च्याम्पियन्स ट्रफी क्रिकेट खेल्न भारत पाकिस्तान नजाने

काठमाडौं। भारतीय क्रिकेट टिम अर्को वर्ष हुने च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगितामा सहभागी हुन पाकिस्तान नजाने भएको छ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले हालै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई आफ्नो निर्णय पछाडि सुरक्षा चिन्ताको कारणले पत्र पठाएको छ। भारतले आफ्ना सबै खेल दुबईमा खेल्न चाहेको पनि बताएको मिडिया रिपोर्टमा उल्लेख छ।
च्याम्पियन्स ट्रफी अर्को वर्ष फेब्रुअरी १९ देखि मार्च ९ सम्म खेलाइने छ। यस प्रतियोगिताका खेल कराँची, लाहोर र रावलपिंडीमा हुने अहिलेसम्मको तालिकामा उल्लेख छ।
भारतीय टोलीले सन् २००७-०८ देखि पाकिस्तान भ्रमण गरेको छैन। सन् २००८ मा मुम्बईमा भएको आतंकवादी हमलापछि भारत सरकारले पाकिस्तानमा क्रिकेट खेल्न प्रतिबन्ध लगाएको थियो । त्यसपछि दुवै टोली आईसीसी र एसीसी प्रतियोगितामा खेलिरहेका छन्। २०१३ देखि, दुबै टोलीले तटस्थ स्थानहरूमा १३ एकदिवसीय र ८ टी-२० खेल खेलेका छन्।
भारतले पछिल्लो पटक सन् २००८ मा पाकिस्तानको भ्रमण गरेको थियो। भारतीय टोलीले उक्त ३ टेस्ट म्याचको शृङ्खला १-० ले जितेको थियो।
पाकिस्तानले सन् २०१२-१३ मा भारत भ्रमण गरेको थियो। उक्त भ्रमणमा द्विपक्षीय शृङ्खलाका ३ एकदिवसीय र २ टी-२० खेल खेलिएका थिए। पाकिस्तानले एकदिवसीय सिरिज २-१ ले जितेको थियो भने टी-२० सिरिज १–१ को बराबरी भएको थियो।
च्याम्पियन्स ट्रफी २०२५ को आयोजनाको जिम्मा पाकिस्तानलाई दिइएको छ। पीसीबीले प्रतियोगिताको स्थान र तालिकाको मस्यौदा आईसीसीलाई बुझाएको छ। प्रतियोगिता अर्को वर्षको फेब्रुअरी-मार्चमा खेलाइने छ। मस्यौदा अनुसार भारतलाई समूह ए मा पाकिस्तान, बंगलादेश र न्युजिल्याण्डसँगै राखिएको छ। समूह बी मा अष्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्याण्ड र अफगानिस्तान छन्।
तालिका अनुसार भारतको तीन खेल फेब्रुअरी २० (बंगलादेशसँग), फेब्रुअरी २३ (पाकिस्तानसँग) र मार्च २ (न्युजिल्याण्डसँग) हुनेछ।
गत वर्ष एसिया कपको आयोजनाको अधिकार पाकिस्तानले पाएको थियो। त्यतिबेला पनि भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेको थियो। त्यसपछि ‘हाइब्रिड मोडल’मा प्रतियोगिता आयोजना भएको थियो। भारतका खेल श्रीलंकामा भएको थियो।
Facebook Comment