उनकै हुकुममा भारदारहरूले नेपालको सबै क्षेत्रको शासन-प्रशासन आफ्नो हातमा लिएर राखेका थिए। त्यतिबेला भद्र राजा वीरेन्द्र एक शक्तिविहीन संवैधानिक राजा सरहका नै बनेका थिए।

त्यतिबेला अरूले गरेका भुलहरूको दोष राजा वीरेन्द्र माथि थोपरिन्थ्यो भने जनआन्दोलनपछि साँच्चैको सम्बैधानिक राजा बन्दा भने भुलहरूको भागिदार सरकार नै हुन थाल्यो। त्यतिबेला राजा वीरेन्द्रको सहयोगी भूमिकाले गर्दा उनी जनता र नेताहरू सामु पनि निकै लोकप्रिय हुन पुगेका थिए।

राजा वीरेन्द्रका हेलिकप्टर उडाउने, गाडी चलाउने, कुकुर पाल्ने, वन्यजन्तु संरक्षण गर्ने, प्राकृतिक दृश्यावलोकन गर्ने तथा अन्य धेरै सौखहरू भएकोमा अधिक मदिरापान गर्ने र चुरोट तथा सिगार पिउने बानीले भने उनको स्वास्थ्यमा मात्र नभइ उनको सोच्ने शक्तिलाई पनि नकारात्मक रूपले प्रभाव पारिरहेको थियो।

उनका एक जना फिजिसियन तथा वरिष्ठ मुटु रोग विशेषज्ञले मेरा पिताजीलाई मेरै अगाडि २०४४-४५ सालतिर सुनाए अनुसार प्रत्येक रातको अधिक मदिरापान र धुम्रपानको कारण उनि बिहान निकै बेर इन्तु न चिन्तुको अवस्थामा हुन्थे र उनलाई तङ्ग्राउनको निम्ति अम्मल झार्ने तथा टाउको दुखेको कम गर्ने औषधिहरू खुवाउन र उनको रक्तचाप तथा मुटुको अवस्थाको निगरानी राख्न ती चिकित्सक अक्सर बिहान राजदरवार पुग्नु पर्दथ्यो रे। त्यस्तै आदत रहि रहे उनको आयु छोटो हुने कुरा पनि ती चिकित्सकले बताएका थिए।

२०४६ सालमा जनआन्दोलन शुरु हुनुभन्दा केही समय अघि टंकप्रसाद आचार्यलाई परामर्शको निम्ति राती राजदरवारमा बोलाउँदा पनि राजा र टंकप्रसादलाई बडामहारानीले ठूला ठूला ग्लासमा ठूल्ठूलै पेग ह्विस्की दिएपछि टंकप्रसादको ग्लास रित्तिन नपाउँदा नै राजाले ४ पेग पिइसकेका थिए रे। त्यसपछि टंकप्रसादले भनेका कुरा नबुझेर बारम्बार फेरि कुरा दोहोर्‍याउन लगाएका थिए रे।

२०३० को दशकमा हर्क गुरुङ र २०४० को दशकको उत्तराद्र्धको समयमा कृष्णप्रसाद भट्टराइसँग बसेर मदिरा पिएर र उनिहरूका रमाइला कुरा सुन्दा राजा वीरेन्द्र निकै रमाउँथे रे। २०५४ सालतिर राजा वीरेन्द्रलाई मुटु सम्बन्धी समस्या देखा परेपछि भने उनले मदिरापान र धुम्रपान बिस्तारै त्याग्दै गएका थिए। केही समयपछि बेलायतमा उपचार गराउँदा उनको मुटुमा स्टेन्ट प्रत्यारोपण गर्नु परेको थियो।

आफ्ना छोराछोरीलाई राजा वीरेन्द्र र उनका दिदीबहिनी र भाइहरू सबैले जनतासँग घुलमिल गराएर सकेसम्म नेपालमा नै भएका शिक्षण संस्थामा अध्ययन गर्ने वातावरण बनाइदिएका थिए तथा उच्च अध्ययनको निम्ति त्रिभुवन विश्वविद्यालय र विदेशमा पनि पठाएका थिए।

यी सबै युवाहरू शुरूमा निकै प्यारा र हँसिला थिए। तर समयको गतिसँगै अभिभावकहरूको निगरानीमा कमी आएकोले राजपरिवारका केही युवा सदस्यहरूको संगत र बानी–व्यहोरा नराम्रो हुँदै गयो। सानै उमेरमा मद्यपान र अन्य नशालु पदार्थ सेवन गर्ने, झै-झगडा गर्ने तथा होहल्ला गर्ने कामले पनि प्रश्रय पाउन थाल्यो।

पृथ्वीनारायण शाह र उनका भाइभारदारले कति दुख गरेर आर्जेको नेपाल राष्ट्रमा राज गर्न पाएका पछिल्ला राजा, युवराज तथा राजपरिवारले मोजमज्जामा नै जीवन बिताउन थालेपछि अनेकन समस्याहरू आए जस्तै राणाशासनमा थिचिएर रहेका राजाहरू प्रजातन्त्रप्राप्ति पछि निकै स्वतन्त्र हुन पाएका तर त्रिभुवन र महेन्द्रले विगतको तितो अनुभव राम्ररी भोगेकाले आफ्ना बालबच्चाहरूलाई राम्रो संस्कार दिएका थिए।

राजा वीरेन्द्रको पिँढीसम्म राजदरवारमा कुनै नराम्रो घटना घट्न पाएन तर त्यसपछिको पिँढी मोजमज्जामा अति नै रमाउने गरेको र उनलाई नियन्त्रणमा राख्न नसकेकोले विभिन्न अप्रिय घटना घट्ने गरेको र पछि नेपालको भाग्य नै नासिने भयानक दरवार हत्याकाण्ड हुन पुगेको थियो।

राजा महेन्द्र र वीरेन्द्रका अङ्गरक्षकहरू ज्यादै अनुशासित र राजारानीको सुरक्षामा दिलोज्यानका साथ खट्ने खालका थिए भने युवराज दीपेन्द्रका अधिकांश अङ्गरक्षकहरू उनका साथी सरहका भएर उनका सबै राम्रा नराम्रा आदतलाई शिरोधार गर्ने खालका थिए।

रानी ऐश्वर्यको कडा रिस र हैकमवादी व्यवहार र युवराज दीपेन्द्रको उग्र स्वभावले गर्दा ती अङ्गरक्षकहरू आफ्ना मालिकलाई नराम्रा कुरा गर्नबाट रोक्न नसक्ने वा राजारानीलाई त्यस्ता कुरा भन्न नसक्ने भएको पनि हुन सक्छ। दीपेन्द्रको स्वभाव अति उग्र भए पनि उनि अध्ययन र व्यावहारिकतामा भने निकै खारिँदै गएका पनि थिए।

दरवार हत्याकाण्डभन्दा केही समय अघि अवकास पाएका राजाका एकजना अति विश्वासिला र पुख्यौली अङ्गरक्षकले युवराज दीपेन्द्रलाई राजदरवारभित्रको कोत (हातहतियार राख्ने कोठा) बाट आफु खुशी हतियार निकालेर आफ्नो कोठामा राख्न दिन नहुने कुरा राजा र रानीलाई बताउँदा रानी निकै आवेशमा आएर ‘मेरो छोरो भविश्यको राजा हो, उसले किन हतियार राख्न नपाउने ?’ भनेर रिसाएकी थिइन् रे। वेलायतमा राजाको दरवारमा उमेर पुगेका भावी राजालाई बस्न समेत दिइँदैन र अर्कै दरवारको वन्दोवस्त गरिएको हुन्छ।

एकताका मानवअधिकार र निर्वाचन पर्यवेक्षण क्षेत्रमा सक्रिय भूमिका खेलेका व्यक्ति वीरेन्द्रकेशरी पोखरेलका कनिष्ट छोरा राजदरवार सेवामा अधिकृतस्तरमा जागिरे भएका थिए। उनि निकै सिधा र कर्तव्यनिष्ठ कर्मचारी थिए। सुन्नमा आए अनुसार उनको सोझोपना र इमान्दारिताका कारण केही दरवारियाहरू आफ्नो स्वार्थ सिद्धि नहुने देखेर उनिसँग खुशी थिएनन्।

त्यस्तै युवराज दीपेन्द्रले पनि उनलाई त्यति मन पराउँदैनथे र एकाध पटक त सबैको अगाडि उनलाई गाली गर्ने र धकाल्ने काम पनि गरेका थिए रे। पछि ती व्यक्ति अकस्मात राजदरवारबाट नै गायब भए र करिव चार महिना पछि कुनै सुराकीले उनको हत्या भएको र शव लेलेको जंगलमा गाडिएको कुरा गोप्य रूपमा कुनै निकायलाई बताएपछि प्रहरीहरू सो क्षेत्रमा गएर खनेर हेर्दा उनको चिन्नै नसकिने गरेर कुहिएको लास भेटिएको थियो र उनलाई उनको घडीबाट मात्र पहिचान गर्न सकिएको थियो।

त्यस्तै, बेला बखतमा आफुलाई रिस उठेका दरवारभित्रका सुरक्षाकर्मीहरूलाई युवराज दीपेन्द्रले विभिन्न प्रकारका भौतिक यातना पनि दिने गरेका थिए रे। कुमार गोरख कै बयान मुताविक दरवार हत्याकाण्ड भन्दा केही समय अघि दीपेन्द्रले दरवारको एक पारिवारिक भेलामा आफ्नी दुइ जिउकी बहिनीको पेटमा लात्तीले हान्नुका साथै सबैलाई गाली गरेर झगडा गरेका थिए।

दरवार हत्याकाण्डको अगाडि उनले राजा वीरेन्द्रलाई मन परेका दुई कुकुरलाई गोली हानेर मारिदिएका थिए रे। बाटोमा आपैmले हाँकेको जीपमा उनि साइरन बजाएर साथीहरूको साथमा बेतोडले कुदाउने गर्दथे।

हिमाल खवरपत्रिकाको १-१५ असार २०५८ मा प्रकाशित एक आलेख मुताविक पछिल्लो समयमा लागु औषधको दुव्यसनमा पर्न थालेका दीपेन्द्र दरवार परिसरमा काग, चमेरो, बिरालो आदि मारेर आनन्द लिने गर्दथे। सामान्य युवा जस्तै सुरा र सुन्दरी उनका कमजोरी थिए।

युवराज दीपेन्द्र विवाह गर्ने उमेरमा पुगिसक्दा पनि उनले रोजेका कुनै पनि युवतीसँग विवाह गर्न नमिल्ने विभिन्न अत्तो थाप्न थाले पछि रानी ऐश्वर्य प्रति युवराज दीपेन्दको निकै नराम्रो भाव रहने गरेको थियो भन्ने कुरा त्यतिबेला सुन्नमा आएको थियो।

सन् १९९६ मा अमेरिकाको एटलान्टा ओलम्पिक खेल हेर्न त्यहाँ पुगेका दीपेन्द्रले तत्कालीन राजदूत भेषबहादुर थापासँग आफुले देवयानीसँग विवाह गर्न खोजेको तर आमा र हजुरआमाले देवयानीको घरपट्टि ग्वालियर परिवारमा जात नमिलेका विवाहहरू भएकाले तिनीहरू सुद्ध छैनन् भनेका थिए, तर शाहवंशको परिवार पनि कहाँ चोखा छन् र भनेका कुरा भेषबहादुरको पुस्तक ‘राष्ट्र-परराष्ट्र’ उल्लेखित छ।

सोही पुस्तकमा उनले युवराज दीपेन्द्रको हाउभाउ र शैली देख्दा उनि राजा वीरेन्द्रको सहनशील र भलाद्मी शासनशैलीसँग सन्तुष्ट नरहेको र तत्कालीन राजनीतिमा भइरहेका कुरा ठीक नभएको तथा आफुलाई चित्त बुझेन भने मान्छे मारिदिन पनि नहिच्किचाउने कुरा बताएका थिए।

उता राजा वीरेन्द्रले भने राजदूत थापालाई फोन गरेर ‘युवराज दीपेन्द्र आउँदैछ, तिमी भएको हुनाले म ढुक्क छु। त्यसले त्यहाँ कुनै अशोभनीय काम नगरोस्, ख्याल गर्नु है’ भनेका थिए रे। राजदूत थापाकै अनुसार बेलायतमा विद्यार्थी हुँदा पनि दीपेन्द्रको आचरण राम्रो थिएन।

त्यतिबेला बी.पी. कोइराला जस्ता मध्यस्थता गरिदिने मानिस भएका भए राजारानीलाई सम्झाउने कुनै उपाय निस्किन्थ्यो कि जस्तो लाग्छ, किनकी उनैले राजा त्रिभुवनलाई मनाएर रानी रत्नसँग विवाह गर्ने बाटो खोलिदिएका थिए। तर रानी ऐश्वर्यको अहम्कारको अगाडि यस्ता कुरा गर्ने आँट सायदै कसैले गर्थे होलान्। कीर्तिनिधि विष्ट, सूर्यबहादुर थापा, धर्मपाल वरसिंह थापा, शान्तकुमार मल्ल आदि जस्ता राजारानीका हितैषी र युवराज दीपेन्द्रलाई पनि माया गर्ने व्यक्तिहरूसँग दीपेन्द्र वा राजारानीले यो विषयमा सल्लाह लिएको भए त्यतिबेला समस्याको हल पक्कै निस्कन्थ्यो होला।

छोरीको बिहे हुँदा आँखाभरी आँशु पारेर बिदा गरेका राजा वीरेन्द्रलाई छोराहरूको पनि बिहे गरिदिन र नातीनातिनाहरूसँग रमाउन कति मन थियो होला। बेलाबेलामा उनि आफ्नी छोरीको घर ठमेलमा आम नागरिकसरह पैदल हिँड्दै गएका फोटाहरू हेर्दा हाम्रो मन कति खुशी हुन्थ्यो।

एकातिर माओवादी समस्या र मुलुकको अति बिग्रँदो राजनीतिक अवस्था र अर्को तिर राजदरवारमा चलिरहेको पारिवारिक द्वन्द्व र समस्याले गर्दा राजा वीरेन्द्र भित्र भित्र निकै चिन्ताग्रस्त अवस्थामा थिए।

उनमा नयाँ पिँढी र बदलिँदो परिस्थितिसँग सम्झौता गरेर अघि बढ्ने क्षमता भए पनि रानी ऐश्वर्य आफ्नो हठ र क्रोधमा अडिग थिइन्। पञ्चायती व्यवस्थाको अन्त पछि जनतामाथि कुनै हैकम गर्न बाँकी नरहे पनि राजदरवारभित्र भने रानी ऐश्वर्यको अगाडि कसैको केही चल्दैनथ्यो। तर राजा वीरेन्द्रले बदलिँदो परिस्थितिमा आपूmलाई निकै आश्चर्यजनक रूपमा पूर्ण परिवर्तन गर्न सकेका थिए।

क्रमशः…

– विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *