प्रधानमन्त्री ओलीको चीन भ्रमण राष्ट्रियहितका लागि: एमाले

डिसी नेपाल
२४ कार्तिक २०८१ २१:३२

काठमाडौं। नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई अधिकतम राष्ट्रिय हितमा रुपान्तरण गर्ने निर्णय गरेको छ। ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले प्रधानमन्त्रीको चीन भ्रमणलाई नेपालको राष्ट्रिय हितमा हुनेगरी सफल बनाउने निर्णय गरेको बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

‘द्विपक्षीय भेटघाट र वार्ता सकाएर उहाँ फर्कनुहुन्छ। चिनियाँ राष्ट्रपति नेपाल आउँदा उच्चस्तरीय समझदारी र नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले चीन भ्रमण भएका समझदारीमा नै हाम्रो जोड हुनेछ,’ उपमहासचिव ज्ञवालीले भने, ‘त्यसको अलवा द्विपक्षीय अन्य हितका विषयमा पनि हामी छलफल गर्नेछौँ। नेपालको अधिकतम राष्ट्रियहितमा हुनेगरी यो भ्रमणलाई सफल पार्दछौँ।’

उपमहासचिव ज्ञवालीकाका अनुसार बैठकले सरकारले चार महिनाको समीक्षाको गरेको छ। सरकारले आधारभूतरूपमा ठिक ढंगले काम गर्दै अगाडि बढेको बैठकले निष्कर्ष निकालेको छ। नेपाली कांग्रेस र एमालेबीचमा समझदारीलाई अझ प्रगाढ बनाउने र काममा अझ समन्वय गर्नका लागि सयन्त्र बनेको उहाँले जानकारी दिए।

ज्ञवालीले उपनिर्वाचनमा उम्मेदवारको नाम अनुमोदन बैठकले उपनिर्वाचनको लागि प्रदेश कमिटीले सिफारिस भई आएका पार्टीका उम्मेदवारको नाम पनि अनुमोदन गरेको बताए। उनका अनुसार बैठकले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनमा सिंगो पार्टी पङ्क्तिलाई केन्द्रित हुन निर्देशन दिएको छ।

‘उपनिर्वाचनका लागि प्रदेश कमिटीबाट निर्णय भइआएका उम्मेदवारको नाम अनुमोदन गर्ने काम गरेको छ र सिंगो पार्टी पङ्क्तिलाई निर्वाचनमा एमालेको विजयीका निम्ति सम्पूर्ण सामर्थ्यका साथ परिचालन हुन आह्वान पनि गरेको छ,’ उपमहासचिव ज्ञवालीले भने। उपनिर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने र सत्ता सहयात्री दलसँग पनि स्वस्थ प्रतिस्पर्धा हुने उपमहासचिव ज्ञवालीले स्पष्ट पारे। निर्वाचनमा स्थानीय आवश्यकताको आधारमा राजनीतिक दलसँग सहकार्य हुनसक्ने उनले बताए।

बैठकले किर्तिपुर नगरपालिकाको प्रमुखका डा सुरेन्द्र मानन्धर, मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुलसीराम विश्वास, दोलखाका गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा उमा लुङगेली शेर्पा, रुकुम पूर्व पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष केशकुमारी तुलाचन उम्मेदवार बनाउने निर्णय गरेको छ।

यस्तै जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सुनिता बोहरा, गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष जान शाही, बाजुराको स्वामीकात्तिक खापर गाउँपालिकाका उपाध्यक्ष सुलोचनाकुमारी भण्डारी बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको उनले बताए। निर्णय हुन बाँकी उम्मेदवारको प्रदेश कमिटीलाई अख्तियारी दिने निर्णयसमेत गरिएको उनले बताए।

मङ्सिर ७ गते पार्टीका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीले आयोजना गर्ने जागरणसभालाई सफल बनाउन जनवर्गीय कमिटी र सम्पर्क मञ्चलाई सहयोग गर्नका लागि आह्वान गर्ने निर्णय गरेको उनले बताए। पार्टीले पार्टीका केन्द्रीय सल्लाहकार देवी पोखरेलको निधनप्रति दुःख व्यक्त गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *